सर्जन डा पलेस्वाँ लाखे सन् २००१ देखि त्रिवि शिक्षण अस्पतालमा कार्यरित छिन्। उनी भर्खरै मात्र त्रिवि शिक्षण अस्पतालको जिआई–ग्यास्ट्रो इन्टेस्टाइनल एन्ड जनरल सर्जरीको विभागीय प्रमुखमा नियुक्त भएकी छिन्। उनीसँग स्वास्थ्यखबरका लागि बुनु थारुले गरेको कुराकानीः
के हो जिआई सर्जरी?
जिआई सर्जरी भनेको ग्यास्ट्रो इन्टेस्टाइनल सर्जरी हो। यो जनरल सर्जरीअन्तर्गत पर्दछ। यसमा युरोलोजी, न्युरो, कार्डियोथोरासिक सर्जरी, प्लास्टिक सर्जरी सबै अटाउँछन्। पहिला यी सबै विज्ञान एउटै ठाउँमा हुने गर्थ्यो।
जिआई सर्जरी सम्पूर्ण पाचन क्रियासम्बन्धी रोगहरुको सर्जरी गर्ने विधा हो। यसमा खाने नली, पेट, पित्तथैली, कलेजो, सानो आन्द्रा, ठूलो आन्द्रा, आमासय आदि पर्छन्। जिआई सर्जरीअन्तर्गत जिआई, पेडियाट्रिक सर्जरी, ब्रेस्ट एन्ड थाइरोड इन्डोक्राइन सर्जरी पनि पर्छन्।
तपाईंमा सर्जरी पढ्ने सोच कसरी आयो?
नेपाल सरकारको छात्रवृत्ति पाएपछि म एमबिबिएस पढ्नका लागि बंगलादेश गएँ। त्यहाँ इन्टर्नसिप गरेपछि सर्जन बन्छु भन्ने सोच लिएर नेपाल आएको थिएँ।
मेरो मम्मी गाइनोकोलोजिस्ट हुनुहुन्छ। समाजमा एउटा भनाइ नै छ, केटीले गाइनो पढ्छन्। त्यो धारणालाई चिर्न पनि ममा सर्जरी पढ्ने सोच पलायो। केटीहरु जे विषय पनि पढ्न सक्छन्। सर्जरीमा दिमाग पनि लगाउनुपर्छ, हात पनि लगाउनुपर्छ।
सर्जरी अलिकति ग्ल्यामरस छ। जनरल सर्जरीअन्तर्गत मेरो व्याचमा सबैभन्दा धेरै अंक मैले ल्याएको थिएँ। सर्जरीमा महिला नै कम हुन्छन्। मलाई क्यान्सर सर्जरीमा अलि बढी रुचि छ।
सर्जरीमा महिला किन कम भएका होलान्?
सर्जरी महिलाको लागि विविध कारणले चुनौतीपूर्ण छ। एउटा त जनचेतना नभएर पनि हो। परापूर्व कालदेखि नै महिलाले गाह्रो काम गर्न सक्दैनन् भन्ने सोचाइ छ। शारीरिक रुपमा महिला बलिया छैनन्, चिरफारका काम गर्न सक्दैनन् भन्ने आम बुझाइ रहेको छ।
महिलालाई यसमा मात्र होइन, सबै क्षेत्रमा गाह्रो हुन्छ भन्ने सोचाइ छ। तर, त्यस्तो होइन। महिला पनि राम्ररी काम गर्न सक्छन्, सक्षम छन्। डाक्टरी पेसा भनेको राम्ररी उपचार गरेर मात्र हुँदैन। बिरामीलाई सहानुभूति पनि दिनुपर्छ। उनीहरुको ठाउँमा बसेर सोचिदिनुपर्छ।
ओपिडीमा आएर खाली बिरामीको लागि औषधि लेखिदिने मात्र काम होइन, उनीहरुको पिरमर्का पनि बुझिदिनुपर्छ। यो गुण केटामा भन्दा केटीमा बढी हुन्छ। सर्जरी मात्र होइन, जुनसुकै फिल्डमा महिलाहरु राम्रा छन्। उनीहरुसँग सहनशक्ति हुन्छ। मिहिनेती हुन्छन्। सानासाना कुरामा पनि एकदम ख्याल राख्छन्। राम्रा डाक्टर मात्र होइन, उत्कृष्ट सर्जन पनि छन् महिला।
नेपालमा महिला सर्जन कति छन्?
