काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा जलेर नष्ट भएका सवारी साधनहरूको नाममा इन्धन दुरुपयोग भएको भन्ने समाचारको खण्डन गरेको छ। मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा आएका यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
उक्त विषयको सत्यतथ्य पत्ता लगाउन मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा वैशाख १५ गते एक छानबिन समिति गठन गरेको थियो। उक्त समितिले जलेका सवारी साधन सम्बन्धी प्रहरी मुचुल्का, इन्धन सम्बन्धी अभिलेख (अर्धकट्टी) र भुक्तानी विवरण तथा अन्य सम्बन्धित कागजातहरु अध्ययन गरेको थियो।
अध्ययनपछि समितिले जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष निकालेको मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले अपुष्ट र भ्रम फैलाउने खालका सामग्रीहरू प्रकाशन तथा प्रसारण नगर्न सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र सरोकारवालाहरूलाई विनम्र अनुरोध गरेको छ।
'मन्त्रालय सदैव पारदर्शिता, उत्तरदायित्व र सुशासनप्रति प्रतिबद्ध रहेको छ। अतः सत्यतथ्यमा आधारित सूचनाको मात्र प्रवाह गरिदिनुहुन अनुरोध छ,' विज्ञप्तिमा भनिएको छ।