काठमाडौं – नेपालको स्वास्थ्य सेवा घरघरमा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाबारे सधैं नै प्रशंसा हुने गर्छ। बिना कुनै लाभ वर्षौंदेखि उनीहरुले घरघर पुगेर दिएको सेवाले स्वास्थ्यका विभिन्न लक्ष्य पुरा पनि गरेको छ।
अहिले काम गर्न सहज भएपनि केही समय पहिलेसम्म उनीहरुलाई यस्तो सेवा दिन सहज थिएन।
सरकारले दिएको जिम्मेवारी पुरा गर्न प्रत्येक घरमा पुगी बालबालिकालाई खोप दिने, भिटामिन ‘ए’ खुवाउने, परिवार नियोजनका साधनबारे जानकारी गराउने, साधन वितरण गर्ने, जीवनजल लगायतका औषधि वितरण गरेका उनीहरुको अनुभव आज सुन्दा प्ररणादायी लाग्छ।
सरकारले २०४५ सालबाट आधारभुत स्वास्थ्य सेवामा महिलाको सहभागीता बढाउने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु गरेको थियो। अहिले देशैभर करिब ५४ हजार बढी महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
आज १५औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस ‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
यसै सन्र्दभमा हामीले काठमाडौंका विभिन्न स्थानमा कार्यरत महिला स्वास्थ्य स्वयम्सेविकासँग उनीहरुका अनुभवबारे पनि सोधेका छौं।
– सविना अधिकारी, धापासी हेल्थ पोष्ट
सविना अधिकारी २०५३ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत छिन्। साथीले काम राम्रो हुन्छ भनेपछि उनले आफैं बस्ने वडाबाट पहिलोपटक स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी लिएकी थिइन्।
उनले सुरुवाती दिन सम्झिँदै भनिन्, ‘अहिले त धेरै परिवर्तन भयो, जनचेतना बढेको छ, पहिला महिला स्वास्थ्य स्वयंसेविका भई स्वास्थ्यसम्बन्धी चेतना फैलाउन निकै गाह्रो थियो।’
उनले सेवाका दौरानमा आफ्नो जीवनमा घटेको एक अविस्मरणीय घटना सुनाइन् –हात्तीपाइलेको औषधि खुवाउने दिन थियो। औषधि खुवाउन जाँदै थिइन्। यसैक्रममा अधिकारीमाथि कसैले घरको छतबाट पानी खनाइदियो। यतिमात्र होइन् कतिले त घरको ढोका नै बन्द गरिदिए।
ड्रेस र परिचय पत्र नहुदाँ त्यो समयमा मनपरी गाली गर्थे उनलाई। घरमा आएको देख्यो भने ढोका बन्द गर्नेसम्मका घटना पनि सेवाका दौरानमा उनले भोग्नुपर्यो। भन्छिन्, ‘ अहिले ड्रेस र परिचय पत्र दुबैको व्यवस्था छ, यसले काम गर्नमा सहज भएको छ।’
बालबच्चा, गर्भवती, सुत्केरीलाई सहयोग गर्न पाउँदा अधिकारीलाई आनन्द लाग्छ। अहिले सुध्रिँदो शैक्षिकस्तर तथा आफ्नो स्वास्थ्यप्रतिको जागरुकताले गर्दा काम गर्न निकै सहज भएको पनि छ। ‘केही वर्ष अघिसम्म पनि स्वास्थ्य सेवाका बारेमा सहजै बुझाउन र प्रदान गर्ने अवस्था थिएन’, उनी भन्छिन्, ‘अहिले पढेलेखेका भएकाले धेरै कुरा बुझ्ने र आफैं जिज्ञासा लिएर सोध्न आउँछन्, यस्तो देख्दा रमाइलो लाग्छ नि।’
– मन खत्री, सितापाइला स्वास्थ्य चौकी
सितापाइला स्वास्थ्य चौकीमा कार्यरत मन खत्रीकोे अनुभव पनि सविनाको जस्तै छ। स्वास्थ्य स्वयंसेविका भएर काममा निस्कन खत्रीलाई परिवारबाटै पनि समस्या थियो। ‘घरधन्दा सकेर गाउँ निस्कन लाग्दा सासुले घरको काम गर्न छोडेर खुब डाक्टर बन्न होला हैन गाउँ–गाउँ डुल्ने भनेर सुनाउनुहुन्थ्यो’, खत्रीले सुनाइन्।
आर्थिक रुपमा आफ्नो स्तर सबल नहुँदा पनि खत्रीले कसैसँग औषधि उपचार गर्ने पैसा भएन भने सक्दो सहयोग गर्ने गरेको बताइन्।
‘आफूसँग नभए श्रीमानसँग माग्थें’, उनले भनिन्, ‘श्रीमानले पनि कहाँ सजिलै दिनुहुन्थ्यो र? कहिलेकाहीँ सय रुयैयाँ ल्याउछेस्, खुब अब मागीमागी समाजसेवा गर्नुपर्ने भनेर बचन लाउनुहुन्थ्यो।’ तर, जेजस्तो अवस्था आएपनि उनले आफ्नो कामलाई भने निरन्तरता दिइरहिन्।
अहिले स्वास्थ्य स्वयंसेविकालाई प्रत्येक महिना ४ सय रुपैयाँ भत्ता आउँछ। उनलाई भने यो रकम हजार रुपैँयासम्म भए हुन्थ्यो भन्ने लाग्छ। ‘किनभने घरबाट २ घन्टामा काम सकिन्छ भनेर निस्कियोे, गाउँमा डुल्दा–डुल्दै ४/५ घन्टा लागि हाल्छ।’, खत्रीले गुनासो गरिन्।
कतिपय अवस्थामा खतरा मोलेरै भएपनि काम गरेको उनले अनुभव सुनाइन्।
‘हाम्रो घरमा बस्ने एकजना बहिनीलाई सुत्केरी व्यथा लाग्यो। बाहिर कफ्र्यू लागेको थियो। अस्पताल लैजान सक्ने अवस्था भएन। केही समयमा उनले घरमै बच्चा जन्माइन्, तर साल निस्किएन। मैले तालिम त लिएको थिइँन, तर जोखिम मोलेरै भएपनि साल निकाली दिएँ।’
– कमला पन्त, बुढानिलकण्ठ
बुढानिलकण्ठ नगरपालिकाकी कमला पन्तले स्वास्थ्य स्वयंसेविकाको रुपमा काम सुरु गरेको ५ वर्ष भयो। उनी सामाजिक अभियन्तासमेत हुन्।
आफ्नो सानै उमेरमा विवाह भएपनि १० कक्षासम्म पढ्ने अवसर पाएकी उनले आफूजस्तै पढ्न नपाएका महिलाका लागि पढाउने सोच बनाइन्।
पढ्ने मन हुँदाहुँदै पनि आफ्नो जस्तै बाध्यतावश बीचमै पढाई छोड्ने महिलाहरु समाजमा धेरै छन्। कमलाले त्यस्तै महिलाहरुलाई पढाउने उद्देश्यले बुढानिलकण्ठ महिला विद्यालय सञ्चालनमा ल्याएकी छिन्। यस विद्यालयमा १६ देखि ६० वर्ष उमेर समूहका महिलाले पढ्न पाउँछन्।
विद्यालयमा अहिले १ सय ३५ जना विद्यार्थीहरु अध्ययनरत छन्। राष्ट्रिय महिला स्वयम्सेविका दिवसको अवसर पारेर सम्मानित भएकी कमलाले भनिन्, ‘यसले थप हौसला बढेको छ।’