काठमाडौं- सरकारले नवलपरासी बर्दघाट सुस्ता पूर्वमा जापानीज इन्सेफलाइटिसको संक्रमण उच्च रहेको भन्दै खोप अभियान सञ्चालन गरिरहेको छ।
पछिल्लो पाँच वर्षको संक्रमणको अवस्थालाई हेर्ने हो भने जापानीज इन्सेफलाइटिसको संक्रमण नवलपरासी बर्दघाट सुस्ता पूर्वमा उच्च देखिएकोले फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्म खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतम बताउँछन्।
नियमित खोपका साथै ३५ वर्ष भन्दा माथिको सबै उमेर समुहलाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। खोप अभियान फागुन २९ गतेदेखि चैत्र ५ गतेसम्मका लागि सञ्चालन गरिएको हो।
जापानीज इन्सेफलाइटिसको संक्रमण ३ जनालाई भएमा एक जनाको मृत्यु हुन सक्ने तथ्यांकले देखाएको छ। संक्रमण बढ्दो अवस्थामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग डा गौतम बताउँछन्। उक्त खोप अभियानको लक्षित उमेर समूह ३५ वर्ष र सो भन्दा माथि उमेरका सबै भएको उनले जानकारी दिए।
३ वर्षमा कतिले गुमाएले ज्यान?
जापानीज इन्फेसलाइटिसका कारण सन् २०२३ मा ७, २०२४ मा ३२ र २०२५ को हालसम्म ३५ जनाले ज्यान गुमाइसकेका छन्। शाखाका अनुसार सन् २०२५ मा १७९ जनामा जापानीज इन्फेसलाइटिसको संक्रमण हुँदा ३५ जनाको मृत्यु भएको हो।
डा गौतम पछिल्लो समय यो डेंगुभन्दा पनि घातक रुपमा देखिएको बताउँछन्। उनका अनुसार तराई क्षेत्रमा यसको संक्रमणबाट बढी मृत्यु हुने गरेको छ।
प्रदेशगत रुपमा हेर्ने हो भने मृतकको संख्या लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ। त्यहाँ मात्र जापानीज इन्फेसलाइटिसका कारण ११ जनाको मृत्यु भएको शाखाले जनाएको छ।
कुन प्रदेशमा कति?
सन् २०२५ मा देशभरका ४५ जिल्ला र ११९ नगरपालिकामा जापानीज इन्सेफलाइटिसको संक्रमण देखिएको थियो। कोशी प्रदेशका ६ जिल्ला तथा १८ नगरपालिकामा संक्रमितहरु भेटिएकोमा ५ जनाको मृत्यु भएको हो।
मधेश प्रदेशका ७ जिल्ला १७ नगरपालिका, बागमती प्रदेशका ६ जिल्ला तथा १३ नगरपालिका, गण्डकी प्रदेशको ७ जिल्ला तथा १९ नगरपालिका, लुम्बिनी प्रदेशको ११ जिल्ला तथा ३३ नगरपालिका, कर्णाली प्रदेशका ३ जिल्ला र ८ नगरपालिका, सुदुरपश्चिम प्रदेशका ५ जिल्ला तथा ११ नगरपालिकामा संक्रमित भेटिएका थिए।
के हो जापानीज इन्सेफलाइटिस?
जापानीज इन्सेफलाइटिस नामक भाइरसबाट मानिसमा लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। सुँगुर, हाँस जस्ता जनावरलाई टोकेको लामखुट्टेले मानिसमा सार्छ। यो रोग कृषि पेशामा निर्भर मानिसहरुमा धेरै लाग्ने गर्छ।
सुँगुर र हाँसमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन्। ती जनावरलाई टोकेको क्युलेक्स नामक लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउँछ। यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्छ। मस्तिष्कलाई असर गरेपछि ज्वरो आउने, घाँटी बस्ने, टाउको दुख्ने, जीउ काम्ने र छारेरोग लागेको जस्तो लक्षण देखापर्ने हुन्छ।
कसरी जोगिने?
खोप लगाउने।
लामखुट्टेको टोकाइबाट बच्ने ।
सुत्दा सधैं झुलको प्रयोग गर्ने।
झ्याल र ढोकामा जाली लगाउने।
साँझ र बिहानीपख बाहिर निस्कँदा शरीर पूरै ढाक्ने गरी लामो बाहुला भएको लुगा लगाउने।
लामखुट्टेको वृद्धि रोक्ने
घर वरिपरि खाल्डाखुल्डीमा पानी जम्न नदिने।
पानी ट्याङ्की वा भाँडाहरू छोपेर राख्ने।
सरसफाइ र सावधानी
सुँगुर, बंगुर र पन्छी पाल्ने ठाउँलाई घरभन्दा टाढा राख्ने र सफा राख्ने।
लामखुट्टे भगाउने धुप वा क्रिमहरू प्रयोग गर्ने।
यदि कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी कडा हुने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ।