काठमाडौं- नेपाल आयुर्वेद चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकको उपाधि प्रयोगबारे प्रकाशित सूचनामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मेडिकल काउन्सिलले कात्तिक १० गते (हिजो) सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २ को परिभाषा (घ) ‘चिकित्सक’ भन्नाले मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्सा प्रणाली अन्तर्गत चिकित्सा शास्त्रमा स्नातकोपधि प्राप्त गरी सो सम्बन्धी व्यवसायमा लागेको व्यक्ति भएकाले र उसले मात्रा डाक्टर लेख्ने व्यवस्था रहेको उल्लेख गरेको थियो।
मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जारी गरेको सूचनामा काउन्सिल ऐन,२०२० को दफा २७ (१) मा कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धि चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धि डिग्री, डिप्लोमा , सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन नहुने समेत उल्लेख गरेका थिए। काउन्सिलमा चिकित्सकको रुपमा दर्ता नभएका व्यक्तिले डाक्टर लेख्नु वा प्रयोग गर्नु गैर कानुनी हुने उल्लेख छ।
यसैबिच, नेपाल आयुर्वेद चिकित्सक संघले काउन्सिलको उक्त भनाई प्रति ध्यानाकर्षण भएको जनाएको हो।
संघका अध्यक्ष डा प्रकाश ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा आयुर्वेद चिकित्सा परिषद ऐन, २०४५ (पहिलो संशोधन २०५५) परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.१ ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विज्ञानमा आयुर्वेदाचार्य वा वैद्यरत्न वा आयुर्वेद स्नातक वा सो सरह उत्तीणर्’ भन्ने व्यवस्था अनुरुप आयुर्वेद स्नातक र सो भन्दा माथिको आयुर्वेदको शैक्षिक योग्यता भएको र आयुर्वेद चिकित्सा परिषद नेपालमा दर्ता भएका व्यक्तिहरु चिकित्सक भएको र अंग्रेजीमा डाक्टर भनिने व्यहोरा प्रष्ट भएको बताएका छन्। उनले विरामी, सरकारी, गैर सरकारी संघ संस्था, सामाजिक संघ संस्था तथा सर्वसाधारणहरु भ्रममा नपर्नु हुन् अनुरोध गरेका छन्।
साथै परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन्।
संघले आयुर्वेद चिकित्सा परिषद नेपाललाई यस विषयमा थप स्पष्ट पार्न आग्रह गरेको छ।
संघद्वारा जारी विज्ञप्ति
यस्तो छ मेडिकल काउन्सिलले जारी गरेको सूचना