आइसियूमा वा क्रिटिकल केयरमा गम्भिर अवस्थाको बिरामीहरुको उपचार हुने गर्दछ। डाक्टर, नर्ससँगै आइसियूमा डाइटिसियन,फार्माकोलोजिस्ट, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट, बायोमेडिकल ईन्जिनियरहरु पनी अग्रपंतीमा राखिएको हुन्छ। तर त्यस्ता अस्पताल नेपालमा औंलामा गन्न सकिने मात्र होलान। सबै अस्पतालमा यी जनशक्ती हुन अति जरूरी छ।
गम्भिर बिरामीहरुमा कुपोषणका विभिन्न समस्या आउँछन। मुखबाट खानसक्ने अवस्था होस या मुखबाट खान नसक्ने अवस्था होस् शारीरिक अवस्थामा ह्रास आउँदै जान्छ। कुपोषण, स्ट्रेस्, इन्फ्लामेसनले गर्दा साइटोकाइन्स र कोर्टिसोल लेवलहरु बढ्दै जान्छ। जस्ले गर्दा खानामा रुची घट्दै जाने र ईनर्जी नुट्रीयन्ट इन्टेक कम हुन्छ। कोर्टिसोल बढ्ने बित्तिक्कै कार्बोहाइड्रेटमा असर हुनेगर्छ। त्यसपछि इन्सुलिन रेजिस्टेन्स घट्छ र शरीरका तन्तुहरुले शक्ति पाउँदैनन जस्ले तन्तुहरुलाई भोको बनाउँछ र भित्रभित्रै प्रोटिन, फ्याट र कार्बोहाइड्रेट टुक्रीदै जाने भएर शरीर कमजोर हुन्छ।
यस्तो अवस्थामा बिरामीहरुलाई कति मात्रामा कुन तत्व चहिने भन्ने कुरा क्रिटिकल केयरमा कामगर्ने डाइटिसियनलाई थाहा हुनेगर्छ। बिरामीहरुको आवश्यक्ता अनुसारको क्यालोरी, प्रोटिन, फ्याट्, भिटामिन र खनिजको मात्रा मिलाउन निकै जरूरी छ। मुखबाट नखानेको लागि प्रयोग गरिने नाक वा पेट्को माध्यमबाट गराइने फिडिङको मात्रा र खानाको सही छनोट अति महत्वपूर्ण हुन्छ। विभिन्न जटिलतालाई ध्यानमा राख्दै काम गर्ने हुँदा डाइटिसियनको भूमिका यसमा महत्वपूर्ण छ। बिरामीहरुलाई वान्ता, कब्जियत, पेट फूल्ने, खनिजको इम्ब्यालेन्स, भिटामिनको कमी, प्रोटिन र शक्तिको कुपोषण, औषधि र खानाको एक अर्को सँगहुने इन्टरेक्सन, बिरामीको इन्टेक र एक्स्क्रेसन सबैको बारेमा डाइटिसियनहरु जानकार हुने हुँदा बिरामीहरु छिट्टै निको हुन्छन।
तर हाम्रो देशमा डाइटिसियनहरुको उचित व्यवस्थापन नहुँदा क्रिटिकल केयरप्रति ध्यान नपुगेको जस्तो देखिन्छ। अहिलेसम्म स्थायी पद्को लागि विज्ञापन गरिएको छैन। २५ बेडको अस्पतालमा १ जना डाइटिसियन राख्ने नियम भएपनि कार्यान्वयन भने अहिलेसम्म गरिएको छैन। सबै जसो उपचार राजधानी केन्द्रीत रहेको अवस्थामा राजधानी भित्रकै सरकारी अस्पतालहरुमा डाइटिसियनहरु राखिएका छैनन्। करारमा योग्यता नै फरक भएकाहरुलाई राखिनु गलत हो। जसले गर्दा यी विषय पढेका विद्यार्थीहरुको रोजगारी खोसिएको छ भने बिरामीले राम्रो सेवा पाउन पनि सकेका छैनन्।
त्यसैले आइसियू जस्तो संवेदनशिल ठाउँमा डाइटिसियन अनिवार्य गरिनुपर्छ। नत्र भने स्वास्थ्य सेवा दिवस २०७९को नारा 'दक्ष जनशक्ती, गुणस्तरीय स्वास्थ्य सेवा निरोगी नेपाल निर्माणमा हाम्रो टेवा' नारामा मात्रै सिमित हुन्छ।
(अधिकारी डाइटिसियन हुन्।)