आधुनिक चिकित्सा विज्ञानले मानव जीवनलाई लम्ब्याउने क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। मुटु प्रत्यारोपणदेखि क्यान्सर उपचारसम्म, विज्ञानले असम्भव लाग्ने धेरै चुनौतीहरूलाई पार गरेको छ। तर, जीवनको अन्तिम घडीमा पुगेका मानिसहरूलाई कसरी सम्मानपूर्वक बाँच्न दिने भन्ने सवालमा सबै देशहरूले समान रूपमा सफलता हासिल गर्न सकेका छैनन्। यसै सन्दर्भमा, बेलायतको 'हस्पिस सेवा' विश्वका लागि अनुकरणीय उदाहरण बनेको छ। यहाँ स्वास्थ्य सेवा केवल रोग निको पार्ने माध्यम मात्र नभएर जीवनको अन्तिम क्षणलाई पनि गरिमा, शान्ति र करुणाका साथ स्वीकार गर्ने मानवीय दर्शनका रूपमा विकास भएको छ।
हस्पिस सेवा मूलतः 'प्यालिएटिभ केयर' अर्थात् सान्त्वनापूर्ण हेरचाहको एउटा रूप हो। यसको मुख्य उद्देश्य रोग निको पार्नु नभई निको नहुने वा गम्भीर दीर्घरोगबाट पीडित बिरामीको पीडा कम गर्नु, मानसिक सान्त्वना दिनु, परिवारलाई भावनात्मक सहयोग प्रदान गर्नु र बिरामीलाई सम्मानजनक अन्तिम यात्रा सुनिश्चित गर्नु हो। धेरै स्वास्थ्य प्रणालीमा मृत्युलाई असफलताको रूपमा लिइन्छ, तर बेलायतको हस्पिस दर्शनले मृत्युलाई जीवनकै एक स्वाभाविक अध्यायको रूपमा स्वीकार गर्दछ। यही दृष्टिकोणले यसलाई विश्वमै अद्वितीय सेवा बनाएको छ।
आधुनिक हस्पिस आन्दोलनको सुरुवात बेलायतमा सन् १९६७ मा डेम सिसिली सान्डर्सले दक्षिण लन्डनको सिडेनह्याममा 'सेन्ट क्रिस्टोफर्स हस्पिस'को स्थापना गरेसँगै भएको हो। उनी नर्स, सामाजिक कार्यकर्ता र चिकित्सकका रूपमा प्रशिक्षित थिइन्। अन्तिम अवस्थाका बिरामीहरूसँग काम गर्दा उनले मानिसको पीडा केवल शारीरिक दुखाइ मात्र नभएको महसुस गरिन्। त्यसैले उनले "टोटल पेन" अर्थात् "समग्र पीडा" को अवधारणालाई अघि सारिन्। उनका अनुसार बिरामीले शारीरिक पीडासँगै मानसिक तनाव, सामाजिक अलगाव, आर्थिक चिन्ता र आध्यात्मिक बेचैनी पनि अनुभव गरिरहेका हुन्छन्। यसै अवधारणाले आधुनिक प्यालिएटिभ केयरको आधारशिला खडा गर्यो।
डा. सान्डर्सले पीडा व्यवस्थापनमा पनि नयाँ वैज्ञानिक दृष्टिकोण ल्याइन्। उनले मोर्फिनजस्ता औषधिहरू आवश्यक मात्रामा नियमित रूपमा प्रयोग गरेर बिरामीलाई अन्तिम समयसम्म पीडामुक्त राख्न सकिने कुरा प्रमाणित गरिन्। यसअघि धेरै बिरामीहरू अन्तिम घडीसम्म असह्य पीडामा बाँच्न बाध्य थिए। उनी बारम्बार भन्ने गर्थिन्, "तपाईं, तपाईं भएकै कारण महत्त्वपूर्ण हुनुहुन्छ, र तपाईं आफ्नो जीवनको अन्तिम क्षणसम्म महत्त्वपूर्ण रहनुहुन्छ।" यही भनाइले बेलायतको हस्पिस दर्शनलाई आजसम्म परिभाषित गरिरहेको छ।
सुरुवाती दिनहरूमा बेलायतमा मृत्युको मुखमा पुगेका बिरामीहरूका लागि कुनै व्यवस्थित सेवा थिएन। केही धार्मिक संस्था र परोपकारी निकायहरूले वृद्ध तथा असहाय मानिसहरूलाई आश्रय दिन्थे, तर चिकित्सा प्रणाली स्वयं अन्तिम अवस्थाका बिरामीहरूप्रति संवेदनशील थिएन। अस्पतालहरू उपचारमा केन्द्रित थिए, जहाँ निको नहुने बिरामीहरू प्रायः बेवास्तामा पर्थे। डा. सान्डर्सले यही रिक्ततालाई पूरा गरेर मृत्युको नजिक पुगेका मानिसहरूलाई पनि चिकित्सा प्रणालीभित्र सम्मानजनक स्थान दिलाइन्।
