लम्कीचुहा, कैलाली- 'बिहान ५ बजे उठ्छु। नित्यकर्म गरेर छोराछोरीलाई खाना खुवाएर स्कूल पठाउँछु। म पनि साइकल चढेर गाउँघरमा एचआइभी संक्रमितलाई भेट्न र उनीहरूको अवस्था बुझ्न गाउँतिर जान्छु। दिनभरि एचआइभी संक्रमितलाई भेटेर सुखदु:ख साटी साँझ घर फर्किन्छु, यसरी नै मेरो दैनिकी बित्ने गरेको छ।'
यो दैनिकी एचआइभी संक्रमित ३० वर्षीया सरिता साउदको हो। बिना पारिश्रमिक खुलेरै एचआइभी संक्रमितको इच्छाशक्ति बलियो बनाउने र नियमित औषधी सेवनबारे सम्झाउने साउद लम्कीचुहा नगरपालिका ८ की बासिन्दा हुन्।
'बाल्यकाल पनि माइतीघरमा दुःखले नै बित्यो। पारिवारिक तनाव झेल्नु परेको थियो। बुवाले दुईटा विवाह गरेका कारण घरझगडा भइरहन्थ्यो। २०६१ सालमा म १६ वर्षकी थिएँ। डोटीबाट साँझको बेला विवाहका लागि माग्न आएका केटाका साथमा बिहानै मलाई अन्माइदिए। कलिलो उमेरमा माइती घर छोडेको जीवनमा बिर्सन सक्दिन', यो कुराले उनको स्वर मलीन बनाइसकेको थियो।
उनीहरूले सरीतालाई डोटीको घर नलगी भारतको पन्जाब लगे। विवाहपछि केही वर्ष उनले खासै तनाब झेल्नु परेन। तर सुखद् क्षण उनका साथमा लामो समय टिकेनन्। विवाह गरेको ३ वर्षपछि सरीताका श्रीमानका कानमा घाउ भयो। उपचार गर्न जाँदा एचआईभी पोजेटिभ देखियो। माइलो छोरा गर्भमा थियो। उनी गर्ववती भएको ४ महिना मात्र पुगेको थियो त्यतिबेला।
श्रीमानलाई एचआइभी संक्रमण देखिएपछि उनका दुःखका दिन सुरु भए। उनलाई एचआइभी संक्रमण हुनुको मुख्य दोषको भार पनि सरीताकै टाउकामा थोपरियो। गाली खाने दिन सुरु भए। 'तेरा कारणले मलाई एड्स रोग सर्यो भनेर श्रीमानले दिनदिनै गाली गर्ने। हामीबीच झगडा त सामान्य हुन थालिसकेको थियो। तर झगडा मात्र समस्याको समाधान थिएन। मैले दुबै जना फेरी स्वास्थ्य परीक्षण गर्न श्रीमानलाई मनाएँ। उहाँलाई एचआइभी देखियो मलाई देखिएन', उनले भनिन्।
त्यसपछि भने सरीतालाई लागेको आरोप झुटो ठहरियो। तर उनलाई फकाउन थाले सबैले। घरपरिवारका सबै सदस्य लागेर उनका श्रीमान्लाई लागेको रोग एड्स होइन भनेर विश्वास दिलाए।
पछि २०६५ सालमा नेपाल फर्केर कैलाली जिल्लाको चौमाला आएर बसे। 'पटक-पटक स्वास्थ्य जाँच गराउँदा मलाई एचआईभी देखिएको थिएन। म ढुक्क भएर खुशीका साथ बसेकी थिएँ। मलाई घरमै छोडेर फेरी उहाँ भारत जानुभयो।'
चौथी छोरी जन्मिने बेला माईती घर चुहा आएका बेला स्वास्थ्य जाँच गराउँदा सरीतालाई पनि एचआइभी देखियो। त्यतिबेला उनको दिमागले कुनै काम नै गरेन। रोएरै थुप्रै रातदिन बिताइन् उनले। 'मर्ने सोच पनि नआएको होइन। तर छोराछोरीको मायाले त्यसो गर्न दिएन,' उनले थपिन्।
एचआइभी देखिएपछि कसैलाई थाहै नदिई टीकापुर नव किरण प्लसमा १४ दिनसम्म बसेर औषधी सेवन गरिन् उनले। धेरै एचआईभी संक्रमितहरुसँग उनको भेट त्यहीँ भयो। उनीहरूले सम्झाए। सरीताको पनि मन बलियो हुँदै गयो। बाँच्ने इच्छा पुनः जागरित हुन थाल्यो।
