अाजबाट तीन दिनसम्म २४ जिल्लामा औषधि खुवाउने काम हुन्छ। यी जिल्लाका ९१ लाख जनसंख्यालार्इ औषधि खुवाउने लक्ष्य छ। यसकालागि अावश्यक औषधि, जनशक्ति खटिइसकेका छन्। नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा पर्छन्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ। जसमध्ये ३७ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेका छन्। हात्तीपाइले रोगको प्रसार दर (प्रिभिलेन्स रेट) १ भन्दा कम भएकाले ३७ जिल्लामा औषधि खुवाउने कार्यक्रम फेजआउट भएको हो। यी जिल्लालाइ जोखिममुक्त जिल्ला भनिन्छ।
रोगको प्रिभिलेन्स दर १ भन्दा कम भएमा उक्त क्षेत्रलाई निवारणउन्मुख क्षेत्र भन्न सकिन्छ। तर प्रिभिलेन्स दर १ भन्दा माथि रहेका २४ वटा जिल्लामा यो वर्ष औषधि खुवाइन लागिएको हो।
ती जिल्ला पाँचथर, ईलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्चुला बैतडी, डडेलधुरा र कञ्चनपुर हुन्।
तीन दिने कार्यक्रम अन्तर्गत पहिलो दिन ती जिल्लाका हरेक गाउँगाउँ र टोलटोलमा सबैको पायक पर्ने स्थानमा बुथ राखेर औषधि खुवाउने काम हुनेछ। औषधि सेवन तालिमप्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकको प्रत्यक्ष निगरानीमा मात्र हुनेछ। दोस्रो र तेस्रो दिनमा भने घरदैलो कार्यक्रम हुनेछ। औषधि खान कोही पनि नछुटुन् भनेर स्वास्थ्यकर्मी र स्वयंसेवकहरुले घरघरमा गएर औषधि खुवाउनेछन्।
केही थोरै समूह बाहेक यो औषधि सबैले खान मिल्छ। तर, यो औषधि खाली पेटमा भने खानु हुँदैन। दुई वर्षमुनिका बालबालिका, गर्भवती, सात दिनसम्मको सुत्केरी, ७० वर्षभन्दा माथिका वृद्धबृद्धा (अवस्था हेरेर), विभिन्न रोका कारण थला परेका, दीर्घरोगका कारण धेरै औषधि सेवन गरिरहेकाहरुले यो औषधि खानु हुँदैन। यसका साथै उमेर समूह अनुसार औषधि दिनुपर्ने हुन्छ। दुई देखि पाँच वर्षसम्मका बालबालिकालाई डाइइथाइलकार्बामाजिन र अल्बेन्डाजोल एक÷एक चक्की, ६ देखि १४ वर्षका लागि डाइइथाइलकार्बामाजिन दुई चक्की र अल्बेन्डाजोल एक, १५ वर्षभन्दा माथिकालाई डाइइथाइलकार्बामाजिन तीन चक्की र अल्बेन्डाजोल एक चक्की खान दिनुपर्ने हुन्छ। अभियानमा खटिनेले सबैलाई यो जानकारी दिएर मात्र प्रत्यक्ष निगरानीमा औषधि खान लगाउँछन्।