बच्चा जन्मदा टाउको निकै ठूलो हुने, कसैको टाउको नहुने, ढाडमा पानीले भरिएका पोका हुने, ढाड नहुने, कसैको पुच्छरजस्तो थप अंग निस्कने जस्ता समस्या देखिने गर्छन्। नेपालका दुर्गम क्षेत्रमा यस्ता समस्या सहित जन्मिएका बच्चा भेटिने गरेका छन्।
नेपालमा जन्तजात यस्ता समस्या लिएर जन्मने बच्चा कति छन् भन्ने यकिन तथ्यांक त छैन । तर, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्ने दौरानमा महिनामा दुईदेखि तीन वटा यस्ता बच्चा जन्मिने गरेको फेला पारेको छु । धेरैजसो त यस्ता समस्या भएका बच्चा मृत नै जन्मिने गरेका छन् । तर, जो जिवित छन् उनीहरुमा पनि धेरै समस्या छ ।
यो समस्यालाई ‘न्युरल ट्युब डिफेक्ट’ भनिन्छ । यो आमाको गर्भ रहेको समयमा भ्रुणको विकास क्रममा स्नायु प्रणाली बन्ने प्रक्रियामा आउने अवरोधले निम्त्याउने समस्या हो । भ्रुणमा शरीरको स्नायु प्रणाली बन्ने क्रममा टाउकोदेखि शरीरको पिठ्युँसम्म एउटा ट्युब बन्ने प्रक्रिया हुन्छ । भ्रुणको विकाससँगै त्यो ट्युबबाट नै शरीरका अरु अंग बन्दै जाने हुन्छ । त्यही ट्युबमा समस्या आउँदा बच्चामा जन्मजात खोट देखिने गरेको हो ।
भ्रुणको विकासक्रममा विभिन्न कारणले उक्त ट्युबको तलदेखि माथिसम्म जहाँ पनि समस्या आउन सक्छ । ट्युबको जहाँ समस्या छ, बच्चा जन्मदा उसमा त्यहीँ खोट देखिन्छ।
यो समस्या वंशाणुगत, फोलिक एसिडको कमी लगायतका कारण हुन्छ । यसका अन्य कारणको पनि खोजी भइरहेको छ । तर, जुम्लामा देखिएको धेरै समस्या भने फोलिक एसिडकै कमीका कारण हो । गर्भमा रहेको भ्रुणमा न्युरल ट्युब बन्नेबेलामा फोलिक एसिडको महत्वपूर्ण भूमिका हुन्छ । आमाको शरीरमा फोलिक एसिडको मात्रा कम भयो भने यस्ता समस्या देखापर्ने हुन्छ । खानाबाट वा सप्लिमेन्टबाट फोलिक एसिडको मात्रा पर्याप्त रुपमा पुग्न सकेन भने ‘न्युरल ट्युब डिफेक्ट’ देखिने गर्छ ।
यस्तो डिफेक्ट हुनुको कारण फोलिक एसिड मात्रै भने होइन । जेनेटिक वा अरु कारणले पनि यस्ता समस्या देखिन सक्छन् । तर, मुख्य रुपमा यसको कारण ‘फोलिक एसिड डिफिसियन्सी’ नै हो । हामीले यसबारे सम्बद्ध निकायसँग कुराकानी पनि गरिरहेका छौं ।
जुम्लामा यो समस्या समाधानका लागि विशेष कार्यक्रम बनाउनुपर्ने देखिन्छ । सरकारले गर्भवती महिलालाई निःशुल्क फोलिक एसिड चक्की वितरण गरिरहेको छ । त्यो जानकारी यहाँका महिला तथा परिवारमा पुर्याउन जरुरी छ । गर्भवती हुनुभन्दा दुई महिना अघिदेखि नै यस्ता चक्की खुवाउनुपर्छ। फोलिक एसिड चक्की खुवाउने विषयमा दुर्गम क्षेत्रमा अभियान नै चलाउनुपर्ने देखिन्छ । जुम्लामा मात्र होइन, यहाँ उपचारका लागि आउने महिलालाई हेर्दा कर्णालीका सबै जिल्ला र अन्य दुर्गम जिल्लामा यस्ता समस्या छ । ती क्षेत्रमा पनि चेतना फैलाउन जरुरी छ।
फोलिक एसिड खुवाउने जस्तो सामान्य कुरामा ख्याल नगर्दा ठूलो दुर्घटना भइरहेको छ । यसलाई रोक्न आवश्यक छ । महिलालाई गर्भवती हुनु एक÷डेढ महिना अगाडिदेखि गर्भवती भएको तीन महिनासम्म यो चक्की दिने हो भने धेरै बच्चा जोगाउन सकिन्छ ।
न्युरल ट्युब डिफेक्टका पनि चरणहरु हुन्छन् । त्यसको स्वरुप कति गम्भीर छ त्यसमा भर पर्छ । टाउकोमा ठूलो समस्या छैन, शरीरमा ट्युमर मात्रै छ भने जन्मेपछि उपचार गरेर निको पार्न सकिन्छ । तर, धेरैजसो डिफेक्टमा भने बच्चाहरु मृत अवस्थामा नै जन्मिरहेका हुन्छन् । ढाडमा पानीका फोका लिएर जन्मनेहरु शल्यक्रियापछि प्लारालाइसिस हुने खतरा रहन्छ ।
यसका साथै ट्युबमा भएको समस्याका आधारमा बच्चाहरुमा दिसापिसाव पनि नियन्त्रण गर्न नसक्ने समस्या आउन सक्छ । किनभने दिसापिसाव नियन्त्रणको संकेत गर्ने नसाहरु पनि त्यही ठाँउबाट आएका हुन्छन् । लामो समयको अपांगता हुनसक्ने खतरा रहन्छ । यस्तो खतरालाई साधारण फोलिक एसिडको प्रयोगले बचाउन सकिन्छ ।
कतिपय विकसित मुलुकमा फोलिक एसिडलाई खानामै सप्लिमेन्ट गरेर दिइन्छ । तर, हाम्रोमा भने त्यो व्यवस्था नभएकाले स्वास्थ्य चौकीमार्फत नै फोलिक एसिडको ट्याब्लेट वितरण गर्ने योजनालाई आक्रामक रुप दिन जरुरी छ । खास गरेर केही खानाहरु अन्डा, माछाहरुमा फोलिक एसिड पाइन्छ। एउटै खानामा फोलिक एसिड नहुने भएकाले सप्लिमेन्ट दिने गरिएको हो ।