हुम्ला– सिमकोट गापा– ७ की ३५ वर्षीया एक महिला जिल्ला अस्पताल हुम्लामा एक महिनाको बसाइपछि नयाँ जीवन लिएर घर फर्किइन्। नेग्लेकटेट पेम्फीगस भल्गारिस विथ सेकेन्डरी व्याक्टेरियल इन्फेक्सन (छालाको एक सिकिस्त समस्या र संक्रमण) भएर अस्पताल भर्ना भएकी ती महिला सफल उपचारपछि घर फर्किएकी थिइन्।
‘मैले जीवन पाएँ,’ अस्पतालबाट फर्कने बेला उनले सिंगो अस्पताल टिमलाई मुस्कानका साथ धन्यवाद दिंदै उनले भनिन्, ‘मलाई तपाइँहरुले जसरी स्याहारसुसार गरेर बचाउनुभयो, त्यसरी नै भगवानले तपाइँहरुको रक्षा गरुन्।’ बस् हामी चिकित्सक र स्वास्थ्यकर्मी यसैमा खुसी छौं।
उनी एक अधवैंशे उमेरकी महिला हुन्। हुम्ला सदरमुकामबाट २–३ घन्टा पैदल दूरीमा बस्छिन्। उनी आर्थिक रुपमा कमजोर परिवारकी हुन् र कम पढेकी छन्। तर अशिक्षित भने होइनन्। बिडम्बना उनी यति ठूलो समस्याबाट ग्रसित भइन् कि आफ्नो ज्यान लगभग गुमाइसकेको अवस्थामा थिइन्।
उनलाई एक महिना पहिलादेखि अनुहारमा खटिरा आएको रहेछ र त्यो खटिरा बिस्तारै बढ्दै शरीरभरि फैलिएछ। त्यस्तो स्थिति देखेपछि छरछिमेकमा उनलाई कुष्ठरोग लागेछ भनेर हल्ला फैलाउँदै घृणित व्यवहार भएछ। समाजबाट टाढा राखिएछ। छालाको रोग निकै फैलिएर ग्रसित भई उभिनसमेत नसक्ने अवस्थामा पुगेपछि एक पत्रकारले हामीलाई जानकारी गराए।
बुझ्दै जाँदा उनलाई कुष्ठरोग नभएको थाहा भयो। त्यसपछि प्रमुख जिल्ला अधिकारीलगायत अन्य सरोकारवाला र स्थानीय पत्रकारहरुसँग समन्वय गरी उनलाई जिल्ला अस्पताल ल्याइयो। उनको छाला पाकेर पिप भरिएकोले शरीर गन्हाइरहेको थियो। उनको शरीर निकै जटिल संक्रमण (सेप्सिस) मा थियो।
अस्पतालमा चेकजाँचपछि यस्तो जटिल बिरामीलाई तुरुन्त आइसियूमा राख्नुपर्ने देखियो। सुविधा सम्पन्न अस्पतालमा रिफर गर्न पनि कमजोर आर्थिकका कारण सम्भव थिएन। त्यसपछि उनलाई जिल्ला अस्पतालमा नै उपचार सुरु गर्ने निर्णय गरियो।
आफ्न्तहरुसमेत गन्धले छेउछाउमा नआउने अवस्थामा उनलाई बिरामीको सेवा नै धर्म हो भन्ने ठानेर अस्पताल टिमले ठूलो रिस्क मोलेर सेन्ट्रल लाइनद्वारा औषधि दिई उपचार सुरु गरियो। चाहिने आवश्यक औषधिहरु नेपालगञ्जबाट समेत मगाएर आवश्यक विशेषज्ञसँग सल्लाह गरी उपचार गर्दा उनको स्वास्थ्यमा सुधार आयो। उनी मृत्युलाई जितेर नयाँ जीवन लिई घर फर्किइन्।
माथिको घटनाबाट कर्णालीको स्वास्थ्य स्थिति र सामाजिक अवस्थाबारे आकलन गर्न सकिन्छ।
कर्णालीको स्वास्थ्य स्थिति र राज्यको उपस्थिति
हुम्लालगायत कर्णालीका जिल्लाहरुको नाम सुन्नेबित्तिकै अभावैअभावको थलो भनेर चिनिन्छ। कर्णालीको यस्तो अवस्था हुनुमा राज्य नै सम्पूर्ण दोषको भागिदार देखिन्छ। किनकि कर्णालीमा राज्यको उपस्थिति नै देखिएको छैन। स्वास्थ्य क्षेत्रमा पनि अरु क्षेत्र जस्तै विकराल समस्या छन्।