नेपालमा महिला सर्जनको संख्या कम छ। दक्ष महिला सर्जन अहिले २५ जना रहेका छन्। सर्जरी पढिरहेका चाहिँ १९ जना मात्र छन्।
महिला भएकै कारण विभेद भोग्नुपरेको छ कि?
अप्रत्यक्ष रुपमा भोगिएको होला, तर प्रत्यक्ष रुपमा मैले त्यस्तो महसुस गरेको छैन। बिरामीले कहिलेकाहीं सिस्टर भनेर बोलाइदिन्छन्। पहिलापहिला रिस उठ्थ्यो, तर अहिले त्यस्तो केही मान्दिनँ। महिला पनि सर्जन हुन्छन् भनेर ख्याल गर्दैनन् कतिपय। कहिलेकाहीँ रिफरल केसमा मैले त्यस्तो पाएको छु।
अप्रत्यक्ष रुपमा विभेद भइनै राखेको हुन्छ। मैले प्यानक्रियाज, लिभर, पित्त थैली, पेटको अपरेसन गर्छु। तर रिफरल केशमा धेरै बे्रस्टको केश मेरोमा आइराखेको हुन्छ। ओभरटाइम काम गर्ने, राति बस्नुपर्ने अरु पेशामा पनि हुन्छ त्यसलाई म ठूलो मान्दिनँ। कहिलेकाकहीँ समस्या प¥यो भने राति पनि एक्लै गाडी चलाएर आइदिन्छु। विभेद हुन्छ तर अगाडि बढ्न सक्नुपर्छ महिलाहरु।
विभाग सम्हालेपछिका कार्ययोजना के छन्?
पहिले शिक्षण अस्पतालमा सर्जरी विभाग एकदमै सम्माननीय तथा बलियो विभागमा पथ्र्यो। विभागहरु छुट्टिएसँगै सर्जरी विभागमा सिस्टम बसाल्नु छ। अनुशासन बसाउनु छ। विभागमा मभन्दा पनि सिनियर डाक्टरहरु हुनुहुन्छ।
मलाई खुसी केमा लागेको छ भने अस्ति विभागीय बैठक डाक्दा सबै जना आइदिनुभयो। मैले भनेको कुरा सुन्नुभयो। त्यसले काम गर्ने हौसला थपेको छ। हाम्रो पढाउने क्लासहरु दिउँसो हुने गथ्र्यो। अहिले सरसल्लाह गरेर बिहानको सिफ्टमा सारेका छौं। किनकी हामीले पढाउने मात्र होइन, बिरामी पनि हेर्नुपर्छ।
पेडियाट्रिक सर्जरीको पनि विकास गर्ने र एमसिएच कोर्स पनि सुरु गर्ने हाम्रो लक्ष्य छ। जिआई सर्जरीमा पनि अंगअनुसार विभाग छुट्याउने लक्ष्य छ। जसले गर्दा डाक्टर तथा बिरामीलाई नै सहज हुन्छ। कलेजो प्रत्यारोपण पनि हाम्रै विभागअन्तर्गत पर्छ। यसलाई कसरी दीर्घकालीन बनाउने भनेर लागिपरेका छौँ। सबैभन्दा पहिला हाम्रो विभागको लागि कोठाहरु र जनशक्ति व्यवस्थापन अत्यन्त जरुरी छ।