काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्।
ललितपुरको ग्वार्कोस्थित एक होटलमा जारी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आकस्मिक अवस्थाबाहेक सरकारी अस्पतालमा उपचार गर्न सुझाव दिएका हुन्।
उनले भने, 'सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस्। सक्नु भएन इमर्जेन्सीको बेलामा मैले भनेको छैन। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन। त्यो महसुस गर्न सक्नुपर्छ।'
लामिछानेले पार्टी स्थापना भएको चार वर्ष पनि नपुग्दै विविध पृष्ठभूमिका व्यक्तिहरू पार्टीमा आवद्ध भएको उल्लेख गरे। उनले जनताले दिएको जिम्मेवारीलाई गम्भीरतापूर्वक ग्रहण गर्न सांसदहरूलाई आग्रह गरे।
उनले नेपाली जनताले इतिहासमा कसैलाई नगरेको विश्वास यसपटक आफूलाई गरेको उनले बताएका छन्। उनले सांसदलाई त्यो जिम्मेवारीलाई महसुस गर्न पनि निर्देशन दिएका छन्।