काठमाडौँ- सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको दुई दिने सम्मेलनमा विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागिता छ।
सम्मेलनका निर्देशक तथा विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनमा विभिन्न देशका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी रहेको जानकारी दिए।
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने उनले बताएका छन्। शाहले भने, ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यन्सर, तिनको उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ।‘

शुक्रबार १: ३० बजे सम्मेलन सुरु भएको हो। सुरुवाती प्रस्तुति हेड एन्ड नेक क्यान्सरका विषयमा रहेको थियो। जहाँ सर्जन डा प्रभात ठाकुरले ‘सर्जिकल प्रिन्सिपल अफ हेड एन्ड क्यान्सर’का विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए। डा बजरङ्ग साहले अध्यक्षता गरेको सेसनमा अमेरिकाको माय सेन्ट जोनमा कार्यरत चिकित्सक डा दिनेश क्षेत्रीले केसमा-आधारित छलफल चलाएका थिए।
दिउसो ३ देखि ४ बजेसम्म अब्स्ट्र्याक्ट प्रिजेन्टेसन सेसन रहेको थियो। जहाँ डा रमेश श्रेष्ठले अध्यक्षता गरेका थिए भने विभिन्न अनुसन्धानकर्ताहरुले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए।
‘हेमाटोलोजी मेलिग्न्यान्स (रक्तक्यान्सरको जटिल अवस्था’ विषयमा पनि वैज्ञानिक छलफल भएको थियो। जहाँ डा सजिन राजभण्डारी र अमित श्रेष्ठले संयुक्त रुपमा अध्यक्षता गरेका थिए।
डा श्रेष्ठले रिसेन्ट एडभान्स इन द म्यानेजमेन्ट अफ डीएलबीसीएलका आफ्नो प्रस्तुति राखेका थिए भने हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिकाबाट आएका डा श्रीनिवास के तन्त्रावाहीले एक्युट ल्युकेमियामा तार्गेटेड थेरापीका विषयमा आफ्नो विज्ञता र अनुभव साझा गरेका थिए।
शुक्रबारको अन्तिम सेसनका रुपमा ‘ट्युमरबोर्ड-स्टाइल डिसकसन-च्यालेन्जिङ केसेस’ रहेको थियो। जहाँ स्टेनफोर्ड हेल्थकेयर, अमेरिकाका डा मार्क पेग्रामले चेयर गरेका थिए। जहाँ डा रजनी झा, डा सारदा खड्का, डा कपेन्द्रशेखर अमात्य, डा पेग्राम र डा राजीव झाले आफ्ना केसहरु प्रस्तुत गरेका थिए। ती केसमाथि चिकित्सकीय दृष्टिकोणबाट छलफल भएको थियो।
शनिबार बिहान ८ बजेदेखि सेसन सुरु हुनेछन्। सुरुमा ब्रेस्ट क्यान्सर, त्यसपछि लङ क्यान्सर, जीआई अन्कोलोजी, सपोर्टिभ केयर, जीयु अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा कपेन्द्रशेखर अमात्यले बताएका छन्।
सम्मेलनको चेयर समेत रहेका उनले यस्ता सम्मेलन र छलफलले आमजनमा जनचेतना फैलाउनुका साथै चिकित्सा अभ्यासमा थप निखारता ल्याउने बताए। उनले भने, ‘सम्मेलनमा क्यान्सर उपचारमा संसारमा अभ्यास भइरहेका नवीनतम उपचार प्रविधि, पद्धति र अनुभवका छलफल भइरहेको छ। विभिन्न देश र अस्पतालहरुमा रहेका उपचार गरिरहेका चिकित्सक र अध्येताले एकअर्काबाट ज्ञान आदान-प्रदान गर्न यसको आयोजना गरिएको हो।‘
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको बताए। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।‘
आयोजक विनयतारा फाउन्डेसन अमेरिकामा दर्ता भएको गैर नाफामुखी संस्था हो। फाउन्डेसनले स्वास्थ्य सेवामा न्युन पहुँच भएको दक्षिण एशियाका विभिन्न क्षेत्रमा काम गरिरहेको छ। बोनम्यारो प्रत्यारोपण केन्द्र, होम हस्पिस कार्यक्रम, क्यान्सर स्क्रिनिङ, स्रोतसाधन नपुगेका समुदायका लागि चिकित्सा अनुसन्धान अनुदान जस्ता कुरामा यसले सहयोग गरिरहेको छ।
मधेश प्रदेशको जनकपुरमा २०० बेडको दक्षिण एशियाकै नमुना क्यान्सर उपचार केन्द्र बनाउने लक्ष्य लिएको फाउन्डेसनले जनकपुरमा २५ बेडको अस्पताल सञ्चालन गरिरहेको छ । नेपालको सिभिल अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनामा फाउन्डेसनले महत्वपूर्ण भूमिका छ।
फाउन्डेसनकै अर्थिक सहयोगमा नेपालको बोनम्यारो प्रत्यारोपण केन्द्र टीमलाई सिकागो (अमेरिका)स्थित इलिनोइस विश्वविद्यालयमा तालिम प्रदान गरिएको थियो। नेपालमा मात्रै होइन, भारतको मध्य प्रदेश र दक्षीण अमेरिकामा समेत फाउन्डेसन क्यान्सर उपचार, अनुसन्धान र शिक्षा क्षेत्रमा काम गरिरहेको बताइएको छ।
फाउन्डेसनले अमेरिकामा क्यान्सर सम्मेलन, कन्टिन्यु मेडिकल एजुकेसन (सीएमई) गर्नुका साथै अनलाइन क्यान्सर सीएमई एप अन्कोब्लास्ट समेत सार्वजनिक गरेको छ।