घटस्थापना। बिदाको रमाइलो दिन। दसैं प्रारम्भ हुँदाको तिथि। जमराले अस्तित्व पाउने दिन। खुसी र उमंगको चाड। स्कुल पढ्दाका दिनहरु झल्झल्ती याद आउने कहिलेकसो अचेल! तम्घासबाट एक दिनको बाटो हिँडेका दिनहरु स्मृतिमा मेटिएका छैनन्।
पहाड घर जाँदा साह्रै रमाउने मन हुन्थ्यो। रौँदीको उकालो चढ्दा आसिनपसिन हुन्थ्यो। साँझमा घर पुगिन्थ्यो। समयसँगै बिस्तारै बिदा घट्दै गए। हेर्दाहेर्दै घटस्थापनाबाट सर्दैसर्दै सप्तमी कि अष्टमीमा घर जाने दिन आए। जति बिदा कटौती भए पनि देशको प्रगति त उस्तै होला!
समय बित्दै गए। ऋतु फेरिँदै गए। दसैंहरु आउँदै जाँदै गरे। दसैं त सधैं उस्तै त हो। शरद ऋतुमा सधैं आउँछ अनि जान्छ पूरा चहलपलसाथ। मेरो लागि न त यो चाड पर सर्छ न त अगाडि। न अरु कसैका लागि। परिवर्तन त केबल आफ्नो अवस्था र परिस्थितिमा हुने रहेछ। ।
बिदाका दिन कट्दै कट्दै अचेल शून्य भएको छ। पहिले पहिले छुट्टीमा घर गइन्थ्यो। अचेल छुट्टीमा घरबाट छुट्टी माग्नुपर्छ।
OOO
'कहिलेको टिकेट लिइस् त बाबु?' घरबाट आमाले फोन गर्नुहुन्छ बिहानै। पूरा आशाका साथमा।
'छुट्टी मिल्दैन ममी। आउन सकिन्न जस्तो छ,' म भन्छु। पूरा मलिन स्वरका साथमा।
'पाँच दिनको छुटी मिलाउनु जसरी भए पनि। भैरवस्थान जानुपर्छ सपरिवार। धेरै वर्ष भयो जाने भनेको,' दृढताका साथ स्वर सुनिन्छ।
'मिल्दैन ममी। छुट्टी भन्ने हुँदैन। काम छोड्न मिल्दैन। नाइट ड्युटी आदि छन्। तिहार र दसैंमा एउटा रोज्नुपर्ने अवस्था छ,' म आफ्नो अवस्था सुनाउँछु।
'मिलाएसि जे पनि मिल्छ। जसरी भए पनि मिलाउनू,' पूर्ण आदेशसरह सुनिन्छ अब। अब बुझाउन खोजेर सफल भइन्छ जस्तो लागेन।
'मिल्यो भने आउँछु' भनेर वार्तालाप मोड्छु। अरु कुरा गरेर फोन काट्छु। मिल्ने त कुनै हालतमा थिएन।
दसैं नजिकिँदै गर्दा यो गतिलो जिनिस पढिएछ जस्तो लाग्दैन हरेक वर्ष । चाडपर्व दिनरात भन्न नपाइने तर सबैलाई सानैदेखि चाखलाग्ने जिनिस रहेछ डाक्टर। रहर लागेर नै पढेको हो। अब जे छ त्यसलाई आत्मसात गर्नुको विकल्प त छैन।
छोराछोरी डाक्टर भयो भनेर खुसी हुने मनहरु कति धेरै छन्। चाडपर्व आउँदा मलिन हुन्छन्। तर अरुले लगाएको जुत्ता कत्तिको सजिलो छ भन्ने कुरा आफैं नलगाएसम्म बुझ्न सकिन्छ जस्तो लाग्दैन। कागजमा मात्रै मिति मिलाएर ड्युटी गर्न नमिल्ने। के गर्नु? न दसैंको ड्युटी पछि गर्दिन्छु भनेर हुने। दसैंमा नागरिकता नबाँडे पनि हुन्छ। प्रशासन बन्द भए पनि केही फरक पर्दैन। बैंक पनि बन्द भए हुन्छ। केही दिन ढिला भएर केही हुँदैन। तर दसैंमा मान्छे बिरामी हुन्नन् भन्ने छैन। सिकिस्त हुदैनन् भन्ने पनि छैन।
