काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट सुरु भएको छ। भदौ २५ गतेसम्म काठमडौंमा हुने उक्त बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा छन्।
यस्तै, स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ।
बैठक आज बिहान ९ः४५ बजेबाट सुरु हुँदैछ। भदौ २५ गतेसम्म काठमडौंमा हुने उक्त बैठकमा विश्व डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, ११ सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसंघका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ११ वर्षपछि दक्षिण एसियाली देशको बैठक राख्न पाउनु गौरवको कुरा भएको बताए। उनले भने, ‘स्वास्थ्यको आपतकालीन पूर्वतयारी कार्य, नसर्ने रोग नियन्त्रण, स्वास्थ्यमा सर्वव्यापी पहुँच, कोभिड खोपको व्यवस्थापन, वितरण र प्राप्तीबारे छलफल, खोपद्वारा अन्य रोगको रोकथाम, आगामी वर्षमा गरिने साझा कार्ययोजनाबारे छलफल गरिने छ।’
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले बैठकमा क्षेत्रीय रुपमा, देशको स्वास्थ्यको अवस्था र कोभिड नियन्त्रण, नसर्ने रोग, मानसिक रोग र ११ वटा देशमा खोपको विश्लेषणमा समीक्षा बैठकमा छलफल हुने अपेक्षा राखे।
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा समाबाजिराव पाण्डवले ७४औं बैठकको आयोजक भएकोमा नेपाललाई धन्यवाद दिँदै बैठकमा सार्वजनिक स्वास्थ्य आपतकालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, भाइरल हेपाटाइटिस, एचआईभी र यौन रोगहरूको उन्मुलनलगायत विषयमा छलफल हुने बताए।
बंगलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, म्यानमार, श्रीलंका, थाइल्याण्ड र टिमोर लेस्टे गरी ११ देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा पर्दछन्। जसको क्षेत्रीय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ। हरेक वर्ष विश्व स्वास्थ्य संगठनको जेनेभामा हुने महासभाको पूर्व तयारीका रुपमा यो बैठकलाई लिइन्छ। बैठकमा दक्षिणपूर्वी एसियाली क्षेत्रमा रहेका स्वास्थ्य समस्या, भइरहेका कार्यक्रमको समीक्षा, रणनीति निर्माण र आगामी दिनका कार्यक्रम योजनाबारे छलफल हुने गर्छ।