‘विश्व हात धुने दिवस १५ अक्टुबर २०२४’ आज मनाइयो। साबुनपानीले हात धुने कुरा सुन्दा अत्यन्तै सामान्यजस्तो लागेता पनी यसको महत्व र प्रभाबकारीता धेरै नै छ। हामीहरु सबैलाई प्रायजसो लाग्ने रोगहरु खुल्ला हातको प्रयोग र संक्रमणबाट सर्न सक्ने सम्भावना हुन्छ। यसबाट जोगिन पनि राम्रोसँग साबुनपानीले मिचीमिची हात धुनु अनिवार्य छ।
साबुनपानीले हात मिचीमिची धुँदा हामीलाई लाग्न सक्ने ८० प्रतिशत रोगहरुबाट बच्न सकिन्छ। हात धुन साबुनपानी नै निर्विकल्प हो। ग्रामीण इलाकातिरको घरयासी चलनअनुसार खरानीपानी, माटोपानी र गोबरपानीले पनि हात धुने अभ्यास छ। तर यस्तो अभ्यासमा हातमा कहीँकतै घाउचोट भएमा उक्त स्थानबाट धनुस्टङकार जस्ता घातक रोगका किटाणुहरु शरीरमा प्रवेश गरी हामीलाई भयानक रोगबाट समेत ग्रसित गराउन सक्ने संम्भावना रहन्छ।
साबुनमा रहेको चिप्लोपनाले गर्दा हातमा भएका किटाणुहरुलाई सजिलै बगाएर लैजान सक्ने र केही मात्रमा भएपनि साबुनमा किटाणु नस्ट गर्नसक्ने क्षमताको तत्वहरु हुन्छन्। साबुनपानीको महत्व अपरिहार्य मानिन्छ । हुनत बिभिन्न स्वास्थ्यको क्षेत्रमा काम गर्ने निकायहरु सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले धेरै पहिलादेखि नै साबुनपानीले हात धुने अभ्यास गराउँदै र वकालत गर्दै आइरहेका छन्। तरपनि जनमानसको प्रतक्ष्य ब्यबहारमा भने यसको अभ्यास अझैपनि कहीँकतै पूर्ण रुपमा हुन सकेको छैन। यसका बारेमा क्रमागत रुपमा ६ चरणमा हात धुने भनेर धेरै प्रोजेक्टहरुले अभ्यास गराउँदै आफ्नो डाटाबेसको कार्य पूरा गरेर कागजी कामकार्य सफल नभएका पनि होइन्न्। तर ब्यक्तिको जीवनमा प्रतक्ष्य प्रभाव पारेर सकारात्मक परिवर्तन आउँछन्। त्यसैले ‘परिवर्तन आफूबाट सुरु गर्नु पर्दछ’ भनेजस्तै व्यक्तिको आनीबानी परिबर्तन त्यति सहज कुरा होइन। हात धुने ६ चरणलाई क्रमैसँग ब्यबहारमा लागु गर्दा अलमल नै परियो भने पनी हरेक जोखिम अवस्थामा, कुनैपनि नया ँकार्यको सुरुमा र काम सकाएपछि साबुनपानीले मिचीमिची धुनुपर्छ।
बिगतका बर्षहरुमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस होस् या अन्य भाइरस, जुन किसिमको भाइरसबाट जोगिन पनि यसलाई नभुलौं। मूलमन्त्रकै रुपमा व्यवहारमा ल्याउँ। साबुनपानीले हरेक जोखिम अवस्थामा मिचीमिची हात धुने कार्यलाई निरन्तरता दिँदा मात्र जोखिमबाट बच्न सकिन्छ । सबै मानिसले आत्मसाथ गर्दै प्रगोगमा ल्याउनु बुद्विमानी मान्न सकिन्छ ।
साबुन पानीले हात नधुँदा लाग्ने रोगहरु
बिभिन्न खालका सरुवा तथा घातक रोगहरु ब्याक्टरिया, भाइरस, फंगस, प्रोटोजोवलले आक्रमण गर्दछन्। जस्तै ः झाडापखाला, आउँ, टाइफाइड, जुका पर्ने, हैजा, खानाबाट सर्ने रोग, पानीबाट सर्ने रोग, बिभिन्न किसिमका छालाका सरुवा रोगहरु र महामारीको रुपमा फैलिएर रहेको कोरोना भाइरस र ओमिक्रोन भाइरसबाट लाग्न सक्ने घातक रोगहरुले समेत आक्रमण गर्छन्।
मानव शरीरमा लाग्ने यस्ताखालका ८० प्रतिशत भन्दा बढी रोगहरुले आक्रमण गर्दछन्। आनीबानी परिवर्तन गर्दा प्राय यी कुरालाई आत्मसाथ गर्नु पर्दछ।
सुनेको : बिर्सन्छ । देखेको : सम्झन्छ । गरेको : जानिन्छ । गरीराखे : बानीपर्दछ । बानीपार्नुको फाइदा भनेको : अरुले पनि सिक्दछन्।
हात धुनुपर्ने जोखिम पुर्ण अवस्थाहरु
१. चर्पीको प्रयोग गरिसकेपछि ।
२. बालबालिका वा बिरामीको दिसा धोइसकेपछि ।
३. कुनै पनि फोहोर कुरा वा बिषादी छोइसकेपछि ।
४. बिरामी वा बच्चाको स्याहार गरीसकेपछि ।
५. खाना बनाउनु वा तयार गर्नुअघि ।
६. खाना खानुअघि।
७. बालबालिका वा बिरामीलाई खाना खुवाउनुअघि।
८. बिरामी वा बच्चाको स्याहार गर्नुअघि।
९. दैनिक घरबाहिर गएर आइसकेपछि ।
(लेखक पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)