आज महानवमी
दसैंको नवौं दिन।
हिजो शक्तिपीठ र घरघरमा
मेरो बलि दिएर यो पर्व मनाइयो !
संसारमा म र म जस्तै
अवहेलित जीवजन्तु
धर्म र चाडपर्वका व्यर्थै
सहानुभूतिमा
सिकार भइराखेका छन्।
मलाई लाग्छ
मानवजाति संसारभरको
अन्धो र अभागी जाती हो।
जो ज्ञान खोज्दछ र हमेशा
अज्ञानमा रहन्छ।
खासमा त नेपाली
विश्वभरी नै शान्ति र अहिंसाको
ज्योति फैलाउने भगवान बुद्धको
देशमा जन्मिएर पनि
बलिप्रथामा शरम र आत्मनिन्दाको भाव जगाउन सक्दैनन्।
तर
मासांहार गर्नकै लागि
बलिलाई धार्मिक आवरण ओढाउछन् !
म प्रश्न गर्न चाहान्छु
ति मासांहारी पण्डितलाई
जो तिहारमा गाई र कुकुरको पूजा गरेर
हामी पशुलाई आदार र माया देखाउन पछि पर्दैनन्।
तर
संस्कृति र परम्पराको लेपन गर्दै दसैंमा बलि दिन्छन्।
असत्य माथि सत्यको विजयको खुसीयालीमा
हाम्रो बलि किन चढाइन्छ ?
यो तिम्रो विद्वता कि मूर्खता हो ?
हामी सबै जीवजन्तु पशुपंक्षी
प्रकृतिका अनुपम उपहारहरु हौं,
हाम्रो पनि आफ्नै परिवार र
संसार छ।
दुःख पर्दा हाम्रो पनि आँसु झर्छ
पर्यावरणीय चक्र सन्तुलन गर्न हाम्रो पनि आवश्यक पर्छ।
हामी जस्ता अबोध जीवलाई
दुःख र कष्ट दिएर पुण्य मिल्दैन।
बरु स्वभावैले
मानिस पनि शाकाहारी हुनु स्वास्थ्यका लागि समेत कल्याणकारी हुन्छ।
र हाम्रो बाच्न पाउने अधिकार समेत सुरक्षित रहन्छ।
मेरो हार्दिक आह्वान
हे मानवजाती!
म जस्ता निर्दोष निरिह जीवजन्तुको
निर्मम बलि दिनु भन्दा
आफूभित्रका लोभ, अंहकार, काम र क्रोधको बलि दिन सक्नुहोस्।
अनि युगौंयुग बाच्न सक्नुहोस्,
सरकारसंग हातेमालो गरी
विश्वमा सत्य ,धर्म ,करुणा र अहिंसा को पाठ पढाउन सक्नुहोस्।
शुभकामना छ विजयादशमीको।
- (अच्युत शाली घिमिरे, जुनियर इन्टर्न,चिकित्सा शास्त्र अध्ययन संस्थान)