काठमाडौं- नेपालमा देखिएको कोरोना भाइरसको आनुवंशिक बनावट बंगलादेश, भारत, साउदी अरेब, युरोप र अमेरिकामा पाइएको भाइरसको बनावटसँग मिल्दोजुल्दो भएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहिलो पटक गरेको कोभिड—१९ भाइरसको अनुवांशिक अध्ययनले यस्तो तथ्य उजागर गरेको हो।
नेपालमा कोरोना भाइरस संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा परिषद्ले नेपालमा फैलिएको कोरोनाको आनुवंशिक अध्ययन गरेको थियो। अध्ययनका लागि कोभिड-१९ परीक्षण गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, नेपाल-कोरिया मैत्री अस्पताल ठिमी, काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालबाट भाइरसको नमुना लिइएको थियो। गत असार १२ गतेदेखि साउन २६ गतेसम्म विभिन्न १० वटा भौगोलिक क्षेत्र समेटिने गरी १५ वटा भाइरसको नमुना लिएर अध्ययन गरिएको परिषदको भनाइ छ।
परिषदले अध्ययनका क्रममा नेपालमा फैलिएको भाइरसको बनावट विश्वका विभिन्न देशमा फैलिएका भाइरसको बनावट मिले पनि संरचनात्मक तथा गैरसंरचनात्मक प्रोटिनको बनावटमा भने केही आनुवंशिक भिन्नता पाइएको बताएको छ। उक्त विषयमा थप अनुसन्धान आवश्यक भएको परिषद्को भनाइ छ।
कोरोना भाइरसको आनुवंशिक भिन्नता अध्ययन रिपोर्टले मासिक रुपमा पिसिआर किट प्रमाणीकरण गर्नसमेत सुझाव दिइएको छ। यसका साथै हाल विकास भइरहेका भ्याक्सिन तथा एन्टिभाइरल औषधिको प्रभावकारिता अध्ययन गर्न पनि भाइरसको आनुवंशिक अध्ययन अझ आवश्यक भएको अध्ययनको निष्कर्ष छ।
यस्तो छ अध्ययनको सारांश
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट नेपालमै पहिलो पटक SARS-CoV-2( कोभिड -१९ )भाईरसको आनुवांशिक अध्ययन सम्पन्न भएको छ। यस अनुसन्धानले नेपालमा पनि आनुवांशिक अध्ययन तथा अनुसन्धान गर्नको लागि आवश्यक संरचना तथा योग्य मानव स्रोत साधन प्रयाप्त रहेको प्रमाणित गर्दछ साथै आगामी दिनहरुमा पनि यस परिषद यस्तो किसिमको अनुसन्धान गर्न र गराउन ईच्छुक रहेको व्यहोरा जानकारी गराउँदै SARS-CoV-2भाईरसको आनुवांशिक अध्ययनबाट प्राप्त नतिजाहरुलाई निम्न लिखित बुँदाहरुमा संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ।
पृष्ठभूमी
लक्षण सहितका कोभिड १९ को संक्रमण नेपालमा बढ्दो क्रममा छ। नेपालमा कोविड १९ को जोखिम ( संक्रमण दर तथा लक्षण सहितका बिरामी ) बढ्नुको मुख्य कारण मध्ये यस भाईरसको आनुवांशिक परिवर्तन पनि एक मानिन्छ तसर्थ नेपाली समुदायमा कोविड १९ बाट संक्रमित विरामीहरुबाट संकलन गरिएको नमुनामा SARS-CoV-2भाईरसको आनुवांशिक बिबिधता पत्ता लगाउन यस अनुसन्धानको मुख्य उद्देश्य थियो।
विधी
