कीर्तिपूर नगरपालिका चम्पादेवी–४ की ५१ वर्षीया नीलकुमारी महर्जन विगत ३० वर्षदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा सेवारत छिन्। अहिले पनि उत्तिकै ऊर्जाशील नीलकुमारी आफ्नो काममा अहोरात्र खटिरहन्छिन्। कीर्तिपूर महिला स्वाथ्य स्व्यंसेविका समितिको अध्यक्षसमेत रहेकी उनी नेपाल स्वास्थ्य स्वयंसेविका संघको केन्द्रीय सदस्यको भूमिकामा छिन्।
२०२४ सालमा जन्मिएकी नीलकुमारीले १० कक्षासम्म पढ्न पाइन्।
उनी भन्छिन् ‘त्यतिबेला छोरीहरुलाई पढाउने चलन थिएन। मेरो टोलमा म नै सबैभन्दा पढेलेखेको अनि जान्नेमा पर्थें।’
आफूले अक्षर चिन्न पाएकोमा उनलाई अहिले खुसी लाग्छ। मध्यम परिवारकी उनले आफैँ काम गरेर पैसा जम्मा गर्दै १० कक्षासम्म पढ्न सफल भइन्।
सानैदेखि कसैसँग बोल्न नडराउने, खुलेर कुरा गर्न सक्ने थिइन् निलकुमारी। यही कारणले उनी २०४५ सालमा साउनमा स्वयंसेविका नियुक्त भइन्।
‘त्यतिबेला पञ्चायत व्यवस्था थियो, म महिला संगठनमा थिएँ । मज्जाले आफ्नो कुराहरु अगाडी राख्थेँ त्यसैले पनि छानिएँ होला,’ उनी आफ्ना पुराना दिन यसरी सम्झिन्छिन्।
स्वंयसेविका भएपछि उनी विभिन्न तालिममा जान थालिन्। तालिममा मातृ तथा बाल स्वास्थ्य, परिवार नियोजनका साधनसम्बन्धी विभिन्न कुराहरु सिकाइन्थ्यो। तर ती तालिममा सहभागी हुन उनी त्यति इच्छुक देखिन्नथिन्। उनलाई नबुझे जस्तो, लाज लागेजस्तो हुन्थ्यो।
नीलकुमारी भन्छिन्, ‘मेरो बिहे भएको थिएन । त्यसैले पनि ती कुराहरुमा मेरो मन गइराखेको थिएन तर पछि लाज हट्दै गयो।
‘बिहेअघि म त्यति फिल्डमा गइनँ, पछि रुचि बढ्दै जान थाल्यो। बिहे भएपछि फिल्डमा धेरै खटिएँ, आफूले जानेका कुराहरु धक फुकाइ बताइदिन थालें र मजासित काम गर्न थाले,’ उनी गर्विलो स्वरमा भन्छिन्।’
घरपरिवारको निकै साथ र सहयोग पाएकी उनी दत्तचित्त भएर काममा लागिरहिन्।
घरघरमा गएर पोषण सम्बन्धी जानकारी, गर्भजाँच, बालबालिका स्याहार, परिवार नियोजनको साधनको प्रयोग आदिको बारेमा जानकारी दिँदै उनले आफ्नो जीवनको ३० वर्ष बिताइन्।
यत्तिका वर्ष इमानदारीतापूर्वक काम गरेपनि काम अनुसारको सेवासुविधा सरकारले उपलब्ध नगराएकोमा उनको दुःखेसो छ।
तर आफ्नो गाउँठाउँमा मानिसहरुले स्वास्थ्यसम्बन्धी हरेक कुराहरु सुरुमा उनलाई नै सोध्न आउँदा एकदम खुसी मिल्ने बताउँछिन्। गाउँमा हरेक कार्यक्रम अथवा कुनै शिविर हुँदा स्व्यंयसेविकाहरुले नभन्दासम्म मानिसहरुले नपत्याउने उनी बताउँछिन्।
नीलकुमारी भन्छिन्, ‘आफूलाई यति सम्म विश्वास गर्छन् अनि भनेका कुरा मान्छन् र त काम गर्ने आँट पलाउँछ।’
पहिलाको तुलनामा अहिले मानिसमा स्वास्थ्य चेतमा सुधार आएको नीलकुमारीको अनुभव छ।
‘अहिले कन्डम तथा परिवार नियोजनको साधनको प्रयोग र प्रभावकारिता बारे चासो र सेवा लिन आउने बढेका छन्, पहिला जस्तो लजाउँदैनन्,’ उनको अनुभव छ, ‘धेरै महिलाहरु हामीलाई भन्ने गरेका छन् यस्ता कुरा तिमीहरु नभएको भए कसरी थाहा पाउँथ्यौँ होला?’
