काठमाडौं- कान्ति बाल अस्पताललाई चु जी फाउन्डेशनले २५ वटा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला सहयोग गरेको छ।
हेल्थ इन्भारोमेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेशन (हिक्याक्प३६०) को समन्वयमा चु जी फाउन्डेशनले उपलब्ध गराएको उक्त उपचार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेका हुन्।
कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा १८ वर्षमुनिका बालबालिका पर्नसक्ने आंकलन भइरहेको अवस्था ती स्वास्थ्य सामग्री उपचारमा सहयोगी बन्ने अपेक्षा गरिएको छ।
उपकरण हस्तान्तरणपछि सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यी उपकरणले कोरोना संक्रमित बालबालिकाको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताए।
उनले भने,‘सम्भावित तेस्रो लहरको पूर्व तयारी सुरु भइसकेको छ। कान्ति बाल अस्पताल देशको एक मात्र बालबालिकाको सुपर स्पेस्यालिस्ट सेवा सहितको बाल अस्पताल हो। यसलाई ३०० वेडलाई बिस्तार गरी ५०० बेडको बनाउनेबारे छलफल भइरहेको छ।
उनले कान्ति बाल अस्पतालमा रहेको जनशक्ति लगायतको समस्या समाधान गर्न प्रक्रिया सुरु गरिसकेको बताए।
उनले भने,‘ सरकारको पहिलो प्राथमिकता कोरोना विरुद्धको खोप हो। दशैपछि बालबालिकाका लागि लगाइने एक लाख डोज फाइजर आउँदै छ। त्यसपछि मंसिरदेखि फागुनसम्ममा फाइजर र मोडर्ना खोप गरी एक करोड डोज खोप आउने सुनिश्चिता र बालबालिकालाई खोप लगाउने कार्यक्रम सुरु हुन्छ।’
कान्ति बाल अस्पतालका निर्देशक डा अजित रायमाझीले अस्पताललाई उपकरणसँगै जनशक्तिको अभावको पनि व्यवस्थापन गर्नुपर्ने बताए।
उनले भने,‘ देशभरका साधारण, विपन्न तथा सीमान्तकृत जनताको बढी पहुँच भएको यो अस्पतालमा उपलब्ध सेवा सर्वसुलभ र नियमित गर्न थुप्रै चुनौति र समस्या छन्। प्रमुख समस्या जनशक्तिको कमी समस्या हो,’ उनले थपे,‘एकीकृत ५२ शय्याको बिस्तारित आइसियु संचालन गर्न र ५६ जनाको दरबन्दी (२० चिकित्सक, ३५ नर्स, एक बायोमेडिकल इन्जिनियरको अस्थायी दरबन्दी पुनः स्वीकृतको प्रक्रियामा स्वास्थ्य मन्त्रालयमा रहेको छ।’
उनले कोभिड बिरामीको उपचारमा थप गरेको २५ शय्याको एचडियु युनिट संचालन पनि पुरानै जनशक्तिको व्यवस्थापन गरि बालबालिकामा हुन सक्ने कोभिड-१९ को तेस्रो लहरको सफल व्यवस्थापनका लागि पूर्व तयारी गर्न थप जनशक्तिको ओएनएम पनि स्वास्थ्य मन्त्रालयमा रहेको बताए।
हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेन्ट एक्सन फाउन्डेशन (हेकाफ३६०) का संयोजक महेश नकर्मीले सम्भावित तेस्रो लहरमा बालबालिका जोखिममा पर्न सक्ने कुरा मध्यनजर गर्दै २०० वटा भेन्टिलेटर चु जी मार्फत नेपाल ल्याएको र कान्तिलगायतका बालरोगको उपचार हुने अस्पतालहरुलाई वितरण गरिने बताए।
कान्ति बाल अस्पतालमा पहिले लहरदेखि हालसम्म ३५० जनाभन्दा बढी बालबालिका कोरोना संक्रमण भई उपचार गराइसकेका छन्। तीमध्ये १९ संक्रमित बालबालिकाको मृत्यु भइसकेकोछ।
अस्पतालले कोभिडका लागि अति सिकिस्त बिरामीको लागि ४ वटा भेन्टिलेटर, संक्रमित पुष्टि भएका बच्चाहरुलाई राख्न २५ वटा एचडियु व्यवस्था गरिएको छ। आज हस्तान्तरण भएका भेन्टिलेटर पनि सोही एचडियु वार्डमा राखिने अस्पतालले जनाएको छ।