काठमाडौं- विश्वभरका मिडवाइफहरूले गर्भावस्था, प्रसूति तथा सुत्केरी अवस्थाका महिलाहरूलाई सुरक्षित, सम्मानजनक र गुणस्तरीय सेवा प्रदान गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। यही योगदानको सम्मानस्वरूप हरेक वर्ष मे ५ का दिन अन्तर्राष्ट्रिय मिडवाइफ महासंघको आह्वानमा विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइन्छ।
यस वर्षको मूल नारा ‘विश्वभर थप १० लाख मिडवाइफ जनशक्तिको आवश्यकता’ रहेको छ। सोही सन्देशलाई केन्द्रमा राख्दै मिडवाइफ्री सोसाइटी अफ नेपालले प्रभातफेरी, सचेतनामूलक नाटक मञ्चन लगायतका कार्यक्रममार्फत आम जनमानसमा मिडवाइफ्री शिक्षा, सेवा र यसको आवश्यकताबारे जानकारी प्रदान गर्ने कार्यक्रम तय गरेको छ।
यस अवसरमा मिडवाइफ्री सेवामा कार्यरत जनशक्तिको ज्ञान, सीप र क्षमताको अभिवृद्धि आवश्यक रहेको कुरालाई ध्यानमा राख्दै केही शिक्षण संस्थाहरूका स्किल ल्याबका लागि मिडवाइफ्री सम्बन्धी शैक्षिक सामग्री तथा उपकरण सहयोग स्वरूप उपलब्ध गराउने योजना पनि रहेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक दिन करिब ८०० महिलाहरू गर्भावस्था वा सुत्केरीसँग सम्बन्धित रोकथाम गर्न सकिने कारणहरूले ज्यान गुमाउने गरेका छन्। नेपालमा स्वास्थ्य मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको तथ्यांक अनुसार प्रति एक लाख जीवित जन्ममा १५१ मातृ मृत्यु हुने गरेको छ।
नेपाल सरकारले १६औं राष्ट्रिय योजना अन्तर्गत २०८५/८६ सम्म मातृ मृत्युदर ८५ मा झार्ने र नवजात शिशु मृत्युदर २१ बाट १३ मा घटाउने लक्ष्य लिएको छ। यी लक्ष्य हासिल गर्न मिडवाइफ जनशक्तिलाई देशका सबै तहमा, विशेषगरी दुर्गम क्षेत्रमा, प्रभावकारी रूपमा परिचालन गर्नु अत्यावश्यक देखिन्छ।
नेपालमा मिडवाइफ्री शिक्षा २०७३ सालदेखि सुरु भई हाल ६ वटा विश्वविद्यालय/प्रतिष्ठान अन्तर्गत ९ वटा शिक्षण संस्थाहरूमा स्नातक तहको कार्यक्रम सञ्चालनमा छ। यसबाट उत्तीर्ण भई नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका मिडवाइफहरूको संख्या १९५ पुगेको छ भने करिब ३०० विद्यार्थी अध्ययनरत छन्।
त्यसैगरी, २०८० मङ्सिरदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत जिरी प्राविधिक शिक्षालय (दोलखा) र गौर पोलिटेक्निक इन्स्टिच्युट (रौतहट) मा प्रमाणपत्र तहको मिडवाइफ्री कार्यक्रम सञ्चालनमा छ, जहाँ हाल १८० विद्यार्थी अध्ययनरत छन्। यीमध्ये ६० जना विद्यार्थीले २०८३ सालमा अध्ययन पूरा गर्ने अपेक्षा गरिएको छ। उनीहरूको प्रभावकारी परिचालनका लागि आवश्यक दरबन्दी र नियुक्ति प्रक्रिया अगाडि बढाउनु आवश्यक देखिएको छ।
नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति (२०७७/७८–२०८६/८७) अनुसार सन् २०३० सम्म करिब ६,४१० मिडवाइफ जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ। तर हालको अवस्थाले यो लक्ष्य पूरा गर्न अझै थप पहल आवश्यक रहेको देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत नर्सिङ्ग तथा सामाजिक सुरक्षा महाशाखाले ‘राष्ट्रिय मिडवाइफ्री रोडम्याप’ तयार गरिसकेको सन्दर्भमा तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार सम्मानजनक प्रसूति सेवाका लागि मिडवाइफ्री मोडल अफ केयरको प्रभावकारी कार्यान्वयन अपरिहार्य छ।
गुणस्तरीय सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न मिडवाइफ्री शिक्षा र सेवाको प्रभावकारी कार्यान्वयन, आवश्यक नीतिगत व्यवस्था तथा स्रोत साधनको सुनिश्चितताका लागि नेपाल सरकार तथा सम्बन्धित दातृ निकायहरूलाई यस अवसरमा हार्दिक आह्वान गरिएको छ।