काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लगानी सम्मेलनमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राखी विभिन्न छ अस्पताललाई तयारी अवस्थामा राखेको छ। दुईदिने सो सम्मेलन भोलि शुक्रबारदेखि शुरु हुँदैछ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको वीर, निजामती, सैनिक, पाटन, भक्तपुर तथा त्रिविवि शिक्षण अस्पताललाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ। साथै निजी क्षेत्रका अन्य अस्पताललाई पनि तयारी अवस्थामा राखिएको मन्त्रालयलको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए। सम्मेलनस्थलमा विज्ञ चिकित्सक, नर्स, उपकरण, औषधिसहितको एम्बुलेन्ससमेत रहने छ।
देशमा वैदेशिक लगानी भित्र्याउन सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित एक कार्यक्रममा नेपाललाई शिक्षा र स्वास्थ्यको ‘हव’ बनाउने र यसका लागि स्वदेशी सीप, प्रविधिका साथमा विदेशी पूँजी र प्रविधि आवश्यक पर्ने बताएका थिए।
सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको बताइएको छ। ती परियोजनाअन्तर्गत शिक्षा र स्वास्थ्यका योजना पनि रहेका छन्, तर कुन परियोजना भन्ने सार्वजनिक गरिएको छैन।
सम्मेलनका क्रममा नै एक दर्जन बढी परियोजनासँग समझदारीमा हस्ताक्षर गर्ने तयारीसमेत गरिएको छ। सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागी हुनेछ।
दुई दिनसम्म चल्ने सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी परियोजना प्रस्तुत गरिनेछ। रासस