सामाजिक सञ्जाल र अनलाइन समाचारहरूमा एउटा समाचार आइरहेको थियो। प्रायः समाचारको शिर्षक थियो, 'मजदुर अगुवा गौतम मजदुरकै निम्ति लड्दा लड्दै अस्ताए', र केहीमा चाहिँ 'कुलमानको विरोध गर्दै अस्ताए, जिफन्टका उपाध्यक्ष' भनेर लेखिएको थियो। समाचारसँग एउटा भिडियो पनि प्रकाशित भएको थियो, जसमा उहाँ बोल्दै गर्दा नै बेहोस हुनुभएको देखिन्छ।
भिडियोमा उहाँ बोल्दै गर्दा बेहोस हुनु भन्दा केही सेकेन्डअघि दायाँ हातले छेउमा केही वस्तु समात्नुभएको देखिन्छ र सो वस्तु समातेको केही क्षणमै ढल्नु भएको हुन्छ। वरिपरि थुप्रै मानिसहरू रहेका देखिन्छन्। उहाँ बेहोस भइसकेपछि कसैले टाउको, कसैले खुट्टा समातेर बोकेर भिडबाट निकाल्न थालेका छन्। भिडियोमा सुनिनेजस्तै, कसैले 'पानी ल्याउ, पानी!' भनेको सुनिन्छ, अनि कसैले 'गाडी ल्याउ, हाम्रो गाडी ल्याउ!' भनेर पनि चिच्याइरहेको हुन्छ। त्यसपछि उहाँलाई त्यहाँबाट लगिएको देखिन्छ।
भिडियो हेर्दा लाग्छ, यदि त्यहाँ सामान्य प्राथमिक उपचार (First Aid) को ज्ञान भएको व्यक्ति उपस्थित भएको भए, बेहोस भएपछि तुरुन्तै मृत घोषित गर्नु पर्ने थिएन।
त्यसैले यो घटनाले जिफन्टजस्ता राजनीतिक भातृसंस्था, विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी र समुदाय सबैका लागि अब अझ सशक्त रूपमा प्राथमिक उपचार र कार्डियोपल्मोनरी रिससिटेशन (CPR) सिकाउनुपर्ने आवश्यकता औंल्याएको छ।
हिजोको भिडमा यदि तत्काल सीपीआर (CPR) सुरु गरेर अस्पताल पुर्याइएको भए, उहाँलाई बचाउन सकिने सम्भावना उच्च हुन्थ्यो। भिडियोमा सुन्न सकिन्छ, 'पानी छम्किने सम्म त ठिकै हो, तर बेहोस मानिसलाई पानी खुवाउँदा त्यो फोक्सोमा जान सक्छ र मृत्यु अझ छिटो हुन सक्छ।'
त्यसैले अब सीपीआर र प्राथमिक उपचार सम्बन्धी शिक्षा माध्यमिक तहमा अनिवार्य बनाउनुपर्छ।
सरकारी कर्मचारीहरूले लोकसेवा परीक्षा पास गरी नियुक्ति पाउँदा अनिवार्य रूपमा यो तालिम लिनु पर्ने व्यवस्था गर्नुपर्छ। अन्य कार्यालयहरूले पनि हरेक वर्ष एक दिन भएपनि प्राथमिक उपचार तालिम अनिवार्य रूपमा सञ्चालन गर्नुपर्छ। समुदाय तहमा पनि यसबारे सचेतना फैलाउन अत्यावश्यक छ।
आकस्मिक अवस्थामा आवश्यक सीपीआर (Cardiopulmonary Resuscitation) विधि
हृदयघात, निसास्सिने, पानीमा डुब्ने, वा अन्य कारणले श्वास–प्रश्वासमा समस्या आइ बेहोस भएका बिरामीलाई तुरुन्त सीपीआर (CPR) दिन सकिन्छ, जसले ज्यान जोगाउन मद्दत पुर्याउँछ।
पहिलो चरण
घाइते, बिरामी वा बेहोस व्यक्तिलाई सहयोग गर्न वरपरका मानिसलाई आग्रह गर्ने र तुरुन्तै एम्बुलेन्स वा आपतकालीन नम्बरमा सम्पर्क गर्न लगाउने।
दोस्रो चरण
बिरामीलाई ढाडतर्फ सिधा पारेर भुइँमा सुताउने। उठाउँदा टाउको, शरीर र खुट्टा तिर तीन जनाले समातेर सावधानीपूर्वक सुताउने। सतह कडा र समथल हुनुपर्छ।
तेस्रो चरण
- बिरामी साँच्चै अचेत छन् कि भनेर उनको नाम बोलाउने, शरीर हल्लाउने, र रुद्रघण्टीको छेउमा चाल महसुस गर्ने।
- यदि चाल छैन भने तुरुन्त सीपीआर सुरु गर्नुपर्छ, जसले मस्तिष्क र मुटुमा रगत र अक्सिजनको प्रवाह कायम राख्छ।
- अचेत भएको ६ देखि ८ मिनेट भित्र सीपीआर सुरु गर्न सके बिरामीलाई बचाउने सम्भावना धेरै हुन्छ।
चौथो चरण
- छातीको हाडको बिचमा हातको हत्केलाको डिल राख्ने। अर्को हात माथि राखेर औंलाहरू जोड्ने। हात सिधा राख्दै करिब २ इन्च गहिरो र प्रति मिनेट १००–१२० पटक छातीमा दबाब दिनुहोस्।
- यदि आफैँ थकित हुनु भयो भने अर्को व्यक्तिले निरन्तरता दिनु पर्छ।
- छाती थिच्दा करङ भाँचिन सक्छ, तर त्यसले डराउनु पर्ने कारण हुँदैन, हाड पछि जोडिन्छ, तर सीपीआर नदिँदा ज्यान जान सक्छ।
पाँचौं चरण
- चिकित्सक नआएसम्म वा बिरामीले आफैं श्वास फेर्न सुरु नगरेसम्म सीपीआर निरन्तर दिनुपर्छ।
- प्रत्येक ३० पटक दबाब दिँदा पछि बिरामीको चिउँडो अलिकति माथि उठाएर, नाकको प्वाल बन्द गरी मुखमा मुख जोडेर २ पटक लामो श्वास दिनुहोस्।
- यो प्रक्रिया एम्बुलेन्स नआउँदासम्म निरन्तर दोहोर्याउनुपर्छ।
भिडियो हेर्दा पनि बुझिन्छ, यदि तपाईंलाई सीपीआरको तालिम छैन वा यसको विधि स्पष्ट थाहा छैन भने पनि दुई हातले छाती थिच्ने कार्य मात्र गरे पनि ठूलो फरक पार्न सक्छ। त्यसैले यो जीवनरक्षक सीप अब हरेक वडा, समुदाय, माध्यमिक विद्यालय, सरकारी कर्मचारी, प्रहरी, सेना सबैलाई सिकाउनुपर्छ।
त्यस्तै, सहज भाषामा बुझिने श्रव्य–दृश्य सामग्री तयार पारेर सबैको पहुँचमा पुर्याउनु पनि अत्यन्त जरुरी छ।
(डोल्पाका डा उपाध्यय मेडिकल अधिकृत हुन् । )