करुणा भट्टराई
विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमणबाट हाम्रो देश पनि आक्रान्त छ। सामान्य स्वास्थ्य सुरक्षाका उपायहरु मात्र अपनाउँदा पनि संक्रमण रोकथाम गर्न सकिने रोगले अहिले विश्वलाई नै चुनौती दिएको छ। यसको रोकथाम तथा नियन्त्रणका लागि धेरै स्रोत र साधन खर्च गर्नुपरेको छ।
कोरोना महामारीका कारण स्वास्थ्य बाहेकका शिक्षा, कृषि लगायत अन्य विकासका कार्यक्रमले गति लिन सकिरहेका छैनन्। सीमित स्रोतसाधन भएको क्षेत्रमा यसरी विभिन्न किसिमका महामारीहरु आउन थाले भने अलिअलि भएका स्रोतसाधन पनि त्यसकै प्रतिकार्यमा खर्च गर्नुपर्ने अवस्था आउन सक्छ र त्यसले नराम्रो परिस्थितिको सिर्जना गर्छ। त्यसैले यस्तो अवस्था ननिम्तियोस् भन्नका लागि जनस्वास्थ्यको महत्व बुझन जरुरी छ।
जनस्वास्थ्य भन्ने शब्दले सम्पूर्ण जनताको स्वास्थ्य भन्ने बुझाउँछ। यस क्षेत्रमा कार्यरत सम्पूर्ण व्यक्ति÷जनस्वास्थ्यकर्मीले यसको उद्देश्य प्राप्तिका लागि ठूलो जिम्मेवारी बहन गरेका हुन्छन्। जनस्वास्थ्यका विभिन्न पक्षहरु छन्, जसअन्तर्गत समुदायका मानिसको जीवनशैलीमा केन्द्रित रहेर विभिन्न प्रतिकारात्मक, प्रर्बधानात्मक तथा उपचारात्मक कार्यक्रमहरु गर्ने गरिन्छ।
खोप कार्यक्रम, प्रजनन स्वास्थ्य, मातृ स्वास्थ्य, पोषण लागायतका कार्यक्रमहरु नेपाल सरकारको उच्च प्राथमिकतामा रहेका र जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेका कार्यक्रम हुन्। बच्चा जन्मने वित्तिकै अत्यावश्यक नवजात शिशु स्याहार दिनेदेखि लिएर बालबालिकाको स्वास्थ्य सुधारका क्रियाकलापहरु, किशोरकिशोरीका लागि यौन तथा प्रजनन स्वास्थ्य सेवा, विवाहित दम्पतीका लागि स्वास्थ्य समस्याको उपचार र व्यवस्थापन आदि सेवाहरुदेखि जेष्ठ नागरिकसम्म सबैलाई समेटिएको हुन्छ, जनस्वास्थ्य सेवामा।
हामीलाई सामान्यभन्दा सामान्य लाग्ने कुराहरुले नै नेपालको स्वास्थ्य सुचकमा उल्लेखनीय परिवर्तन ल्याइरहेका हुन्छन्। यदि जनसमुदायमा स्वास्थ्य चेतनाको दर उत्तम हुन्थ्यो भने हामीलाई सामान्य लाग्ने झाडापखाला, रुघाखोकी, कुपोषण जस्ता समान्य उपचार तथा सावधानीबाट बच्न सकिने रोगहरुका कारणले धेरै मानिसले अल्पायुमै ज्यान गुमाउनुपर्ने थिएन।
त्यसैले, धेरैभन्दा धेरै जनस्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य चेतनाको दर बढाउन जरुरी छ। मातृ तथा बाल स्वास्थ्य सम्बन्ीध चेतनमा वृद्धि भई यस क्षेत्रमा आएको परिवर्तनले गर्दा मातृ तथा बाल मृत्युदर घट्दै आएका तथ्यांकहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ।
कोभिड–१९ संक्रमणका सन्दर्भमा भन्नुपर्दा यसबाट संक्रमित व्यक्तिहरु कोभिड–१९ को संक्रमणको जटिलताबाट ग्रसित हुनुभन्दा पनि अन्य विभिन्न सामाजिक, आर्थिक, मानसिक तथा अरु स्वास्थ्य समस्याको सिकार हुनुपरेको छ।
यस्तो अवस्थामा प्रशस्त मात्रामा जनस्वास्थ्यकर्मीहरु परिचालन गरेर समुदायमा स्वास्थ्यको चेतना अभिवृद्धि गर्न सकियो भने धेरैजसो सामाजिक, मानसिक तथा अन्य स्वास्थ्य समस्याहरुमा (सामान्य लाग्ने झाडापखाला, रुघाखोकी, कुपोषण जस्ता स्वास्थ्य समस्याहरु) कमी आउने थियो।
सामान्य सुरक्षा तथा सावधानीका उपायहरु अपनाएमा संक्रमणबाट बच्न सकिने रोगले यस्तो महामारीको रुप लिएको देख्दा लाग्छ, कोभिड–१९ पनि मानिसहरुले बेवास्ता गरेका कुराहरुको महत्व बुझाउन र सबक सिकाउनका लागि नै आएको हो।
कोभिड–१९ संक्रमणबाट बच्नका लागि अपनाइएका सुरक्षा तथा सावधानीका उपायहरु जस्तै साबुनपानीले हात धुने, घरमा पकाएको स्वच्छ, सफा र सुरक्षित खानेकुरा मात्र खाने, मास्क लगाएर हिँड्ने, भीडभाडमा नजाने जस्ता व्यवहारहरुले मात्र गर्दा पनि कोभिड–१९ संक्रमणबाट बच्ने मात्र नभई विभिन्न वातावरणीय कारणबाट हुने मुत्युदरमा समेत कमी आएको वातावरणीय स्वास्थ्य सम्बन्धी एक अध्ययनले देखाएको छ।
कोभिड–१९ को महामारीको यो अवस्थामा जसरी महामारी रोकथाम तथा स्वास्थ्य चेतना वृद्धिका लागि विभिन्न स्तरमा जनस्वास्थ्यकर्मीको आवश्यकता महसुस गरिएको छ। यो आवश्यकतालाई मनन गर्दे स्थानीय स्तरमा जनस्वास्थ्यकर्मीको मागलाई पूर्ति गरी समुदाय स्तरमा जनस्वास्थ्य सेवाको पहुँच पु¥याउन र बढाउन सकेमा पक्कै पनि स्वस्थ समाज निर्माण गर्न ठूलो सहयोग पुग्छ।
हाम्रो जस्तो सीमित स्रोत र साधन भएको देशमा थोरै लागानीबाट धेरै प्रतिफल आउने क्रियाकलापहरुमा विशेष ध्यान दिन जरुरी छ। यसको लागि जनस्वास्थ्य विषय एकदमै महत्वपूर्ण छ।
(भट्टराई सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशकी जनस्वास्थ्य अधिकृत हुन्।)