काठमाडौं– मानव अंग प्रत्यारोपण केन्द्र प्रशासनले गरेको मनोमानी विरुद्ध नर्सहरुले आन्दोलन चर्काएपछि केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ स्थानीय पार्टी नेताको ओत लाग्न पुगेका छन्। स्थानीय पार्टी नेताहरुलाई प्रभावमा पार्दै श्रेष्ठले आन्दोलनमा लागेका र साथ दिनेलाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयमा पत्र लेखेका छन्।
आन्दोलन चर्केपछि विभिन्न पार्टीका केन्द्रीय नेतालाई प्रभावमा लिन उनले सम्मान लगायतका कार्यक्रम राखेका थिए। तर, विवाद चलिरहेका कारण दलहरुका केन्दीय नेताहरुले अस्पताल पुगेर सम्मान थाप्न अस्वीकार गरेपछि उनी स्थानीय नेताको शरणमा पुगेका हुन्।
मन्त्रालयको छानबिनमाथि हस्तक्षेप
प्रत्यारोपण केन्द्रमा देखिएको समस्याबारे स्वास्थ्य मन्त्रालयले छानबिन गरिरहेको छ। तर, मन्त्रालयको छानबिनमा हस्तक्षेप गर्दै उनले केन्द्रको समस्या मन्त्रालयले नभई ‘स्थानीय राजनीतिक र प्रशासनको सहयोगमा समाधान गर्ने’ निर्णय गराएका छन्।
यति मात्र नभई शान्तिपूर्ण विरोधमा साथ दिइरहेका प्रत्यारोपण केन्द्रकै कर्मचारीहरुलाई पनि उनले कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा पत्र लेखेका छन्। नर्सहरुमाथि भएको अन्याय विरुद्ध आवाज उठाउने विभिन्न संघसंस्था र ट्रेड युनियनका कर्मचारीलाई पनि कारबाही गर्न मन्त्रालयलाई भनेका छन्।
अस्पतालका निर्देशक डा श्रेष्ठले पूर्वाग्रह राखेर निष्कासन गरेका नर्सले शान्तिपूर्ण रुपमा विरोध गर्न नपाउने वातावरण सिर्जना गराउने खालका निर्णय समेत गराएका छन्। विरोध कार्यक्रम रोक्न ‘राजनीतिक दलहरुले आवश्यक पहल गर्ने’ निर्णय गराएर यसैका आडमा गुन्डाको प्रयोग हुन सक्नेमा नर्सहरु सशंकित बनेका छन्।
