क्षयरोग (टीबी) निको हुन्छ। यो उपचार सम्भव र रोकथाम गर्न सकिने रोग हो। तर, हाम्रो समाजमा यसलाई हेर्ने दृष्टिकोणले प्रायः बिरामीलाई शारीरिक रोगभन्दा ठूलो मानसिक आघात दिन्छ। क्षयरोगले व्यक्तिको शरीर मात्र होइन, उसको मन, भावना र सामाजिक अस्तित्वमा समेत गहिरो चोट पुर्याउँछ। यो चोट, अर्थात् मानसिक स्वास्थ्यको पक्ष, प्रायः उपेक्षित रहन्छ।
क्षयरोग र मानसिक स्वास्थ्यबीचको सम्बन्ध दुईतर्फी बाटो जस्तो छ। क्षयरोगले डिप्रेसन, चिन्ता र आत्मविश्वासको ह्रास निम्त्याउन सक्छ भने पहिलेदेखि नै मानसिक समस्याले ग्रस्त व्यक्तिमा क्षयरोगको उपचार प्रभावकारी नहुन सक्छ। त्यसैले, यी दुई समस्यालाई सँगै सम्बोधन गर्नु अबको आवश्यकता र बाध्यता दुवै हो।
रोग पत्ता लागेपछि मनमा के चल्छ?
क्षयरोग पुष्टि हुनासाथ धेरै बिरामी तनाव, डर र चिन्ताको भुमरीमा फस्छन्। मृत्युको डर, परिवारमा रोग सर्ने चिन्ता, लामो उपचारको थकान, भविष्यप्रतिको अनिश्चितता र उपचारकै कारण निम्तिने सामाजिक अलगाव- यी सबैले बिरामीलाई मानसिक रूपमा धराशयी बनाउँछन्। ६ महिना वा सोभन्दा लामो उपचार अवधि उसको धैर्य र मानसिक सन्तुलनको परीक्षा बन्न पुग्छ।
देखिने समस्या: डिप्रेसनदेखि कलंकसम्म
क्षयरोगीहरूमा डिप्रेसन (अवसाद) सबैभन्दा सामान्य समस्या हो। लगातारको उदासी, रुचिमा ह्रास, अत्यधिक थकान र निद्रामा गडबडीजस्ता लक्षणले बिरामीलाई नियमित औषधि सेवनबाट टाढा बनाउन सक्छन्। त्यस्तै, रोगको डर, आर्थिक अभाव र समाजको प्रतिक्रियाले चिन्ता विकार (एन्जाइटी) उत्पन्न गराउँछ।
तर, सबैभन्दा क्रूर पक्ष 'सामाजिक कलंक' हो। 'क्षयरोग छ' भन्ने थाहा पाएपछि समाजले हेर्ने दृष्टिले बिरामीलाई अपराधीजस्तो महसुस गराउँछ। सामाजिक बहिष्कार, लाज, अपराधबोध र आत्मसम्मानको पतनले बिरामीलाई एकान्तमा धकेल्छ, जसले मानसिक तनावलाई थप चुलिदिन्छ।
मानसिक समस्याले उपचारलाई कसरी जोखिममा राख्छ?
डिप्रेसन वा चिन्ताका कारण बिरामीले नियमित औषधि नखाँदा, फलोअप छुटाउँदा वा उपचार बीचमै छोड्दा औषधि प्रतिरोधी क्षयरोग हुने जोखिम बढ्छ। अनुसन्धानहरूले देखाएका छन्- डिप्रेसन भएका क्षयरोगीहरूको उपचार पूरा गर्ने दर निकै कम हुन्छ। केही अवस्थामा क्षयरोगका औषधिले समेत मानसिक भ्रम पैदा गर्न सक्छन्। त्यसैले उपचारका क्रममा मानसिक अवस्थाको नियमित निगरानी अनिवार्य छ।
एकीकृत उपचार: समाधानको बाटो
यी सबै समस्याको एकमात्र समाधान 'एकीकृत उपचार' हो। क्षयरोगको उपचारसँगै मानसिक स्वास्थ्य सेवालाई अनिवार्य रूपमा जोड्नैपर्छ। स्वास्थ्यकर्मीहरूले औषधि मात्र दिने नभई डिप्रेसन र चिन्ताको स्क्रिनिङ, मनोसामाजिक परामर्श, परिवारलाई सही जानकारी, समुदायमा सचेतना र सामाजिक समर्थनको प्रबन्ध गर्नुपर्छ। यसले उपचार सफलताको दर उल्लेख्य रूपमा बढाउँछ।
परिवार र समुदाय: सहयात्री बन्न सकिन्छ
क्षयरोग निको हुने यात्रामा परिवार र समुदायको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। भावनात्मक साथ, भेदभावको अन्त्य, औषधि सेवनमा प्रोत्साहन र सही जानकारी फैलाउने कामले कलंकको पर्खाल भत्काउन सकिन्छ। बिरामीले परिवार र समाजको साथ पाएमा उसको आत्मविश्वास फर्कन्छ र उपचारप्रतिको प्रतिबद्धता बलियो हुन्छ।
आत्म-हेरचाह: आफैँले आफ्नो साथ
क्षयरोगीले आफैँले पनि केही सरल उपाय अपनाउन सक्छन्:
दैनिकीमा नियमितता ल्याउने।
ध्यान (मेडिटेसन) वा रिल्याक्सेसन अभ्यास गर्ने।
परिवार र साथीहरूसँग जोडिएर रहने।
पौष्टिक आहारमा विशेष ध्यान दिने।
मानसिक समस्या महसुस भएमा तुरुन्त विशेषज्ञको सहयोग लिने।
क्षयरोगविरुद्धको लडाइँ केवल जीवाणुसँगको सङ्घर्ष मात्र होइन, यो मानिसको आत्मबल, आशा र मानसिक स्वास्थ्यसँग पनि जोडिएको यात्रा हो। जब समाजले कलंकको सट्टा सहानुभूति रोज्छ, परिवारले साथ दिन्छ र स्वास्थ्य सेवाले शरीरसँगै मनको उपचारलाई प्राथमिकता दिन्छ, तब मात्र क्षयरोग नियन्त्रणको लक्ष्य वास्तविक रूपमा हासिल गर्न सकिन्छ।
-(सहायक प्राध्यापक डाक्टर खनाल मानसिक अस्पताल, लगनखेलका वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्ट (दशौँ तह) हुन्।)