काठमाडौं — नेपालमा गुणस्तरीय चिकित्सकीय सेवा र व्यावसायिक आचारसंहिता सुनिश्चित गर्ने उद्देश्यले नेपाल मेडिकल काउन्सिलले काठमाडौंका दुई चिनियाँ सञ्चालित स्वास्थ्य संस्थामा गरेको अनुगमनमा गम्भीर अनियमितता फेला परेको छ।
काउन्सिलले बौद्धस्थित चाइनेज पिपुल्स हस्पिटलमा गरेको निरीक्षणमा पनि गम्भीर कमजोरीहरू फेला परेको रजिस्ट्रा डा सतिश देवले जानकारी दिएका छन्।
डा अजय साहको संयोजकत्वमा गएको अनुगमन टोलीमा डा सारिका गोइत, डा अस्मिता पोखरेल, डा योविन यादव र मेजन कोइराला सहभागी थिए।
काउन्सिलका अनुसार निरीक्षणका क्रममा त्यहाँ कार्यरत एक विदेशी चिकित्सकले वैध परिचयपत्र प्रस्तुत गर्न नसकेको र कुनै मान्यता प्राप्त मेडिकल काउन्सिलमा दर्ता नभएको पाइएको छ, यद्यपि उनले आफूलाई चिकित्सक भएको दाबी गरेकी थिइन्।
काउन्सिलका अनुसार, पछिल्ला तीन वर्षदेखि उक्त संस्थामा कुनै पनि नेपाली दर्ता प्राप्त चिकित्सकले सेवा नदिएको देखिएको छ। संक्रमण रोकथाम तथा नियन्त्रण व्यवस्था कमजोर, स्वास्थ्यजन्य फोहोर व्यवस्थापनको स्पष्ट योजना अभाव, तथा ओपीडी र भर्ना बिरामीहरूको अभिलेखसमेत व्यवस्थित नरहेको पाइएको छ।
संस्थाभित्र प्रयोगशाला सुविधा भए पनि निरीक्षणका क्रममा बन्द अवस्थामा भेटिएको थियो। कर्मचारीहरूका अनुसार, उक्त चिकित्सकले परीक्षण, उपचार प्रक्रिया र शल्यक्रियासमेत एक्लै सञ्चालन गर्ने गरेको जानकारी प्राप्त भएको छ।
काउन्सिलले चाबहिल–मित्रपार्कस्थित हुवावे इन्टरनेशनल हस्पिटलमा गरेको स्थलगत निरीक्षणका क्रममा उक्त संस्था आयुर्वेदिक क्लिनिक तथा एक्युपंक्चर केन्द्रका रूपमा दर्ता भए पनि दर्ता म्याद सकिएको पाइएको जनाएको छ। त्यहाँ कुनै पनि योग्य आयुर्वेदिक चिकित्सक वा तालिमप्राप्त एक्युपंक्चर विशेषज्ञ कार्यरत नरहेको भेटिएको छ।
तर, त्यसको विपरीत उक्त संस्थाले एलोप्याथिक उपचारदेखि शल्यक्रियासम्म सञ्चालन गरिरहेको पाइएको छ, जुन मेडिकल अफिसरमार्फत भइरहेको देखिएको काउन्सिलले जनाएको छ। बिरामीसम्बन्धी अभिलेख व्यवस्थापन कमजोर, “एकै दिनमा उपचार” तथा “१००% निको हुने” जस्ता अतिरञ्जित दाबी, र न्यूनस्तरको प्रयोगशाला सेवा पनि अनुगमनका क्रममा उजागर भएका छन्।
यस्तै, हुवावे हेल्थ सेन्टर नामक अर्को इकाई दर्ता प्रक्रियामा रहेको भनिए पनि विधिवत दर्ता नभएको पाइएको छ। समग्रमा उक्त संस्था बिना वैध दर्ता सञ्चालन भइरहेको, आवश्यक चिकित्सकीय प्रोटोकलको अभाव रहेको तथा योग्य चिकित्सकको संलग्नता बिना सेवा प्रवाह भइरहेको निष्कर्ष काउन्सिलले निकालेको छ।
यी सबै अवस्थालाई गम्भीर रूपमा लिँदै प्रचलित कानून तथा नियमावली बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने डा देवले जानकारी दिएका छन्।