अमेरिका भएको छोराछोरीको आशाभन्दा नेपालभित्रै बढी आशा हुनु स्वाभाविक नै हो। यति सानो नेपालमा पनि दुई सय किमि तय गर्न एक दिन नै लाग्छ। बुलेट ट्रेन हुन्थ्यो त बिहान बेलुका घरबाट आउन सकिन्थ्यो होला। भविष्यमा कल्पनामा रमाउनुबाहेक अहिले कुनै उपाय छैन।
सानोमा रामायण र महाभारत धेरै हेरिएछ। त्यसैले कहिले कसो त जादु र चमत्कारले चुट्की भरमा सबै समस्या समाधान गरेको कल्पना गर्न मन लाग्थ्यो । आज पनि मलाई कल्पनामा डुब्न मन लाग्छ। नारदमुनिले श्री कृष्णले त्यति धेरै गोपिनीलाई समय कसरी दिन्छन् त भनेर खोजिनिती गर्दा हरेक गोपिनीसँग एकै समयमा कृष्ण पाएका थिए रे।
हजारौँ अवतार लिएर सबैसँग एकैसाथ समय व्यतित गर्न सक्थे रे। भगवान् राम पनि सबै प्रजाका घरमा एकैपटक पुग्थे रे। मलाई पनि दुई जना मात्र हुन सके त काम नै फत्ते हुने। आँखा चिम्लिन्छु। ध्यान गर्छु। दृढ इच्छा गर्छु। र, आँखा खोल्छु। सबै उस्तै छ। म एउटै छु। आँखा चिम्लिँदैमा सिरियलमा जस्तो चमत्कार के हुन्थ्यो र!
OOO
'के छ बाबु। आउने भइस्,' बुवाको फोन आउँछ।
'उम्। आउन सकिन यसपटक। पेसा नै त्यस्तै पर्यो,' म भन्छु बाध्यता झल्काउँदै।
'त्यसो भनेर कहाँ हुन्छ। यतिका महिना भइसक्यो। दसैंमा त आउनुपर्यो । व्यक्तिगत जीवन मिलाउन नसके त सन्तुलन बिग्रिन्छ,' दिव्यज्ञान दिन खोज्दै हुनुहुन्छ बुवा।
व्यक्तिगत जीवनको स्वाद कस्तो हुन्छ! तीन वर्ष भइसक्यो त्यति मजाले चाख्न पाएको छैन। खानाको सन्तुलन मिलाउन त हम्मे हम्मे हुन्छ।
'अब नमिल्ने कुरामा के कुरा गर्नु। ९९ प्रतिशत म आउन सक्दिन, बुवा...' म भन्छु निराशाका साथ।
यी कुराहरु सोच्दै थिएँ। सम्झना हुन्छ झट्ट। आज त मेरो मनप्रिय साथी प्युठान जान लागेको दिन। स्वास्थ्य शिविर सञ्चालन गर्न र घुम्न। उनलाई भनेको त थिएँ हिँड्ने बेला कल गर्नु भनेर। सायद उनले बिर्सिछन् होला। मैले अलिक ढिला सम्झिएँ। उत्तिखेर कल गर्ने प्रयास गरेँ। फोन लागेन। अनि मेसेज गरेँ– शुभ यात्रा।
हिँड्ने बेलामा प्रार्थना र शुभकामना गर्यो भने भगवानको खातामा पुग्छ रे सुरक्षाको जिम्मा। जे होस् मैले मनबाटै प्रार्थना गरेँ।
फिल्टर भएर बचेको थोरै मूल्यवान् समयको सदुपयोग कसरी गर्ने भनेर चिन्तन गर्छु बेलामौकामा। अन्तरसम्बन्धलाई सुधार गर्नुपर्ला भन्ने सोचले मनप्रिय साथीलाई सम्झिएँ। उनी पनि व्यस्त छिन् अचेल।
फिल्टर भएको समयमा मलाई कतै अटाउँछिन् भन्ने आस छ। इष्टमित्रलाई सम्झिएँ। शुभकामनाका शब्दहरु उपहारस्वरुप पठाएँ– यसपटक दसैंमा म रमाउँदै छु। कलम, आला, सेतो कोटका साथमा। समयसँगै बोध हुँदैछ 'मानव सेवा नै भगवान्को सेवा।'