काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमणको तेस्रो लहरको सम्भावना रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन सबैलाई आग्रह गर्दै आइरहेको छ। तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले माताहतका अस्पतालदेखि निजी अस्पताललाई समेत आवश्यक तयारी गर्न निर्देशन दिएको छ।
तर, मन्त्रालय माताहतकै देशकै एक मात्र केन्द्रीय बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ भने दुईसाता देखि निर्देशकविहीन छ।
तेस्रो लहरसँग जुध्न आवश्यक तयारी गर्नुपर्ने बेलामा अस्पतालमा अधिकारसहितको निर्देशक नहुँदा समस्या परिरहेको चिकित्सक तथा कर्मचारीले बताएका छन्।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल निर्देशकको जिम्मेवारीमा रहेका डा आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागमा सरुवा गरेदेखि कान्ति अस्पताल निर्देशक विहीन बनेको हो। गत साउन १९ गते राज्यमन्त्री श्रेष्ठले डा बिच्छालाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएका थिए।
तर, राज्यमन्त्री श्रेष्ठले अस्पतालमा निर्देशक भने नियुक्त गरेका छैनन्। स्वास्थ्य मन्त्रालयकै चेतवानी र तयारी गर्नुपर्ने निर्देशन हुँदाहुँदै पनि मन्त्रालयले कान्तिमा निर्देशक नियुक्त नगर्नु गलत भएको मन्त्रालयका कर्मचारी बताउँछन्।
‘कोभिड संक्रमणविरुद्ध हालसम्म बालबालिकाका लागि खोप उपलब्ध नभएकाले तेस्रो लहरको संक्रमणको जोखिममा बालबालिका हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले नै बालबालिका लक्षित पूर्व तयारी गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिइसकेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘केन्द्रीय बाल अस्पताल भएकाले पनि अहिले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि कान्ति बाल अस्पतालले थप पूर्वतयारी गर्नुपर्ने समय हो। तर अस्पतालमा निर्देशक नै नियुक्त नगरेर सरकारले गम्भीर गल्ती गरिरहेको छ।’
कान्तिबाट विभागमा सरुवा भएपछि डा बिच्छाले अस्पतालमा कार्यरत बाल रोग विशेषज्ञ डा रामहरि चापागाईंलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका छन्। तर डा चापागाईंलाई अधिकारसहितको सम्पूर्ण जिम्मेवारी भने छैन।
अस्पतालमा पूर्ण जिम्मेवारी सहितको निर्देशक नियुक्त नहुँदा चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बारे अस्पताल बेखबर छ भने अस्पतालका चिकित्सक लगायतका कर्मचारीले साउन महिनाको लतब समेत पाएका छैनन्। अस्पतालमा विगतमा महिनाको २५ गते नै तलब आउने गथ्र्यो।
‘निर्देशक नभएपछि साउनको तलब हामीले पाइसकेका छैनौं, निर्देशक नभएमा भोलि ल्याबमा रिएजेन्ट सकियो वा कुनै उपकरण विग्रियो भने सेवा बन्द हुने अवस्था आउनसक्छ,’ अस्पतालका एक चिकित्सकले भने, ‘अहिले बजेट अनुसार वार्षिक योजनाबारे छलफल गरेर बजेट कार्यन्वयनको प्रक्रिया सुरु गर्ने समय हो, तर निर्देशक नभएपछि बजेटमा केके छ भन्ने जानकारी समेत छैन।’
निमित्त निर्देशकको जिम्मेवारी दिएका डा रामहरि चापागाईँले आफूलाई दैनिक सामान्य समस्या सामाधान गर्ने अधिकार मात्र भएको बताए।
‘मलाई स्वास्थ्य मन्त्रालयले निमित्त निर्देशकको जिम्मेवारी दिएको होइन, डा बिच्छाले आफू सरुवा भएपछि अर्को नआएसम्म काम गर्नु भनेर मलाई जिम्मेवारी दिनुभएको हो,’ उनले भने, ‘मैले दिनदिनै आइपर्ने सामान्य समस्या समाधान गर्ने मात्रै हो, मलाई निर्देशकको जस्तो सबै जिम्मेवारी छैन।’
उनले कान्ति बाल अस्पताललाई पूर्ण अधिकार सहितको निर्देशक आवश्यक रहेको बताए।
‘पूर्ण जिम्मेवारी सहितको निर्देशक नहुँदा दीर्घकालिन योजना बनाएर सो अनुसार काम गर्न पाइदैन,’ उनले भने, ‘त्यसैले अस्पताललाई निर्देशकको आवश्यक छ।’
उनले निर्देशक नहुँदा तेस्रो लहरको संक्रमण नियन्त्रणका लागि बजेटका व्यवस्थापन, आवश्यक स्वास्थ्य सामाग्री खरिद तथा दीर्घकालिन योजना बनाउन नसकिएको बताए।
डा चापागाईंले कोरोना संक्रमण नियन्त्रणको पूर्वतयारीका लागि गर्नुपर्ने केही कामहरु अघिल्लो आर्थिक वर्षकै योजना अनुसार भइरहेको भए पनि दीर्घकालिन काम अगाडि बढाउन भने समस्या भएको बताए।
‘साउनदेखि लागू भएको बजेटको कार्यन्वयनमा जानलाई निर्देशक नै चाहिन्छ,’ उनले भने, ‘निर्देशक नभएको धेरै समय नै भइसकेको त छैन, तर अझै केही समयपछिसम्म पनि निर्देशक नियुक्त भएन भने चाँही धेरै समस्याहरु उत्पन्न हुनसक्छ।’
कान्ति बाल अस्पतालमा प्याथोलोजिष्ट अभाव तथा नर्सिङ जनशक्ति व्यवस्थापन लगायतका विषय दीर्घकालिन समस्याहरु पनि कायमै छ। अब आउने निर्देशकले यी समस्या समाधान गर्नुपर्ने एक चिकित्सकले बताए।
‘सरकारको प्राथमिकतामा कान्ति बाल अस्पताल अझै छैन, २ जनाको प्याथोलोजिष्टको दरबन्दी छ, यहाँ एकजना पनि छैनन्,’ एक चिकित्सकले भने, ‘नर्सिङ जनशक्ति पलायन हुने समस्या पनि उस्तै छ, तेस्रो लहरको संक्रमणको लागि पहिला जस्तो पूर्वाधार छ त्यही हो, निर्देशक नहुँदा थप तयारी भएको छैन। अब आउने निर्देशकले यी विषयलाई प्राथमिकता दिन जरुरी छ।’
३१५ शय्या क्षमताको कान्ति अस्पतालमा कोभिड आइसियूमा ४ शय्या, एचडीयू ६ र १८ वटा कोभिड शय्या छन्। यस्तै एनआइसीयू २५ र पिआइसीयू १८ वटा छन्।