भौगोलिक विकटताका कारण हुम्लालगायत कर्णालीका धेरैजसो ठाँउमा सामान्य उपचारका लागि स्वास्थ्य चौकीसम्म पुग्न पनि दिनभरि हिंड्नुपर्ने बाध्यता छ। स्वास्थ्य संस्था पुगिहाले पनि त्यस संस्थाको संरचना, औषधि, उपकरण र कर्मचारीको अभाव अनि अनियमितता जस्ता समस्या ज्यूँका त्यू छन्। यहाँ न कुनै स्वास्थ्य सिस्टम छ, न त कर्मचारीको लागि विशेष सेवा सुविधाको व्यवस्था नै।
जिल्ला अस्पतालमा बिरामीहरु सिकिस्त र जटिल अवस्थामा आइपुग्छन्। तर जिल्ला अस्पतालमा कर्मचारीको अभाव छ। औषधि तथा उपकरणको अभावका साथै यातायातको समस्याले गर्दा स्वास्थ्यसँग सम्बन्धित सामग्री ढुवानीमा ठूलो समस्या छ।
यस्ता तमाम समस्याका बाबजुत पनि विगत केही समयदेखि जिल्ला अस्पतालमा परिवर्तन र विकास गर्न खोजिरहेका छौं। स्वास्थ्य सेवालाई विस्तार गरिरहेका छौं ता कि यहाँको जनमानसले थोरै भए पनि स्वास्थ्य क्षेत्रमा राज्यको उपस्थितिको महसुस गरोस्।
हुम्लाको स्वास्थ्य क्षेत्रमा राज्यको उपस्थिति देखाउने हो भने जिल्ला अस्पतालको सुदृढीकरण र सेवा विस्तार गर्नुवाहेक अर्को विकल्प देखिंदैन। परिवर्तन र विकासका लागि यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी मात्र लागिपरेर सम्भव छैन। राज्यको सक्रिय सहभागिता र स्वामित्व चाहिन्छ अनि सरोकारवालाहरुको इच्छाशक्ति पनि।
अहिले संघीय संरचनामा राज्यको अधिकार तीन तहमा बाँडिएको छ। यो कानुनद्वारा प्राप्त अधिकार जथाभावी राज्यको स्रोतसाधन परिचालन र प्रयोग गर्नु मात्र नठानी प्राप्त अधिकारसँगै पूर्ण रुपले कर्तव्य, जिम्मेवारी र जवाफदेहिता बोध गरेर लाग्ने हो भने हुम्ला अनि कर्णाली जस्तो ठाँउमा राज्यको न्यायपूर्ण उपस्थिति गराउन सकिन्छ।
समस्यालाई प्रथामिकताअनुसार छुट्याएर वर्गीकरण र कार्यान्वयन नगर्ने हो भने परिवर्तन सम्भव देखिंदैन। प्रदेश तथा स्थानीय सरकारले कर्णाली जस्तो भौगोलिक विकटता भएको क्षेत्रमा स्वास्थ्यलाई विशेष प्राथामिकतामा राखी लगानी बढाउनै पर्दछ। घरघरमा बाटो बनाउने सोच बनाउनुभन्दा पहिला सम्पूर्ण जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्ने सिस्टमको व्यवस्था गर्न जरुरी छ।
साँचिकै कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार चाहने हो भने समस्यालाई नजिकबाट नियालेका र वस्तुस्थिति बुझेका व्यतिmहरुको उपस्थितिमा घनिभूत छलफल गरी वास्तविक धरातलमा उभिएर नीति तथा कार्ययोजना बनाउनु पर्दछ। नत्र काठमाडौंले बनाएको नीति र प्रदेश तथा स्थानीय तहबाट बनाएको नीतिमा कुनै फरक हुने छैन।
त्यसैले सम्पूर्ण सरोकारवालाहरु आपसमा हातेमालो गर्दै दृढ इच्छाशक्तिका साथ अगाडि बढ्ने हो र राज्यको बलियो उपस्थिति बनाउने हो भने कर्णालीको स्वास्थ्य स्थितिमा साँच्चिकै सुधार सम्भव छ।
- (डा टासी आङजुक लामा जिल्ला अस्पताल हुम्लामा कार्यरत छन्)