बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा फागुन ७ गते शुक्रबार पहिलो पटक अप्रेसन गरी आकस्मिक प्रसूति गराइयो। तीन दिनदेखि व्यथा लागेर प्रसूति हुन नसकेकी मुगुको खत्याड गाउँपालिका-१० की निर्मला चदाराको बाजुराको कोल्टीमै अप्रेसन गरेर बच्चा निकालिएको हो।
यसअघि यस्तै जटिल प्रकारको प्रसूति गराउन नेपालगञ्ज, सुर्खेत लगायत सुविधासम्पन्न स्थानमा रिफर गर्नुपर्ने बाध्यताका बीच गत शुक्रबार पहिलो पटक बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका डाक्टरहरुको टोलीले अप्रेसन गरेर प्रसूति गराइएसँगै सबै स्थानीयमा खुसी छाएको छ। आत्मविश्वास र चैतन्यको भाव समेत सम्प्रेषित भएको छ।
२९ वर्षीया निर्मलाले चौथो सन्तानको जन्म दिँदै थिइन्। व्यथा लागेको पहिलो दिन घरमै सुडेनीको सहायताले प्रसूति गराएका उनीहरुले दोस्रो दिन बोकेर रातापानी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए। त्यहाँ बच्चा तेस्रो (ट्रान्सभर्स पोजिसन) छ, अब नेपालगञ्ज नै लैजानुपर्छ भनिसकेपछि प्रजातन्त्रको दिन आफन्तले बोकेर कोल्टी एयरपोर्ट पुर्याए। पछि हवाई जहाजको टिकटमा रिफर चाहिएपछि मात्र उनीहरु प्राथमिक स्वास्थ्य केन्द्रमा आइपुगे।
त्यहाँ आइपुग्दा विशेषज्ञ डाक्टरहरु केही दिनका लागि उपलब्ध छन् भन्ने जानकारी भयो। त्यसपछि केही नवीन एवं पुनित कार्यको सुरुवात गर्ने हेतुका साथ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले उक्त महिलाका श्रीमान् एवं आफन्तहरुलाई गर्भवती महिलाको अवस्था र हुनसक्ने जटिलताको बारेमा जानकारी दियो। रगत धेरै बगेर हुनसक्ने इमर्जेन्सीमा तत्काल उद्धार गर्नुपर्ने हुनाले स्थानीय जनप्रतिनिधि र प्रमुख जिल्ला अधिकारीलाई पनि पूर्वसूचना स्वरुप खबर गरियो। किनकी कोल्टीमा ब्लड बैंकको अभाव रहँदै आएको छ।
बिरामीलाई जति ढिलो भयो त्यति जोखिमको अवस्था रहने हुनाले नेपाल सरकारले हेलिकोप्टरमार्फत उद्धार गर्ने नीति ल्याएको छ। तर आफैं हवाई जहाजबाट जान परेको अवस्थामा ज्यानको जोखिम र पैसाको पनि उत्तिकै खर्च हुने हुन्छ। गरिब परिवार झन्झन् गरिब भएर स्वास्थ्यको सुलभ र भरपर्दो पहुँचमा पुग्नै सक्दैनन्। स्थानीय स्रोतबाट नै स्थानीय लेभलमा उपचार हुन सके त्यो नै सबैलाई हितकारी हुन्छ।
बच्चा तेस्रो र दिसा खाएको हुँदा नेपालगञ्ज लैजाँदासम्म पनि आमा र बच्चा दुवैमा समस्या हुन सक्ने थियो तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नै बोकेर ल्याइएका सामग्रीको प्रयोग गरेर अप्रेसन सफल बनाइयो।
बाल रोग विशेषज्ञ डा नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा अर्जुन तिवारी, स्त्री-प्रसूति रोगमा विशेष डा दिल शाही रोका, स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दाकुमारी दानी, अनमी दाना जोशी र अनमी मनिषा रसाइलीको संयुक्त सहभागितामा यो कार्य सफल भएको थियो। म लगायत प्राथमिक स्वास्थ्य केन्द्रका सम्पूर्ण परिवारको यस कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष दुवै सहयोग र साथ रह्यो।
प्रजातन्त्र दिवसको दिन यो ऐतिहासिक कार्य सुरु भएको छ। यसले गरिब जनताको दुःखहरुलाई सुखमा, हानिहरुलाई प्राप्तिमा, हारलाई विजयमा र आँसुहरुलाई हाँसोमा परिवर्तन गर्न जरुर सहयोग पुर्याउने नै छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच भएको सम्झौता अनुसार नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने कुराले पनि घामछायाँको कष्टकर जिन्दगी बाँचिरहेका गरिब जनताको जीवनले चोला फेर्ने कुरामा आशा गर्न सकिन्छ तर यस सेवालाई थप विस्तार गर्न र निरन्तरता दिन थप चुनौती भने यथावत् छ।
