मिर्गौला प्रत्यारोपण अगाडि मिर्गौलादाता तथा मिगौंला लिने मान्छेको सबैं प्रकारको खोज तथा अनुसन्धान गरिन्छ। यस प्रकारको खोज तथा अनुसन्धान विभिन्न चरणहरुमा हुनेगर्छ। जसमा पहिलो, दोस्रो र अन्तिम चरण हुन्छ। मिर्गौला दिइसकेपछि दाताको स्वास्थ्य समस्या आउँछ या आउँदैन भनी विभिन्न प्रकारका अनुसन्धान गरिन्छ। जसमा दाताको शरीरको सम्पूर्ण अंगहरुको परीक्षण गरिन्छ। त्यस्तै मिर्गौला दिने मान्छेको मुटुको अवस्था, शरीरमा इन्फेक्सनको अवस्थाबारे परीक्षण गरिसकेपछि मिगौंला प्रत्यारोपण गरिन्छ।
पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नु र दोस्रो पटक गर्नुमा के भिन्नता छ
पहिलो या दोस्रो पटकको मिर्गौला प्रत्यारोपणमा उस्तै प्रकारमा परीक्षणहरु आवश्यक पर्छ। पहिलो पटकको प्रत्यारोपणको तुलनामा दोस्रो पटकको प्रत्यारोपणमा बढी सावधानी अपनाउन आवश्यक छ। मिर्गौला प्रत्यारोणका क्रममा प्रत्येक व्यक्तिलाई रोगसँग लड्न सक्ने क्षमता कम गराउने औषधिको सेवन गराइन्छ। त्यसकारण मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुमा रोगसँग लड्न सक्ने क्षमता एकदमै कम हुने गर्छ। जसले शरीरमा इन्फेक्सनको खतरालाई बढाउँछ।
पहिलो कुरा त मिर्गौला दातालाई मिर्गौला दिएकै कारण कुनै प्रकारको हानी नोक्सानी हुनु हुँदैंन। मिर्गौला दाताको मिगौंलाको काम गर्ने क्षमता कति छ पत्ता लगाउन चिकित्सकले परीक्षण गर्ने गर्छन्। सबै मानिसहरुमा दुवै मिर्गौलाले काम गर्न सक्ने क्षमता बराबर नहुन पनि सक्छ। चिकित्सकले कुनै पनि व्यक्तिको मिर्गौलाले कति काम गरिरहेको छ भन्ने पत्ता लगाइसकेपछि मिर्गौला दाताको बढी मात्रामा काम गरिरहेको मिर्गौला ननिकाली कम काम गरिरहेको मिगौंला निकाल्ने गरिन्छ। सकेसम्म मिर्गौला दाता र लिने मान्छेको उमेर उस्तै उस्तै भएको राम्रो मानिन्छ।
प्रत्यारोपण पछिको दैनिकी
मिर्गौला प्रत्यारोपण पछिको ३ महिना स्वास्थ्यका दृष्टिकोणले बढी संवेदनशील मानिन्छ। सामान्यतया मिर्गौला प्रत्यारोणपछि ५ दिनमा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरिन्छ। जुन एकदमै संवेदनशील समय हो। यतिबेला बिरामीलाई उच्च डोज भएका औषधिहरु दिने गरिन्छ। त्यसकारण यतिबेला बिरामीलाई बढी इन्फेक्सनको खतरा हुन्छ। प्रत्यारोपणपछि साताको दुई पटकसम्म पनि स्वास्थ्य परीक्षणका लागि बोलाउने गरिन्छ। यतिबेला बिरामीको इन्फेक्सनको खतरा छ छैन, औषधीको थपघट गर्नुपर्ने अवस्था भए नभएको परीक्षण गरिन्छ। त्यस्तै प्रत्यारोपणको २ वर्षसम्म बिरामीले महिनाको एक पटक चिकित्सकसँग फ्लोअप गराउनुपर्ने हुन्छ।
मिर्गौला प्रत्यारोपणका क्रममा आउन सक्ने जटिलता
मिर्गौला प्रत्यारोपणका क्रममा मेडिकल तथा सर्जिकल गरी दुई प्रकारका जटिलता आउन सक्छन्। मेडिकल समस्या अन्तर्गत इन्फेक्सनको खतरा हुनसक्छ। रक्तस्राव हुने, लिकेज हुने जस्ता समस्या मिर्गौला प्रत्यारोपणका क्रममा आउन सक्ने सर्जिकल जटिलता हुन्।
यदि प्रत्यारोपणले बिरामीको स्वास्थ्यमा खतराको स्थिती सृजना गर्छ भने चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि सुल्झाउँदैंनन्। मिर्गौला प्रत्यारोपणको विकल्प भएकोले पनि प्रत्यारोणले बिरामीमा खतराको स्थिती आउन सक्ने देखिएमा प्रत्यारोपण गरिँदैन।
नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको अवस्थालाई हेर्ने हो भने वार्षिक २ सय भन्दा बढी मिर्गौला प्रत्यारोपण हुने गरेको छ। एक हप्ता ८ वटासम्म प्रत्यारोण हाम्रो संस्थाले गर्ने गरेको छ। कलेजो प्रत्यारोणले समेत नेपालको सरकारी स्तरको संस्थामा गति लिइरहेको अवस्था छ। प्रत्यारोपण केन्द्र नहुनु तथा प्राविधिकहरुको कमीको कारण अझै नेपालमा सन्तोषजनक अवस्थामा मिर्गौला प्रत्यारोपण हुन सकेको छैन। नेपालमा अझै पनि प्रत्यारोपण केन्द्रको स्थापना हुनु आवश्यक छ।
मिर्गौला दान गरिसकेपछि महिलाले गर्भवती हुन मिल्छ या मिल्दैंन
मिर्गौला दान गरेकै कारण महिलाले गर्भवती हुनबाट वञ्चित हुनुपर्दैन। त्यसकारण मिर्गौला दाता महिलाले स्त्री तथा प्रसूती रोग विशेषज्ञसँग परीक्षण गराएपछि मात्रै हामीले उक्त महिलाको मिर्गौला निकाल्ने गर्छाै।
मिर्गौला प्रत्यारोपण गरिएका व्यक्तिहरुले अपनाउनुपर्ने स्वास्थ्य सावधानी
मिर्गौला प्रत्यारोपणपश्चात् व्यक्तिले स्वास्थ्य स्याहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। जसमा समयमा नै औषधि सेवन गर्ने, इन्फेक्सनबाट बच्ने,खानपानमा विशेष ध्यान दिनुपर्ने जस्ता कुराहरु पर्ने गर्छन्। त्यस्तै मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले निरन्तर फ्लोअफ उपचारमा ध्यान दिनुपर्ने हुन्छ। मिर्गौला प्रत्यारोपण गरेपछिको पहिलो ३ महिना एकदमै जोखिमपूर्ण हुने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ। मिर्गौला दाताले भने सामान्यतया ३ देखि ७ दिन मात्रै औषधि सेवन गर्नुपर्ने हुन्छ।
-(लेखक मिर्गौला रोग विशेषज्ञ हुन्।)
(स्वास्थ्यखबरकर्मी लक्ष्मी चौलागाईंसँगको कुराकानीमा आधारित)