काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भइरहँदा अध्यक्ष पदको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ। हालसम्म गणना भएका ४,४४२ मतमध्ये अध्यक्ष पदमा डा. मंगल रावल अग्रस्थानमा रहेका छन् भने डा. बद्री रिजालले मतान्तर घटाउँदै कडा टक्कर दिइरहेका छन्।
पछिल्लो अद्यावधिकअनुसार डा. मंगल रावलले १,९५४ मत (४४.४९%) प्राप्त गर्दै अग्रता कायम राखेका छन्। उनलाई पछ्याउँदै डा. बद्री रिजालले १,९२१ मत (४३.७४%) ल्याएका छन्। यी दुईबीचको मतान्तर ३३ मा झरेको छ। तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले ५१७ मत (११.७७%) प्राप्त गरेका छन्। अध्यक्ष पदमा कूल वैध मत ४,३९२ रहेको छ भने ५० मत बदर भएका छन्।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी १,७५९ मत (४१.५७%) सहित अग्रस्थानमा छन्। उनलाई डा. किर्तिपाल सुवेदीले १,४६८ मत (३४.७०%) सहित पछ्याइरहेका छन् भने डा. अजय कुमार मिश्रले १,००४ मत (२३.७३%) प्राप्त गरेका छन्। यस पदमा २११ मत बदर भएका छन्।
महासचिव पदमा पनि रोचक प्रतिस्पर्धा छ। डा. विश्वराज दवाडी १,६३० मत (३८.३७%) सहित अग्रस्थानमा रहँदा डा. कालु सिंह खत्री १,५९३ मत (३७.५०%) सहित झिनो अन्तरमा छन्। डा. अमृत भुसालले १,०२५ मत (२४.१३%) प्राप्त गरेका छन्। यस पदमा १९४ मत बदर भएको छ।