स्वयंसेविका हुनुमा धेरथोर घटनाले उनलाई कहिलेकाहीँ उत्साहित बनाइदिन्छ। समाजमा केही योगदान दिएको छु भन्ने भान गराइदिन्छ।
उनले सम्झिरहने घटना एउटा यस्तो छ जसले उनको आँखामा आँसु ल्याइदिएको थियो।

उनी फल्यास ब्याकमा गइन् । कुरा २२ वर्ष अघिको रहेछ । एकजना ब्राह्मण महिला उनको टोलमा नेवार केटासँग भागेर विवाह गरेर आइन् तर परिवारले स्वीकारेको थिएन। उनी जहिल्यै पनि हेलामा बाँचिरहेकी हुन्थिन् । उनको दुःख सम्झिँदा उनलाई अहिले पनि दया जाग्छ। श्रीमान्ले पनि पछि वास्ता गर्न छाडिदिए।
महिला गर्भवती भइन् तर पनि उनलाई स्याहार गर्ने कोही अघि सरिरहेको थिएन। उनको महिना पुगिसकेको थियो। उनलाई निकै दुःख लाग्यो। ४५ मिनेट हिँडेर म माथिल्लो गाउँको अर्को स्वयंसेविकालाई बोलाइन् । उनी आफैंले सुत्केरी गराउने तालिम लिएकी थिइन्। तर, ती महिलाको बच्चा उल्टो बसेकोले अस्पताल जान सुझाइन्। उनी भन्छिन्, ‘हामीले आफ्नो पैसा जम्मा गरेर उनलाई अस्पताल लग्यौँ। बच्चा जन्मियो। घर आउँदा ती महिलाले तपाई नभएको भए म मर्थे होला भनेर मलाई भगवान सरह मानिन्। त्यो घटना सम्झिँदा स्वयंसेविकामा भएकोमा लाग्छ।’
उनी आफ्नो पेसा प्रति सन्तुष्ट छिन् पनि छैनन् पनि।
उनी भन्छिन्, ‘हाम्रो पेसा नै समाजसेवा हो, सन्तुष्ट त हुनैपर्यो।’
तर, महिला स्वास्थ स्वयंसेविकाको श्रम शोषण भइरहेको उनको बुझाइ छ । त्यो भन्नलाई चाहिँ केवल स्वयें शब्दले छेकेको बताउँछिनर्् । मासिक विभिन्न डाटा संकलन गरी मासिक रिपोर्ट बुझाउनु पर्ने हुन्छ तर त्यसका लागि अझैसम्म केही पनि नपाएको उनी बताउँछिन्।
उनको बुझाइमा स्वयंसेविका भनेका विकट क्षेत्रका मान्छेलाई लागि डाक्टर नै हुन् । पञ्चायत आएर बहुदलपछि गणतन्त्र व्यवस्था हुँदा पनि आफ्नो अवस्था ज्यूँका त्यूँ रहेको उनी बताउँछिन्। ‘सुरुमा मेरो भत्ता ४० रुपैया थियो अहिले ४०० रुपैयाँ छ त्यतिले के हुन्छ?’ उनी प्रश्न गर्छिन्।
उनका अनुसार महिनाको कम्तीमा एक हजार मात्रै भएपनि भएपनि राहत हुन्थ्यो। उनले स्व्यंंसेविकाहरुलाई तालिमको व्यवस्था पनि कम हुँदै गइरहेको अनुभव गरेकी छिन्। प्हिला ३–३ महिनामा हुने तालिम कहिले त वर्षमा एक चोटी पनि आयोजना हुने उनले बताउँछिन्।
उनी लगायत स्वयंसेविकाको समूहले स्वास्थ्य आमा समूह पनि बनाएको छ जसले गाह्रोसाह्रो पर्दा ऋण दिने गर्दछ, बचत गर्छन् महिलाहरुले। साथै समूहले महिलाहरुलाई बेलाबेलामा स्वास्थ्यसम्बन्धी जानकारी पनि दिने गरेको छ।
तर समग्रमा नीलकुमारीले स्वयंसेविकाको अवस्था सुधार नआइसकेको बताउँछिन्। छोड्न चाहने स्वयंसेविका तथा बिदाइ गर्न लागिएका स्वयंसेविकाहरुलाई ३० हजार मात्र दिने निर्णय मन नपरेको उनी बताउँछन्।
‘जीवनभर त्यति सेवा गरेबापत पनि हाम्रो उचित कदर गर्न सक्दैन सरकार,’ उनले भनिन्।
अहिले १ सय १३ जना स्व्यसेविकाहरुको समूह हाँक्दै गरेकी उनको कामप्रतिको लगाव देखेर उनी विभिन्न संस्थाबाट सम्मानित भइसकेकी छिन्।
सम्पूर्ण स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि गर्ने तालिम दिने, सरकारले बिदाइ गर्दा उचित रकमको व्यवस्था गर्नुपर्ने, स्वंयसेविकाहरुको स्वास्थ्य बिमा हुनुपर्ने आदि मागहरु सरकारले सम्बोधन गनुपर्नेमा उनी जोड दिन्छिन्।
उनी भन्छिन्, ‘अहिले नयाँ युगको सुरुवात भयो भन्छन्, सामाजिक सुरक्षा कार्यक्रमको कुरा आएको छ। हामी श्रमिक हो कि होइन? हामीलाई सामाजिक सुरक्षा भत्ता लागू हुन्छ कि हुँदैन । हो यो कुरा हामी सबै स्वयंसेविकाको सझा सवाल हो।’
आफ्नै सक्रियताले नै बाल तथा मातृ मृत्युदर घटेको उनी बताउँछिन् । जुन कुरमा उनलाई गर्व छ।