काठमाडौं- नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजले आयुर्वेद चिकित्सा परिषद् नेपालको प्रस्तावित निर्वाचन स्थगन गर्न माग गरेको छ।
समाजले परिषद्ले २०८२ फागुन १५ गते प्रकाशित गरेको निर्वाचनसम्बन्धी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्कालका लागि सम्पूर्ण निर्वाचन प्रक्रिया रोकिनुपर्ने जनाएको हो।
समाजका अनुसार परिषद्को वर्तमान संरचना तथा ऐनमा सबै तहका आयुर्वेद चिकित्सक र स्वास्थ्यकर्मीको समुचित प्रतिनिधित्व सुनिश्चित नभएको अवस्था छ। परिषद्को नामअनुसार नै समावेशी संरचना आवश्यक भए पनि विद्यमान कानुनी व्यवस्था त्यसअनुरूप नदेखिएको समाजको भनाइ छ।
यस्तै, परिषद्ले ऐन संशोधनका लागि समिति गठन गरी मस्यौदा तयार पार्ने प्रक्रियामा रहेको उल्लेख गर्दै समाजले सो मस्यौदालाई छिटो टुंग्याएर संशोधित ऐनअनुसार मात्रै निर्वाचन गरिनुपर्ने धारणा राखेको छ।
समाजले ऐन संशोधनपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउँदा प्रतिनिधित्व र अपनत्व दुवै सुनिश्चित हुने दाबी गरेको छ। त्यसैले हालको अवस्थामा निर्वाचन प्रक्रिया स्थगन गरी संशोधित ऐन लागू भएपछि मात्रै निर्वाचन गराउने व्यवस्था मिलाउन आग्रह गरिएको छ।