आजभोली ढिलो उमेरमा विवाह गर्ने चलन बढेको छ। जसले गर्दा निःसन्तानपनको समस्या पनि बढ्दै गइरहेको छ। अस्वस्थकर खानपान र जीवनशैलीले पनि यो समस्यालाई बढावा दिएको छ। तर निःसन्तापनको समस्या समाधानका लागि स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरका उपचार प्रक्रिया र प्रविधि विकसित भइसकेको छ।
आजभोली निःसन्तानपनको उपचारको रुपमा आईभिएफ प्रक्रिया निकै प्रभावकारी भइरहेको छ। तपाईँहरुलाई आईभिएफ प्रक्रियामा गरिने पीटीजी अर्थात ‘प्रि– इम्प्लान्टेसन जेनेटिक टेस्ट‘को विषयमा जानकारी गराउँछु।
के हो पीजीटी?
पीटीजी भनेको प्रि–इम्प्लान्टेसन जेनेटिक टेस्टिङ अर्थात भ्रूणको आनुवंशिक परीक्षण हो। यो परीक्षण आईभिएफ प्रक्रियामा महिलाको पाठेघरमा भ्रूण राख्नु अघि नै गरिन्छ। यो प्रक्रियामा भ्रूणको सानो टुक्रा लिएर बायोप्सी परीक्षण गरिन्छ।
आईभीएफ प्रक्रियाको ५ औं दिनमा भ्रूण ब्लास्टोसिस्ट अवस्थामा हुन्छ। सानो माइक्रोस्कोपले लेजर विधिमार्फत भ्रूणको बाहिरी भागबाट सानो टुक्रा बायोप्सी लिइन्छ। यसले भ्रूणलाई कुनै असर गर्दैन। भ्रूणको बाहिरी भागलाई ट्रोफोब्लास्ट भनिन्छ, जसले बच्चाको साल बनाउँछ। सालको एउटा टुक्रा लिँदा शिशूलाई केही असर पर्दैन। यो परीक्षण निकै संवेदनशील हुन्छ। विज्ञताप्राप्त इम्ब्रायालोेजिष्टले भ्रूणको बायोप्सी लिनुहुन्छ।
बायोप्सी लिएपछि जेनेटिक परीक्षणका लागि ल्याबमा पठाइन्छ। ल्याबमा परीक्षण भएपछि भ्रूणमा कुनै समस्या छ वा छैन पत्ता लाग्छ।
सामान्य आईभिएफमा भ्रूण बनाइन्छ, माइक्रोस्कोपले बाहिरबाट भू्रणको अवस्था हेरिन्छ र महिलाको पाठेघरमा राखिन्छ। सामान्य आईभिएफमा जेनेटिक क्रोमोसोम कस्तो छ भन्ने थाहा हुँदैन। तर पीटीजीमा भ्रूणको क्रोमोसोम अध्ययन गरेर कुनै समस्या छैन भन्ने निश्चित गरेपछि मात्र प्रत्यारोपण गरिन्छ।
सामान्य गर्भावस्थामा गरिने जेनेटिक परीक्षण र पीटीजीमा फरक हुन्छ। प्राकृतिक रुपमा गर्भधारण गर्नु आईभिएफभन्दा फरक नै हो। प्राकृतिक गर्भधारणपछि भ्रूणको अवस्था राम्रो छ भने त ठिक भयो तर, १२ वा १४ हप्तामा गरिने परीक्षणमा भ्रूणमा कुनै समस्या देखियो भने गर्भपतन गर्नुपर्ने अवस्था समेत आउनसक्छ। यो क्रममा महिलाले शारीरिक र मानसिक पिडा भोग्नुपर्छ।
तर आईभिएफमा गरिने पीजीटी परीक्षणले भ्रूणमा भएको समस्या महिलाको पाठेघरमा भ्रूण प्रत्यारोपण गर्नु अघि पत्ता लगाइन्छ। भ्रूणमा जेनेटिक समस्या नदेखिएको अवस्थामा मात्र महिलाको पाठेघरमा प्रत्यारोपण गरिने भएकाले महिलालाई शारीरिक र मानसिक पिडा पनि हुँदैन। आईभिएफ सफलता दर र स्वस्थ बच्चा जन्मिने दर पनि बढी रहन्छ।
तर निःसन्तानपनको समस्या भएर आएका सबैलाई आईभिएफ प्रक्रियामा आनुवंशिक परीक्षण (पीजीटी) गराइँदैन। यसको पनि मापदण्ड हुन्छ। परीवारमा जेनेटिक समस्या भएको, पटक–पटक आफैं गर्भ खेर गइरहेको महिला छन् भने पिजिटि गर्न सुझाव दिइन्छ। पिजिटि पनि ए, एफ र एफ गरी तीन प्रकारका हुन्छन्। पीजीटीमा क्रोमोसोम अध्ययन गर्ने भएकाले डाउनसिन्ड्रोम, थालेसेमिया र अन्य जेनेटिक रोगहरु परीक्षण हुने भएकाले जेनेटिक समस्या भएका बच्चा जन्मिने जोखिम रहँदैन।
विशेषगरी, ३५ वर्ष भन्दा बढी उमेरका महिलालाई पीजीटी गर्न सुझाव दिइन्छ। यो उमेरमा गर्भधारण गर्दा र बच्चा जन्माउदा शिशूमा डाउनसिन्ड्रोम जस्ता अनुवंशिक समस्या आउनसक्छ। यस्तै परिवारमा कोही व्यक्तिमा थालेसेमियाको समस्या छ, परिवारभित्र नै सुत्केरी अवस्थामा मृत्यु भएको मेडिकल हिस्ट्री छ भने उनीहरुका लागि आईभिएफ प्रक्रियामा पीजीटी गराउनुपर्ने हुन्छ।
-(आईभिएफ स्पेसलिष्ट तथा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा ज्योति अग्रवाल नर्भिक अस्पतालको आईभिएफ सेन्टरमा कार्यरत छिन्।)