सन् १९७० को दशकपछि हस्पिस आन्दोलन बेलायतभर फैलिन थाल्यो। सुरुमा यो सेवा क्यान्सरका बिरामीहरूमा मात्र सीमित थियो, तर पछि हृदयरोग, दीर्घ फोक्सो रोग, मिर्गौला असफलता, मोटर न्युरोन र डिमेन्सियाजस्ता अवस्थाहरूमा पनि विस्तार भयो। सन् १९८० र १९९० को दशकमा समुदायमा आधारित हस्पिस सेवा सुरु भयो, जसले बिरामीहरूलाई अस्पतालमा नभई आफ्नै घरमा अन्तिम समय बिताउने अवसर प्रदान गर्यो। अहिले बेलायतमा घरमै पुगेर सेवा दिने प्रणाली सबैभन्दा लोकप्रिय मोडेलमध्ये एक बनेको छ।
आज बेलायतभर २२० भन्दा बढी वयस्क हस्पिस, ५० को हाराहारीमा बाल हस्पिस सेवा र सयौँ सामुदायिक प्यालिएटिभ टोलीहरू सञ्चालनमा छन्। 'हस्पिस यूके'का अनुसार हरेक वर्ष तीन लाखभन्दा बढी मानिसले प्रत्यक्ष हस्पिस सेवा प्राप्त गर्छन्। बेलायतमा वार्षिक करिब ६ लाख मानिसको मृत्यु हुने अनुमान छ र तीमध्ये धेरैलाई अन्तिम समयमा प्यालिएटिभ सेवाको आवश्यकता पर्दछ।
हस्पिसको आर्थिक संरचना पनि विशेष छ। यसको सञ्चालन खर्चको करिब २५ देखि ३० प्रतिशत मात्र सरकारी स्वास्थ्य सेवा (एनएचएस) बाट आउँछ। बाँकी रकम स्थानीय समुदाय, च्यारिटी कार्यक्रम, दान, वसीयत र परोपकारी पसल मार्फत जुटाइन्छ। यसरी हस्पिस केवल सरकारी स्वास्थ्य सेवा मात्र नभएर समाजकै साझा जिम्मेवारी बनेको छ। देशभर एक लाखभन्दा बढी स्वयंसेवकहरू हस्पिससँग आबद्ध छन्, जसले बिरामीसँग समय बिताउने, परिवारलाई साथ दिने, कोष सङ्कलन गर्ने र प्रशासनिक सहयोग गर्ने काम गर्छन्।
बेलायतको हस्पिस प्रणालीलाई अझ महत्त्वपूर्ण बनाउने कुरा यसको मानवकेन्द्रित दृष्टिकोण हो। यहाँ बिरामीलाई केवल रोगीको रूपमा नभई एक पूर्ण व्यक्तिको रूपमा हेरिन्छ। उनीहरूको व्यक्तिगत इच्छा, धर्म, सम्बन्ध, संस्कृति र अन्तिम चाहनालाई महत्त्व दिइन्छ। यहाँ मृत्युलाई चिकित्सकीय पराजयको रूपमा नलिई जीवनको एउटा स्वाभाविक रूपान्तरणको रूपमा लिइन्छ। यही कारणले बेलायतको हस्पिस सेवा केवल उपचार प्रणाली मात्र नभएर करुणा र सभ्यताको मापन बनेको छ।
अन्तर्राष्ट्रिय स्तरमा हेर्दा, बेलायतको यो मोडेलले धेरै देशलाई प्रभावित गरेको छ। अमेरिकामा सन् १९७४ मा पहिलो आधुनिक हस्पिसको स्थापना हुँदा डा. सान्डर्सकै मोडेललाई आधार मानिएको थियो। आज अमेरिकामा ५,००० भन्दा बढी हस्पिसहरू सञ्चालनमा छन्, तर ती प्रायः निजी बीमा र स्वास्थ्य वित्त प्रणालीमा निर्भर छन्। बेलायतमा जस्तो सामुदायिक संलग्नता र राष्ट्रिय स्वास्थ्य सेवाको संयोजन त्यहाँ कमै पाइन्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरि प्रत्येक वर्ष लगभग ५ करोड ६० लाख मानिसहरूलाई सान्त्वनापूर्ण हेरचाह अर्थात् प्यालिएटिभ केयर आवश्यक पर्छ, तर तीमध्ये केवल १४ प्रतिशतले मात्र पर्याप्त सेवा पाउँछन्। विशेष गरी अफ्रिका, दक्षिण एसिया र कम आय भएका देशहरूमा अन्तिम अवस्थाका बिरामीहरू अझै पनि पीडामा जीवन बिताउन बाध्य छन्। यही कारणले गर्दा बेलायतको हस्पिस प्रणालीलाई विश्व स्वास्थ्य नीतिमा 'उत्कृष्ट अभ्यास' को रूपमा अध्ययन गरिन्छ।