संविधानका धारामा व्याख्या भएजस्तो स्वास्थ्य सेवा सुलभ र निःशुल्क पाउने प्रावधान गरिब जनता र विकट गाउँहरुमा अझै लागू हुन सकेको छैन। काठमाडौंमा चोकैपिच्छे अस्पताल हुन हुने तर विकट जिल्लाहरुमा भएका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर, औषधि र उपकरणको अभाव किन? भन्ने प्रश्न गहन रुपमा उब्जिँदै आएको छ।
सडक सहज नहुनाले कोल्टी पुग्ने सजिलो माध्यम हवाइजहाज नै हो। कोल्टी बजार भूगोलको हिसाबले पनि कोल्टो नै छ। वरिपरि भीमकाय डाँडा र मोबाइलको टावर त्यति नटिप्ने यो भूगोलमा विकासको पहुँच पनि त्यति स्थापित छैन। स्वास्थ्य उपचारका लागि मुगु, हुम्ला सहित वरिपरिका भेगबाट लामो दूरी पार गरेर बिरामीहरु आउँछन्।
बुढीनन्दा नगरपालिका अन्तर्गत रहेको यो बजार र स्वास्थ्य केन्द्रमा स्थानीय निकायले अझै ध्यान दिन सकेको छैन। बिरामीको चाप र दुर्गमको सेन्ट्रल पोइन्ट भएको हुनाले यस पिएचसीलाई १५ बेडको अस्पतालमा रुपान्तरण गर्नुपर्ने भए पनि जे छ चलिराखेकै छ भनेर माथिदेखि तलसम्मका सरोकारवाला निकायहरु चुपचाप बसिरहेका छन्। उचित कम्पाउन्ड, सरसफाइ र जनशक्तिको परिचालनमा नै चुकिरहेको यो स्वास्थ्य केन्द्रको भविष्य उज्वल त छ तर अस्तव्यस्त बनाइएको छ।
तर, जतिसुकै कालो बादल भए पनि चाँदीको घेरा हुन्छ भनेझैं प्रजातन्त्र दिवसका दिन काठमाडौं तामझाममा रमाइरहँदा यहाँ भने एउटा दु:खी, गरिब परिवारको घरमा चिकित्सकीय सेवाका कारण प्रजातन्त्रको घाम झुल्कियो। अव्यवस्थित संरचना, दक्ष पूर्णकालीन जनशक्ति र उपकरणको अभावमा समेत यो अपरेसन सम्भव हुनुलाई आश्चर्य मान्न सकिन्छ। तर आश्चर्य हुनलाई समेत दुर्गममा भगवानरुपी डाक्टरहरु पुगिराख्नु पर्ने रहेछ।
जीवन धेरै नै प्राकृतिक र कलात्मक हुने गर्छ। तर आइपर्ने विभिन्न रोगहरुले, आपतकालीन अवस्थाहरुले तोडमरोड गरेर जीवनको शारीरिक, मानसिक र आर्थिक बनोट बिगारिदिन्छ। कुनै परिवारमा एक जना सदस्यको मात्र जीवनमा रोग थुप्रियो र इमेजेन्सी आइपर्यो भने परिवार नै चिन्ताग्रस्त हुन्छ, खण्डहर हुँदै जान्छ। यसको ज्वलन्त उदाहरण हालसालै बजारमा आएको दीपेन्द्र के खनाल निर्देशित फिल्म 'आमा' हो।
जिन्दगीभर कमाएको पैसाले पनि एउटा डरलाग्दो रोग जित्न हम्मे पर्छ। स्वास्थ्यको सुलभ सेवामा निकम्मा बनेको सरकार र बिरामीको पैसा लुट्न तम्तयार बसेका मेडिकल माफियाका कारण त झन् यो विषय नभोगुन्जेल डरलाग्दो कहानी बन्ने गर्छ।
'आमा' फिल्मको जस्तै कहानी घरघरमा आइपर्यो भने? आफैंभित्र चिच्याहट गर्नु बाहेकको विकल्प के रहन्छ गरिब नेपालीसँग? त्यसैले त डा गोविन्द केसीका मागहरु जहिले पनि जायज हुने गर्छन्।
अहिले एक हप्ता बितिसक्दा आमा र बच्चा दुवै खतरामुक्त छन्। यति मात्र होइन, प्रतिष्ठान सहित पिएचसीको टिम निरन्तर हेरचाह र रेखदेखमा लागिरहेको छ। हरेक असहजताका दबाबहरुमा समेत स्वेच्छा र सेवाभावले गरेका कार्यहरु कति धेरै सफल हुँदा रैछन्, हामी सजिलै बुझ्न सक्छौं। प्रसिद्धि र देखावटी त अदृश्य लाग्छन्। जे हुन्छन्, देखिन्छन्, त्यो सबै सुत्केरी महिला, जन्मिएको बच्चा र आफन्तको मुस्कानमा देखिन्छन्।
दुनियाँको लहडयुक्त तरंगभन्दा छुट्टै बाँचेको हुन्छ यहाँ चिकित्सक। स-साना खुसीहरुमा लहराउनु र गुनगुनाउनु नै चिकित्सकीय विशेषता भइसक्यो। यही विशेषताले नै कति दुर्गम भेगका जनताको जीवन बाँचेको छ, स्वास्थ्य सेवाले नौलो आयाम पाएको छ।
यही विशेषताले नै त काठमाडौंमा निको पार्नु र दुर्गम कोल्टीमा निको पार्नुका बीच फरक छुट्याएको छ। यी फरकहरुमा, भेदहरुमा आत्म सन्तुष्टिका ज्वारहरु अनन्त भेटिन्छन्। त्यसैले त अर्को जुनी पनि चिकित्सककै चोला बाँच्ने रहर जाग्छ, त्यो पनि यो जुनी यतै कतै विकट भूभागहरुमा बिसाएर।
(डा घिमिरे प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टी, बाजुरामा कार्यरत छन्।)