हामीले खाएको खाना अन्ननलीबाट आमाशय, सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलाशयबाट बाहिर निस्कन्छ, जसलाई पाचन प्रणाली भनिन्छ। यसक्रममा खानामा भएका पोषक तत्व शरीरले लिन्छ भने बाँकी फोहोर बाहिर निस्कन्छ। पाचन प्रक्रियामा कलेजो, पित्तनली, पित्तथैली र प्यांक्रियाजले पनि सहयोग गर्छन्।
पाचन प्रणालीका यी कुनै पनि अंगमा क्यान्सर हुनसक्छ। नेपालमा आमाशय, ठूलो आन्द्रा, कलेजो तथा प्यांक्रियाजमा हुने क्यान्सर बढी पाइन्छ।
ठूलो आन्द्रामा हुने क्यान्सर धेरैजसो खानपानसँग सम्बन्धित हुन्छ। धेरैमात्रामा जनावरजन्य बोसो भएका तथा धेरै प्रिजर्भेटिभ हालेका खानेकुरा, मोटोपनजस्ता कुराले क्यान्सरको जोखिम बढाउँछन्। खानामात्र नभई वंशाणुगत रुपमा पनि क्यान्सर हुने सम्भावना हुन्छ। यस्तै, ठूलो आन्द्रामा हुने सुजन ‘इन्फ्लामेटोरी बावल डिजिज’ र मासु पलाउने रोग (कोलोनिक पोलिप) पनि केही वर्षपछि क्यान्सरमा परिणत हुने सम्भावना हुन्छ।
कस्ता लक्षण देखिन्छन् ?
दिसामा रगत देखिन सक्छ। अधिकांश बिरामी दिसामा रगत आयो भने पायल्स भयो भनेर जडिबुटी औषधि खाएर घरमै बसिरहेका हुन्छन्। तर, दिसामा रगत देखिनु सामान्य होइन, असामान्य हो भनेर बुझ्नुपर्ने हुन्छ।
दिसामा रगत आउनेबित्तिकै ठूलो रोग नहुन पनि सक्छ। तर, जाँच नै नगरी यस्तो हो भनेर भन्न मिल्दैन। ठूलो आन्द्राको दाहिने भागतिर क्यान्सर हुनेहरुमा रगतको कमी (एनिमिया) भई हिँड्दा थकाइ लाग्ने, सेतो भएर जानेजस्ता लक्षण देखिन्छन्, जुन परीक्षणबाट मात्र कारण थाहा हुन्छ। कसै–कसैमा अन्य रोगको परीक्षण गर्दा आन्द्राको क्यान्सर थाहा लाग्ने हुन्छ।
जाँच कसरी?
ठूलो आन्द्रामा क्यान्सर भएको छ कि छैन भनेर पत्ता लगाउने प्रमुख उपाय भनेको ‘कोलोनोस्कोपी’ हो। यसमा दिसा गर्ने ठाउँबाट ठुलो आन्द्राभित्र मेसिनको सहायताले हेरिन्छ, जसबाट आन्द्रामा मासु पलाएको वा घाउ छ कि छैन भनेर थाहा हुन्छ र रोग यकिन गर्न बायोप्सी (मासु जाँच) लिइन्छ। यसबाट धेरैजसो अवस्थामा क्यान्सर छ वा छैन पत्ता लाग्दछ।
ठूलो आन्द्राको क्यान्सर धेरैजसो ५० वर्षभन्दा माथिको उमेर समूहलाई लाग्न सक्छ। तर, वंशाणुगत कारण हुनेहरुमा कम उमेरकामा पनि देखिन्छ।
उपचार प्रक्रिया के हुन्छ?
क्यान्सर पत्ता लागेपछि यो रोग आन्द्रामै सीमित छ कि या आन्द्राबाट बाहिर फैलिएको छ भनेर जाँच गरिन्छ। त्यसका लागि पेट तथा छातीको सीटी स्क्यान तथा रगत जाँच गरेर हेरिन्छ। कुनै अवस्थामा एमआरआइ पनि गरिन्छ। त्यसपछि रोगलाई वर्गिकरण गरिन्छ। शल्यक्रिया गर्नुपर्ने कि किमोथेरापी दिने हो अथवा शल्यक्रियापछि किमो दिने हो भनेर निक्र्यौल गरिन्छ। त्यसका आधारमा उपचार सुरु गरिन्छ।
पेटसम्बन्धी समस्याको परीक्षण, उपचार तथा शल्यक्रियालगायतका सम्पूर्ण सेवाका लागि नर्भिकमा ‘डाइजेस्टिभ डिजिज सेन्टर’ छ। यसअन्तर्गत फिजिसियन ग्यास्ट्रोेइन्टेरोलोजिस्ट, ग्यास्ट्रोइन्टेसटाइनल सर्जरी (सर्जरी) तथा अंकोलोजीको विशिष्ट सेवा उपलब्ध छ। ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी विभागमा आन्द्राको अपरेशन गरेर क्यान्सर लागेको भागलाई निकाली फालिएको भागमा रोग नभएको आन्द्रा जोड्ने लगायतका सुविधा उपलब्ध छ। किमोथेरापी दिन अंकोलोजिस्ट हुनुहुन्छ भने रोगको स्क्रीनिङ गर्ने, पत्ता लगाउने तथा कोलोनोस्कोपी गर्ने कामचाहिँ मेडिकल ग्यास्ट्रोइन्टेरोलोजिस्टले गर्नुहुन्छ। यी सेवा धेरै वर्षदेखि नर्भिकमा उपलब्ध छ। यसका साथै दुरबिनको सहायताले पनि शल्यक्रिया गरिन्छ भने कतिपयलाई पारम्परिक रुपमा चिरेरै शल्यक्रिया गर्नुपर्ने हुनसक्छ। अर्थात्, बिरामीको अवस्था हेरेर आन्द्राको क्यान्सरका लागि आवश्यक सबै खालका उपचार सेवा नर्भिकमा उपलब्ध छ।
क्यान्सर हुन नदिन के गर्ने ?
स्वस्थ जीवनशैली नै क्यान्सर हुन नदिने महत्वपूर्ण उपाय हो। यसका लागि बोसोयुक्त खानेकुरा कम गर्ने तथा मोटोपन घटाउनेजस्ता उपाय गरियो भने क्यान्सर हुने जोखिम केही हदसम्म कम गर्न सकिन्छ। तर, सबैकुरा खानपानमात्र होइन, ५० वर्षमाथिका व्यक्तिमा स्क्रीनिङ गर्नुपर्छ। विदेशमा बढी क्यान्सर देखिने उमेर समूहलाई स्क्रीनिङ गर्ने गरिए पनि नेपालमा छैन। त्यसैले दिसामा रगतजस्ता लक्षण देखिए आवश्यक परीक्षण गरेर पत्ता लगाउनुपर्छ। यस्तै, वंशाणुगत रुपमा हुने क्यान्सर रोक्न नसकिए पनि सचेत हुन र जोखिम कम गर्न सकिन्छ। सुरुकै स्टेजमा पत्ता लाग्यो भने आन्द्राको क्यान्सर पनि निको हुनेमा पर्छ।
-(डा. पौडयाल नर्भिक अस्पतालका जीआई (ग्यास्ट्रोइन्टेस्टाइनल) सर्जन हुन्)