नेपालमा पछिल्लो समय मुटु रोग (कार्डियोभास्कुलर डिजिज) का बिरामीहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। जीवनशैलीमा आएको परिवर्तन, अस्वस्थ खानपान, बढ्दो मानसिक तनाव तथा शारीरिक गतिविधिको कमीका कारण हृदय रोग देशको प्रमुख स्वास्थ्य समस्याको रूपमा देखा पर्न थालेको छ।
मुटु रोगको समयमै पहिचान र उपचारका लागि ईसीजी, इकोकार्डियोग्राफी, ट्रेडमिल टेस्ट, हल्टर मनिटरिङ तथा क्याथ ल्याब जस्ता अत्यावश्यक सेवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। तर, यस्ता सेवाहरू सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति- विशेषगरी कार्डियाक टेक्नोलोजिस्टको अभावले सरकारी स्वास्थ्य सेवामा गम्भीर चुनौती सिर्जना गरेको छ।
हाल देशभरका धेरै सरकारी अस्पतालहरूमा उपकरण तथा सेवा उपलब्ध भए तापनि दक्ष प्राविधिक जनशक्तिको अभावका कारण ती सेवाहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्। बिरामीहरूले जाँचका लागि लामो समय कुर्नुपर्ने, रिपोर्ट ढिलो आउने तथा सेवा व्यवस्थापनमा समस्या हुने अवस्था देखिएको छ।
सरकारी अस्पतालहरूमा कार्यरत मुटु रोग विशेषज्ञहरूलाई प्रभावकारी रूपमा सहयोग पुर्याउन कार्डियाक टेक्नोलोजिस्टको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। ईसीजी, इको, टिएमटी, हल्टर तथा क्याथल्याब प्रक्रियाहरू सञ्चालनमा यिनीहरूले प्रत्यक्ष सहयोग गर्ने भएकाले निदान तथा उपचार प्रक्रियालाई छिटो, व्यवस्थित र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुग्दछ। तर, यस्ता जनशक्तिको अभावले चिकित्सकहरूमा कार्यभार बढ्नुका साथै बिरामी सेवामा प्रत्यक्ष असर परेको देखिन्छ।
स्वास्थ्य क्षेत्रका विज्ञहरूका अनुसार, “उपकरण मात्र पर्याप्त हुँदैन, त्यसलाई सञ्चालन गर्ने दक्ष जनशक्ति अनिवार्य हुन्छ।” तर, नेपाल सरकारको स्वास्थ्य संरचनामा Cardiac Technologist पद अझै औपचारिक रूपमा स्थापित भइसकेको छैन।
यसका कारण कार्डियाक टेक्नोलोजी अध्ययन गरेका धेरै युवाहरूले देशभित्र पर्याप्त रोजगारीको अवसर नपाएर विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ। साथै, देशभित्र उपलब्ध जनशक्ति पनि पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
यस सन्दर्भमा, स्वास्थ्यकर्मी तथा सम्बन्धित विद्यार्थीहरूले देशभरका सरकारी अस्पतालहरूमा कार्डियाक टेक्नोलोजिस्ट पद सिर्जना तथा दरबन्दी थप गर्न सरकारसँग माग गरेका छन्। साथै, आवश्यक नीति निर्माण तथा जनशक्ति व्यवस्थापनमा यस विषयलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
विज्ञहरूका अनुसार, यदि समयमै आवश्यक दरबन्दी सिर्जना गरी दक्ष जनशक्ति व्यवस्थापन गर्न सकिएमा मुटु रोगी बिरामीहरूले गुणस्तरीय, छिटो र भरपर्दो सेवा प्राप्त गर्न सक्नेछन्। यसले समग्र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
–(चन्द्र बहादुर धराला कार्डियाक टेक्नोलोजिस्ट हुन्। उनी गौतम बुद्ध सामुदायिक अस्पताल, बुटवल–१० (रामनगर), रुपन्देहीमा कार्यरत छन्।)