काठमाडौं- भारतमा आयुर्वेद चिकित्सातर्फ स्नातकोत्तर पढेका चिकित्सकहरु आयुर्वेद चिकित्सा परिषद्मा दर्ता नभएपछि अन्योलमा परेका छन्।
उनीहरुले आफूहरुले पाँच महिनाअघि नै दर्ताको लागि निवेदन दिएको भएपनि हालसम्म दर्ता प्रक्रिया अघि नबढेको भन्दै विभिन्न निकायमा निवेदन दिएका छन्।
उनीहरुले स्वास्थ्यमन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय लगाएतलाई सहजिकरणको लागि आग्रहसमेत गरेका हुन्। उनीहरु भारत सरकारको आयुष छात्रवृत्ति कोटामा भारतमा आयुर्वेद पढ्न गएका हुन्।
किन भएन दर्ता?
आयुर्वेद चिकित्सा परिषद्ले भारतमा पढ्नका लागि एनओसी नलिएको भन्दै दर्ता गर्न अस्विकार गरेको छ। तर विद्यार्थीहरु भने चिकित्सा शिक्षा आयोगले जारी गरेको इलिजीवीलिटी सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित हुनु अगावै प्रक्रिया पुरा गरेको तर कोभिडका कारण ढिला मात्रै पढ्न गएको बताएका छन्।
चिकित्सा शिक्षा आयोगद्वारा जारी सूचनामा अन्य मुलुकमा चिकित्सा शिक्षा अध्ययनका लागि अनिवार्य एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गरी अनुमतिपत्र लिनुपर्ने नियम छ।
तर १७ जना नेपाली विद्यार्थीले सो नियम लागू हुनुपूर्व नै छात्रवृत्तिमा आवेदन दिइ प्रक्रिया अगाडि बढाएको बताएका छन्। सोही छात्रवृत्ति मार्फत् सन् २०२० को ब्याचमा अध्ययन गर्न सेप्टेम्बर २०२० (२०७७ भदौ /असोज) मा छनोट भइसकेता पनि कोरोनाका कारण फेब्रुअरी २०२१ (२०७० माघ/ फागुन) मा मात्र पढ्न गएका थिए।
चिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन शाखा) ले २०७८ बैशाख ०५ गते पहिलो पटक जारी गरेको इलिजीवीलिटी सम्बन्धी असूचना प्रकाशित हुनु अगावै उनीहरु अध्ययनका लागि भारत गएको बताएका छन्।
नियमावलीमा प्रवेश परीक्षाका विषयमा समेत स्पष्ट व्यवस्था नरहेको उनीहरुको भनाई छ।
भारतमा स्नातकोत्तर गरेर फर्केा डा सरोजमणि पोखरेलले पिरषद्ले आयोग र आयोगले परिषद्लाई देखाएर टार्ने गरेको बताए।
उनले नेपालमा जनशक्ति अभाव हुँदाहुँदै पनि सम्बन्धित निकायले गम्भिरता नदेखाउँदा समस्या थपिएको बताए।
'निर्देशिका आउनुभन्दा पहिले नै हामीले प्रक्रिया सुरु गरेका हौं तर काउन्सिलले अहिले आयोगलाई देखाएर पन्छिने गरेको छ भने आयोगले परिषदलाई देखाउँछ' उनले भने, 'मैले पढेको विषयमा आवेदन माग गरिएको छ तर आवेदन दिने मान्छे छैन हामीलाई विभिन्न बहानामा अड्काइएको छ।'
नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता पत्रका आधारमा भारतका विभिन्न मान्यताप्राप्त विश्वविद्यालयहरूमा आयुर्वेदमा स्नातकोत्तर गरेर फर्के पनि नेपालमा परिषद् दर्तामा समस्या आएपछि आफूहरु अलमलमा परेको डा सुस्मिता घिमिरेले बताइन्।
'नेपालमा एकदमै कम कोटा छ आयुर्वेदमा १५ वटा स्पेसिलिस्ट छ तर नेपालमा जम्मा एउटा मात्रै स्पेसियालीटी ( काय चिकित्सा इन्टरनल मेडिसिन २ सीटमा) मात्रै एमडी हुन्छ, पढ्नका लागि विदेश जानुपर्ने अवस्था छ तर बाहिर पढेर नेपालमा आएपछि थप अन्योल भयाे', भारतमा आयुर्वेद चिकित्सामा स्नातकोत्तर गरेर फर्केकी डा सुष्मिता घिमिरेले भनिन्, 'एकातिर जनशक्ति अभाव छ अर्कोतर्फ भएको जनशक्तिलाई प्रयोग गर्नेतर्फ सम्बन्धित निकायको चासो देखिएन।'