भारतबाट घर आएका उनका श्रीमानको उपचारकै क्रममा चार वर्ष पहिले मृत्यु भयो।
एचआइभीका कारण श्रीमानको मृत्यु भएपछि घरपरिवारले उनलाई अपहेलना गर्न थाले। घरबाट निकाल्ने प्रयास गरेपछि माइतीघर चुहामा आएर बस्न थालेकी सरीता मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी छिन्। उनलाई छोराछोरीलाई कसरी पढाउने भन्ने समस्याले सताउँछ।
'नियमित औषधी सेवन गरे यो रोग लागे पनि लामो समय बाँच्न सकिन्छ भन्ने जानकारी गराउने उद्देश्यले एचआईभी संक्रमितको घरदैलोमा भेटघाट र छलफल गर्ने एक्लै अभियान थालेकी हुँ,' आत्मविश्वासी देखिएकी उनले भनिन्। उनीहरुको साथमा पुग्दा एचआइभी संक्रमितले खुशी व्यक्त गरी खुलेरै आफ्नो अनुभव सुनाउन थालेका छन्।
लम्कीचुहा नगरपालिकामा एचआइभी संक्रमित खुलेर कुराकानी गर्दैनन्। खुलेर आउन नचाहने एचआइभी संक्रमितहरुको लागि उपचार पद्धति प्रभावकारी बनाई खुलेर आउनेलाई नगरपालिकाले प्रोत्साहन गरे सबै खुलेर आउन सक्छन्। सचेतना अभियानका लागि २०७३ सालमा गोरेटो नेपाल नामक संस्था दर्ता गरी सचिव पदमा रही काम गर्दै आएकी छिन् सरीता। गोरेटो नेपालले एचआइभी संक्रमितको क्षेत्रमा निशुल्क काम गर्दै आएको छ। लम्कीचुहा नगरपालिकाका दश वडामा दश ओटा एचआइभी संक्रमितको समूह निर्माण गरिएको छ।
लम्कीचुहा नगरपालिकामा दुई सय ३५ जना एचआइभी संक्रमित छन्। जसमा एकसय ५ जना एकल महिला, ६१ जना महिला ४ जना बालबालिका र पुरुष ६५ जना गरी २ सय ७५ जना संक्रमित छन्। लम्किचुहा नगरपालिकाकी ४० वर्षीया एचआइभी संक्रमित पार्वती थापा भन्छिन्, 'मेरो आात्मबल कमजोर भएको थियो। चिन्ता लागिरहन्थ्यो र कहिलेकाँही मर्ने सोच आउँथ्यो। गोरेटो नेपालकी सरिता बहिनी आई सम्झाएपछि बाँच्ने ईच्छाशक्ति बढेको छ। हामी सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नु भएको छ।'
एचआइभी संक्रमितको क्षेत्रमा कार्यरत संस्था नवकिरण प्लस टीकापुरका कार्यक्रम संयोजक अर्जुन ज्ञवाली भन्छन्, 'कैलाली जिल्लामा एचआइभी संक्रमित धेरै भएको गोदावरी नगरपालिका हो भने दोस्रो लम्किचुहा नगरपालिका। गरिबीका कारण भारतमा काम गर्न जानु पर्ने भएकाले असुरक्षित यौन सम्पर्क हुने र अशिक्षाका कारण एचआइभी संक्रमितको संख्या बढेको छ।'
गोरेटो नेपालका अध्यक्ष ४७ वर्षीय धन प्रसाद जैशी पनि एचआइभी संक्रमित हुन्। लम्कीचुहा नगरपालिका १ भुरुवामा बस्ने जैशी पनि खुलेरै एचआइभी संक्रमितको पहिचानका साथ काम गर्दै आएका छन्। यो रोग अरुमा सर्न नदिन जनचेतना जोगाउन आवश्यक रहेकोले काम गर्दै आएको उनी बताउछन्। १६ वर्षसम्म भारत बसेका उनी बेलाबखत नेपाल घर आउने जाने गर्दथे। २०६३ सालमा घर आएको बेला पखाला लाग्यो औषधी खाँदा पनि निको भएन।