यस अध्ययनको लागि कोभिड १९ परिक्षण गर्ने ३ वटा प्रयोगशाला ( राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला, टेकु, नेपाल कोरिया मैत्री अस्पताल ठिमी, काठमाण्डौ बिश्व बिध्यालय धुलिखेलबाट असार १२ गते देखि साउन २६ गते सम्म १० वटा भिन्न भिन्न भौगोलिक जिल्ला समेटिने गरी १५ वटा SARS-CoV- 2 भाईरसको नमुना संकलन गरी illumina (MI- Seq) उपकरण प्रयोग गरी अध्ययन गरियो। त्यसबाट आएको नतिजालाई Bio-informatics tools ) र अन्य SARS-CoV-2सम्बन्धी अध्ययन गर्ने online platform प्रयोग गरी प्राप्त नतिजालाई NCBI / GISAID मा उपलब्ध भएको SARS -CoV -2 भाईरसको आनुवांशिक बनावट संग तुलना गरी Phylogenetic बिश्लेषण गरी आनुवांशिक एकरुपता तथा आनुवांशिक परिवर्तन सम्बन्धी अध्ययन गरियो।
नतिजा
१- नेपालमा फैलिएको SARS-COV 2 भाईरसको आनुवांशिक बनावट मुख्यत: भारत बंगलादेश, साउदीअरेविया, युरोप र अमेरिकामा पाईएका भाईरस संग मिल्दोजुल्दो पाईयो।
२- SARS-CoV-2भाईरसको आनुवंशिक अध्ययन गर्ने online software ( GISAID, Pangolin, Next Strain ) को अनुसार GH र GR clade र Nextstrainनामाकरण अनुसार 20 A र 20 B clade समुहमा पर्दछ। यी समुहमा पर्ने SARS - CoV 2 भाईरसहरु मध्ये गत फागुन देखी संसारभर फैलिएको देखियो।
३- चिनबाट उत्पत्ति भएको SARS-CoV-2भाईरसको आनुवंशिक बनाबटलाई आधार मानेर नेपालमा पाईएको SARS-CoV-2भाईरसको आनुवंशिक बनावट तुलना गर्दा, संरचनात्मक र गैर-संरचनात्मक दुबै प्रकारका प्रोटीनहरुमा परिवर्तन पाईयो। जस मध्ये संरचनात्मक प्रोटीनहरुमा Spike र Nucleocapsidप्रोटीनमा परिवर्तन भएको देखियो जसको मुख्य भूमिका भाईरसलाई शरीरको कोष भित्र प्रबेश गराउनु हो। यसै गरी गैर-संरचनात्मक प्रोटिनहरु मध्ये nsp2, nsp3 र nsp12 ( RNA dependent RNA Polymerase-RDRP ) Gene हरुमा परिवर्तन पाईयो। यी प्रोटीनहरुको मुख्य भूमिका भाईरसको बृद्वी विकासमा सहयोग पुर्याउनु हो।
निष्कर्ष
नेपालमा फैलिएको SARS-CoV-2भाईरस मुख्यत भारत, बंगलादेश, साउदीअरेविया, युरोप तथा अमेकिकामा पाईएका SARS-CoV-2भाईरसको आनुवंशिक संरचना संग मिल्दोजुल्दो पाईयो, यद्यपि संरचनात्मक तथा गैर-संरचनात्मक प्रोटीनहरुको बनावटमा केही आनुवंशिक भिन्नताहरु पाईयो जसको थप बृस्तित अध्ययन गरी त्यसको औचित्य पुष्ट्याईं गर्न जरुरी छ।
सुझावहरु
१- आनुवंशिक भिन्नताहरु अध्ययन गर्दा नियमित अन्तरालमा ( मासिक रुपमा ) SARS-CoV-2भाईरसको आनुवंशिक बनावट अध्ययन गरी कोभिड १९ निदानको लागि प्रयोग भईरहेको PCR Kit ( Primer, Prove ) हरुको आबश्यक प्रमाणीकरण गर्न जरुरी देखिन्छ।
२- आनुवंशिक भिन्नताको आधारमा हाल विकाश भईरहेका भ्याक्सिन तथा एन्टी भाईरल औषधीहरुको प्रभावकारिता नेपालको सन्दर्भमा अति आवश्यक रहेको यस अध्ययनले देखाउँछ।