काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक टोलीले केही समयअघि काठमाडौंका विभिन्न सरकारी अस्पताल पुगेर त्यहाँको अवस्था बुझ्ने प्रयास गरेको थियो। सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो लाइन बस्नुपर्ने गुनासो आएपछि त्यसबारे यथार्थ बुझ्न डा दिपेन्द्ररमण सिंह नेतृत्वमा डा मदन उपध्याय र डा गुणनिधि शर्मा नेतृत्वको समिति बनाइएको थियो।
जसले विभिन्न अस्पतालको नेतृत्व, कार्यरत कर्मचारी र बिरामी कुरुवाको समेत कुरा सुनेको थियो। त्यही आधारमा समस्या र समाधानका उपाय पहिल्याएको थियो। जुन प्रतिवेदन तत्कालिन स्वास्थ्य मन्त्री प्रदीप यादवलाई बुझाएको थियो। मन्त्री यादवले उपलब्ध गराएको प्रतिवेदनमा बिरामी कुरुवाका ८ वटा गुनासो समेत समेटिएका छन्।
जसअनुसार सरकारी अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको पेशागत क्षमताप्रति भरोसा रहेको तर केहीको बोलीवचन रुखो रहेको र पर्याप्त परामर्श दिन नसकेको कुरुवाले बताएका छन्। सरकारी अस्पतालका उपकरण तथा औजार बिग्रिने र समयमै मर्मत नहुने समस्या पनि धेरै बिरामी कुरुवाहरुद्ये सुनाएका छन्।
उनीहरुको अर्को बुझाइ छ, 'ठूला बडाको फोन लगाउन पाएमा भर्ना गर्न, अलि छिटो पालो पाउन र राम्रो व्यवहार पाउन सकिन्छ।'
सरकारी अस्पतालका फार्मेसीको समस्यालाई जोड दिएका छन्। अस्पताल फार्मेसीमा सस्तो मूल्यका मात्र र थोरै किसिमका औषधि मात्र पाइने साथै लामो समय कुर्नु पर्ने देखिएको बताइएको छ । महँगो पर्ने औषधि किन्न अस्पताल बाहिरका फार्मेसीमा धाउनुपर्ने धेरैको साझा अनुभव छ। त्यसैगरी महँगा प्रयोगशाला परीक्षण अस्पताल बाहिर गएर गर्नुपर्ने कुरा पनि उनीहरुले मन्त्रालयको टोलीलाई सुनाएका छन्। यसैगरी शय्यामा शय्यासिट च्यातिएको, शय्यासिट मुनि धुलो रहेको, व्हीलचेयर भेटाउन मुस्किल हुने, भेटिहाल्यो भने पनि प्रयोग गर्न उपयुक्त नभएको, चमेनागृह स्तरीय नभएको उनीहरुले बताएका छन्।
उनीहरुले नकारात्मक कुरा मात्रै नभइ सरकारी अस्पतालका राम्रा कुरा पनि बताएका छन्। त्यसमध्ये केही बिरामीहरू निजी अस्पतालमा महँगो उपचार गरे। तर, निको नभएपछि सरकारी अस्पतालमा आएका भेटिएमका थिए। उनीरुले सरकारीमा आएपछि आफ्ना निकटस्थको स्वास्थ्यमा सुधार भएको बताएका छन्। उनीहरुले भनेका छन्, 'सरकारी अस्पतालहरूमा जस्तैः निजी अस्पतालहरूमा पनि स्थलगत अनुगमन गर्नुपर्छ। जसले निजी अस्पताल गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्न सकोस्।'
सरकारी अस्पतालले प्रदान गर्ने सेवाहरुप्रति विश्वास रहेकोले पहिलो रोजाइमा सरकारी अस्पताल नै रहेकोमा उनीहरुले जोड दिएका छन्। त्यससँग जोडेर उनीहरुले अस्पतालभित्रको वातावरणमा केही सुधार जरुरी रहेको बताएका छन्। जस्तैः शौचालय प्रयोग गर्न लायक नरहेको, लामखुट्टे र उडुसको बिगबिगी रहेको, फ्यान वा एसीको व्यवस्था नरहेको, कुरुवाका लागि आवश्यकव्यवस्था नरहेकोले बिरामीको स्वास्थ्य र कुरुवाको स्वास्थ्यमा समेत असर पर्ने अनुभूति रहेको उनीहरुले बताएका हुन्। व्यवस्थित बिरामी कुरुवाघरको व्यवस्था भएदिए राम्रो हुने सुझाव दिएका छन्।