भारतमा गएर स्वास्थ्य जाँच गराउँदा एचआइभी संक्रमण देखियो। उनलाई विश्वास लागेन। 'एड्स रोग लागेको मान्छे मर्छन् भन्ने सुनेको थिए। दुःखको कुरा मैले गलत काम गरेको थिएन। जीवनभर पीडा भइरह्यो,' उनले भने।
.jpg)
टाउकाको समस्याले अपरेसन गर्नु पर्यो उनलाई। अपरेसन गर्ने क्रममा गलत सुईका कारण एचआइभी रोग सरेको जैशी बताउँछन्। डाक्टरले औषधी नियमित खाएपछि दश वर्षसम्म बाँच्न सकिन्छ भनेका थिए। अहिले बाह्रवर्ष भयो बाँचिरहेको छन् उनी। श्रीमतिलाई पनि एचआइभी संक्रमण देखियो। २०६३ सालमै भारतबाट नेपाल आएको उनको घरपरिवार निराश भयो। समाजले तिरस्कार गर्न थाले। त्यतिबेला सँगै सुतेपनि रोग सर्छ भन्ने गलत बुझाइ थियो। घरपरिवारबाट श्रीमान् श्रीमती समेत छुटिए। अहिले त घर परिवार मिलेर बसेका छौं। समाजको धारणा परिवर्तन भएको छ।
गोरेटो नेपालको स्थापना गरी एचआइभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका जैशी भन्छन्, 'हामीहरु आजीवन रोगी हौं। स्थानीय सरकारले एचआइभी संक्रमितको आत्मनिर्भरताका लागि सीपमूलक तालिम, गोष्ठी, अन्तरक्रिया पोषण कार्यक्रमका साथै रेडियो कार्यक्रम संचालन गर्नु पर्छ।'
बेमौसमी तरकारी खेती गर्दै एचआइभी संक्रमित
आत्मनिर्भर बन्न एचआइभी संक्रमितले व्यवसायिक तरकारी खेतीको सुरु गरेका छन्। लम्कीचुहा नगरपालिकाले व्यवसायिक तरकारी खेतीमा सहयोग गरेको छ। लम्कीचुहा १ भुरुवामा ५ कठ्ठा जग्गा र घर भाडामा लिई तरकारी खेती गर्न थालेका हुन्। गोलभेडा, बन्दगोभी, फुलगोभी, खुर्सानी, भाजी र गाजर खेती सुरु गरेका छन्। चार कोठाको घरमा गोरेटो नेपालको कार्यालय छ। एचआइभी संक्रमितहरुको सुखदुःखको चौतारी बनेको छ गोरेटो नेपाल।
मासिक ६ हजार भाडा तिर्ने गरी घर र जग्गा भाडामा लिएको गोरेटो नेपालकी सचिव सरिता बताउँछिन्। बैंकबाट ऋण निकालेर तीन वर्षका लागि एकमुष्ट १ लाख ५० हजार भाडा दिएको उनी बताउँछिन्।
अरु विषय जेजस्तो भए पनि संक्रमितका लागि प्रेरणाकी स्रोत भएकी छिन् सरीता। उनको कामको सबैले प्रशंसा गरेका पनि छन्। संक्रिमतलाई नियमित औषधि खान प्रोत्साहित गर्छिन्। 'उहिल्यै मर्ने थिएँ होला तर छोराछोरीकै मायाले यहाँसम्म आइपुगेकी हुँ' उनले भनिन्।
तीन महिनामा ४ जना संक्रमितको मृत्यु
लम्कीचुहा नगरपालिकामा तीन महिनाको अवधिमा ४ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका २ मा बस्ने ४० वर्षीया इश्वरा बिकको भदौ महिनामा मृत्यु भयो। संक्रमण भएको १५ वर्षपछि बिकको मृत्यु भएको गोरेटो नेपालका अध्यक्ष बिष्णु प्रसाद जैशीले बताए। वडा नम्बर ८ बस्ने २२ वर्षीय तुल्सी चौधरीको पनि भदौमा मृत्यु भएको छ। वडा नम्बर १ बस्ने ३८ वर्षीया पद्मा रावलको असोज महिनामा एचआइभी संक्रमित भएकै कारण मृत्यु भएको तथ्याङ्क गोरेटो नेपालले राखेको छ। लम्कीचुहा नगरपालिका ३ बस्ने नाम नखुलेको ४० वर्षिया एक भण्डारीको कार्तिक महिनामा मृत्यु भएको छ।