काठमाडौं- महिलामा बढ्दो स्तन तथा पाठेघरको मुखको क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गरी उपचार सहज बनाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँग सहकार्य सुरु गरेको छ।
सोमबार महानगरको उपस्थितिमा दुवै पक्षबीच निःशुल्क परीक्षण र प्रारम्भिक उपचार सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको हो। सम्झौतामा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार आगामी १६ चैतदेखि वीर अस्पतालबाट सेवा सुरु हुनेछ। दैनिक करिब १०० देखि १२० महिलासम्मलाई परीक्षण गर्ने लक्ष्य राखिएको छ। महानगरले क्यान्सरको जोखिम समयमै पत्ता लगाई उपचारलाई प्रभावकारी बनाउने रणनीतिअनुसार यो कार्यक्रम अघि बढाएको जनाएको छ।
कार्यवाहक प्रमुख सुनिता डंगोलले सेवाको पहुँच, सहजता र व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएकी छन्। उनले कामकाजी महिला, गृहिणी तथा फरक क्षमताका महिलाले समेत सहज रूपमा सेवा लिन सक्ने वातावरण बनाउन जोड दिइन्। “नियमित परीक्षण क्यान्सरबाट बच्ने महत्वपूर्ण उपाय हो,” उनले भनिन्, “यससम्बन्धी भ्रम हटाउँदै जनचेतना बढाउनु आवश्यक छ।”
अस्पतालका निर्देशक शर्माले भने लक्षण नदेखिँदै परीक्षण गराउने बानीको अभावका कारण धेरै बिरामी ढिलो अवस्थामा आउने गरेको बताए। उनले गत वर्षको अनुभवका आधारमा यस वर्ष सेवा अझ प्रभावकारी बनाइने जानकारी दिए।
कार्यक्रम अन्तर्गत ३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष परीक्षणबाट छुटेका तथा पोजेटिभ देखिएका महिलालाई प्राथमिकतामा राखिएको छ।
परीक्षणमा सहभागी हुन इच्छुक महिलाले पहिले नजिकको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नाम दर्ता गराउनुपर्नेछ। त्यहाँबाट प्राप्त रेफरल स्लिपअनुसार तोकिएको मिति र समयमा अस्पताल पुग्नुपर्ने व्यवस्था गरिएको छ।
स्तन क्यान्सर परीक्षणमा प्रारम्भिक रूपमा क्लिनिकल जाँच गरिनेछ। शंका लागेमा अल्ट्रासाउन्ड र आवश्यक परे मेमोग्राफीसम्मको प्रक्रिया अघि बढाइनेछ। त्यस्तै पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन एचपीभी डीएनए परीक्षण गरिनेछ। रिपोर्ट पोजेटिभ आएमा थप परीक्षणका रूपमा कल्पोस्कोपी र बायोप्सी गरिने जनाइएको छ।
महानगरले यो अभियानमार्फत महिलामा क्यान्सरसम्बन्धी चेतना अभिवृद्धि गर्दै प्रारम्भिक पहिचान र उपचारलाई व्यापक बनाउने लक्ष्य राखेको छ।