युरोपका अन्य देशहरूले पनि बेलायतबाट धेरै कुरा सिकेका छन्। आयरल्यान्ड, जर्मनी, स्विडेन र नर्वेले आफ्नो सान्त्वनापूर्ण हेरचाह नीति विकास गर्दा बेलायती मोडेललाई नै आधार मानेका थिए। भारतको केरला राज्यमा समुदायमा आधारित सेवा एउटा सफल उदाहरण बनेको छ, तर नेपालजस्ता देशहरूमा यस्तो सेवा अझै पनि सीमित छ। केही क्यान्सर अस्पताल र निजी संस्थाहरूले प्रारम्भिक प्रयास गरे पनि राष्ट्रिय स्तरको व्यवस्थित हस्पिस सेवा विकास हुन बाँकी नै छ।
यद्यपि, बेलायतमा पनि चुनौतीहरू नभएका होइनन्। वृद्ध जनसङ्ख्या तीव्र रूपमा बढ्दै जाँदा सेवाको माग पनि बढिरहेको छ। विशेषज्ञ नर्स र चिकित्सकहरूको अभाव देखिन थालेको छ। ग्रामीण क्षेत्रमा सेवाको पहुँच असमान छ। सरकारी सहयोग सीमित हुँदा परोपकारी संस्थाहरूमा निर्भरता बढेको छ। भविष्यमा आर्थिक दबाबले यो सेवाको दिगोपनमा असर पार्न सक्ने चिन्ता पनि छ।
बेलायतको हस्पिस प्रणालीले विश्वलाई एउटा गहिरो सन्देश दिन्छ- स्वास्थ्य सेवाको सफलता केवल जीवन लम्ब्याउनुमा मात्र मापन हुँदैन। कहिलेकाहीँ सबैभन्दा ठूलो सेवा भनेको मानिसलाई अन्तिम क्षणसम्म 'मानिस' कै रूपमा सम्मान गर्नु हो। प्रविधि र उपचारको युगमा पनि करुणा, सहानुभूति र मर्यादा नै स्वास्थ्य सेवाको सबैभन्दा ठूलो उपलब्धि हुन सक्छ भन्ने कुरा बेलायतको हस्पिसले प्रमाणित गरिरहेको छ।
यसबारे एउटा सुखद प्रसङ्ग हामीसँग पनि जोडिएको छ। सन् १९९८ मा ससेक्सको एउटा सानो गाउँ, फिन्डन भ्यालीमा 'कुमारी रेस्टुरेन्ट' खोलेपछि नजिकैको चर्चका मानिसहरू हाम्रोमा आउन थाले। उनीहरू खानपिनसहित विभिन्न विषयमा भलाकुसारी गर्दथे। एक दिन हामीले थाहा पायौं कि उनीहरू वर्थिङको हस्पिसका लागि सहयोग जुटाउँदै आएको टोली रहेछन्। हामीलाई पनि केही सहयोग गर्ने इच्छा जाग्यो। हामीले हरेक आइतबार 'बुफे' राख्थ्यौं र उनीहरू प्रत्येक महिनाको पहिलो सोमबार बैठक गर्दथे।
मैले उनीहरूलाई प्रस्ताव राखेँ, 'अबदेखि तपाईंहरूले आफ्नो बैठक यहीँ गर्नुस्। जति जना आउनुहुन्छ, प्रतिव्यक्ति एक पाउन्ड हस्पिसका लागि सहयोग गरौँला। तपाईंहरूका लागि हामी सोमबार पनि बुफे व्यवस्था गर्छौं।' त्यतिबेला हाम्रो बुफेको मूल्य लगभग ७ पाउन्ड थियो। उनीहरू यो कुरा सुनेर धेरै खुसी भए। यो सिलसिला लामो समयसम्म चल्यो। केही वर्षपछि यो कार्यक्रम समापन गर्ने बेलामा उनीहरूले हामीलाई एउटा पत्र पठाए। जसमा लेखिएको थियो- 'तपाईंहरूको सहयोगले करिब आठ हजार पाउन्ड जम्मा भएको छ, यसका लागि विशेष धन्यवाद!' हामीलाई त त्यति धेरै रकम जम्मा भयो होला भन्ने लागेकै थिएन। समाजका लागि थाहै नपाई त्यति सहयोग गर्न पाएकोमा हामी अत्यन्तै खुसी र गौरवान्वित भयौं।
(लेखक श्रेष्ठ तीन दशकदेखि वेलायत बसोवास गर्दै आएका छन्। )