काठमाडौं– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन उत्पादन गर्ने २ वटा प्लान्ट सञ्चालनमा ल्याएको छ। प्रतिष्ठानले वार्षिकोत्सवको अवसरमा दैनिक २ सय सिलिन्डर क्षमताको प्लान्ट अहिले र डेढ महिना अघि एक सय सिलिन्डर भर्न सक्ने प्लान्ट सञ्चालनमा ल्याएको हो।
दुईवटै प्लान्ट सञ्चालनमा आएपछि प्रतिष्ठान लुम्बिनी प्रदेशमै सबैभन्दा बढी क्षमतामा अक्सिजन उत्पादन गर्नसक्ने संस्था भएको छ। प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले दुई वटा प्लान्टबाट प्रतिष्ठानमा उत्पादन हुने प्रति दिन तीन सय सिलिन्डर अक्सिजन प्रतिष्ठानसहित अन्य अस्पतालमा समेत दिन सकिने बताइन्।
‘कोभिडको संक्रमण फैलिरहँदा धेरै स्थानमा अक्सिजन अभाव भएको थियो,’ उनले भनिन्, ‘अब हामीले यहाँ नै अक्सिजन उत्पादन गर्ने दुई वटा प्लान्ट सञ्चालनमा ल्याएका छौं। यी प्लान्टबाट दाङसहित अन्य जिल्लामा पनि आवश्यक परेको खण्डमा अक्सिजन उपलब्ध गराउन सक्ने छौं।’
तेस्रो वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानले अक्सिजन प्लान्ट थप गर्नुका साथै अन्य सेवा समेत विस्तार गरेको छ। आज मंगलबार नै प्रतिष्ठानमा विस्तारित स्वास्थ्य सेवा अन्तर्गत २५ शय्याको प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको छ।
प्राइभेट वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेडसहित एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, चिकित्सक र स्वास्थ्यकर्मीको चौबीसै घण्टा उपलब्धतासहितको सेवा दिइने उपकुलपति प्राध्यापक डा। संगीता भण्डारीले जानकारी दिइन् ।
यसैगरी, प्रतिष्ठानले १.५ टेस्ला क्षमताको एमआरआइ मेसिन समेत जडान गर्ने तयारी समेत गरेको छ। हाल प्रतिष्ठानमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन सञ्चालनमा रहेको प्रतिष्ठानकी निर्देशक डा प्रज्ञा सिंह बस्नेतले जानकारी दिइन्।
उनका अनुसार प्रतिष्ठानले कोरोना संक्रमणको तेस्रो लहर आएमा त्यसका लागि उपचार व्यवस्थापनका लागि कोभिड वार्डलाई तयारी अवस्थामा राखेको पनि जनाएको छ।
प्रतिष्ठानले आफ्नै ब्लड बैंक सञ्चालनमा ल्याउन प्रक्रिया समेत अगाडी बढाइसकेको जनाएको छ। प्रतिष्ठानमा हाल २० शय्याको आइसीयु, १० शय्याको पीआइसीयु र ५० शय्याको एचडीयु सेवा रहेको छ। यस्तै प्रतिष्ठानमा हाल ४ वटा अप्रेसन थिएटर निर्माण भएको छ।
प्रतिष्ठानबाट आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५३७ मेजर र ८८० माइनर गरी २ हजार ४१७ जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ। एक वर्षमा प्रतिष्ठानबाट ६६ हजार १८३ जनाले ओपिडि सेवा लिएका छन् भने २ लाख ४५ हजार ७१ जनाले प्रयोगशाला सेवा लिएका छन्।
यस्तै, एक्सरे सेवा १ लाख १२ हजार ४६० जना, सिटी स्क्यान सेवा ७६४ जना, आकस्मिक उपचार गराउनेको संख्या १२ हजार ७१२ जना रहेको छ। सो अवधिमा २३ हजार ६२१ जनाले पीसीआर परीक्षण सेवा लिएका छन् भने ३७ जनाले ननकोभिड सेवा र २२ जनाले कोभिड आइसीयु र कोभिड एमचडीयु सेवा २०२ जनाले लिएका छन्।