काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री चयनको विषयमा हतारमा अनुमान नगर्न आग्रह गरेका छन्। उनले मिडियामा आफूलाई मन्त्रीका रूपमा प्रस्तुत गर्ने वा 'म फलानो मन्त्री' भन्ने प्रवृत्ति रोक्न नेताहरूलाई चेतावनी दिएका हुन्।
लामिछानेले पार्टीले अझै क्याबिनेटमा कसलाई पठाउने भन्ने निर्णय नगरेको स्पष्ट पार्दै सही समयमा उचित निर्णय हुने बताए। 'अहिलेसम्म केही पनि निश्चित भएको छैन, पार्टीले क्याबिनेटमा कसलाई पठाउने भन्ने निर्णय गरेका छैनौं,' उनले भने।
उनले पार्टीभित्र रहेका सदस्यहरूको क्षमता र विज्ञताको प्रशंसा गर्दै केही अगाडि देखिएका र केही पछाडि रहेका सबैलाई समान रूपमा मूल्याङ्कन गरिरहेको बताए। 'कहिलेकाहीँ धेरै देखाउन खोज्दा पनि देखिँदैन, र लुकाउँदा पनि देखिन्छ-क्षमता त्यस्तो कुरा हो,' उनले भने।
लामिछानेले रास्वपाभित्र विभिन्न क्षेत्रका 'एक से एक' विज्ञहरू रहेको दाबी गर्दै सञ्चारकर्मीलाई उनीहरूतर्फ पनि ध्यान दिन आग्रह गरे। उनले राजसभाभित्र रहेका विज्ञ सदस्यहरूको उपस्थिति औंल्याउँदै क्यामेराको फोकस फराकिलो बनाउन आग्रह गरे।
उनका अनुसार, सार्वजनिक रूपमा चिनिएका अनुहार मात्रै होइन, अन्य सक्षम व्यक्तिहरूलाई पनि नागरिकसमक्ष चिनाउन आवश्यक छ। 'नागरिकले थाहा पाउनुपर्छ कि रास्वपाभित्र यस्ता सक्षम व्यक्तिहरू पनि छन्,' उनले भने।