काठमाडौं- भारतले कोभिड-१९ विरूद्धको खोप निर्यातलाई अक्टोबरदेखि पुनः सुरू गर्ने निर्णय गरेको छ। यस वर्षको सुरुदेखि भारतमा कोरोनाभाइरसको रोग बढ्दै गएपछि भारतले खोप निर्यात रोकेको थियो।
भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।
तर खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज मात्र नेपाल आएको छ। बाँकी १० लाख खोप भने अझै आएको छैन। अब भारतले निर्यात खुला गरेसँगै खोप आउने बाटो खुलेको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार खरिदको खोप ल्याउन नेपालले कुटनीतिक पहल समेत गरेको छ। 'उक्त खोप कति गते वा कुन दिन आउँछ भन्ने टुंगो लागिसकेको छैन' मन्त्रालयका एक कर्मचारीले भने, 'भारतबाट निर्यात खुले लगत्तै पहिलो प्राथमिकतामा नेपाललाई राखेको जानकारी आएकाले छिट्टै आउने सम्भावना छ।'
भारतको स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मन्सुख माण्डभियाले सोमबार चौथो त्रैमासिकको सुरू अर्थात् अक्टोबरदेखि भारत सरकारले ‘भ्याक्सिनमैत्री’ पुनः आरम्भ गर्ने बताए। यो पहल विश्वभरका देशहरूलाई कोभिड खोप प्रदान गर्ने र कोभ्याक्सअन्तर्गत आफ्नो जिम्मेवारी पनि पूरा गर्ने पहल भएको उनले बताए।
'भ्याक्सिनमैत्री अन्तर्गत हामी विश्वलाई मद्दत गर्नेछौं र चौथो त्रैमासदेखि कोभाक्समा योगदान गर्नेछौं,' माण्डभियाले भने। अर्को महिना सरकारले खोप उत्पादकहरूबाट ३० करोडभन्दा बढी मात्रा पाउने आश्वासन मिलेको छ भने यो खोप तत्काल विश्वबजारमा जानेछ।
स्वास्थ्यमन्त्रीले यस वर्षको चौथो त्रैमासको लक्ष्य लगभग एक अर्ब खोप उत्पादन गर्ने रहेको र यसको पहिलो प्राथमिकतामा सम्पूर्ण भारतवासी हुने छन्।
भारतमा पछिल्लो २४ घण्टामा ९६ लाख ४६ हजार ७७८ खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। मङ्गलबारसम्म भारतमा ८१ करोड ८५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन्।
तथ्याङ्कअनुसार एक करोड तीन लाख ६९ हजार ३८६ स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपको पहिलो मात्रा दिइएको छ भने ८७ लाख ५० हजार १०७ जनाले दुवै मात्रा खोप लगाएका छन्। खोप लगाउने अग्रपङ्तिमा खट्ने स्वास्थ्यकर्मी सुरक्षाकर्मी तथा कर्मचारी शिक्षकलगायत फ्रन्टलाइनमा काम गर्ने एक करोड ८३ लाख ४६ हजार १६ ले पहिलो र एक करोड ४५ लाख ६६ हजार ५९३ जनाले खोपका दुवै मात्रा लगाइसकेका छन्।
विश्व स्वास्थ्य संगठनका मुख्य वैज्ञानिक सुमया स्वामीनाथनले मंगलबार कोभिड-१९ खोप निर्यात पुनः सुरु गर्ने भारतको निर्णयको स्वागत गरे। विश्वव्यापी खोप पहुँचमा समान अवसरका लागि भारतको यो निर्णय महत्त्वपूर्ण हुने उनले बताए।
स्वामीनाथनले ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा भनेका छन्, 'कोभिड-१९ खोप निर्यात पुनः सुरु गर्ने निर्णयको विश्व स्वास्थ्य सङ्गठन स्वागत गर्दछ। विश्वव्यापी खोप अभियानमा समानताका लागि अझै लामो यात्रा रहेको र भारतको यो निर्णय महत्त्वपूर्ण हुनेछ।'