काठमाडौं– नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
अछाम–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उपाध्यायले नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताए। कांग्रेसमा ३५ वर्षमुनिका करिब पाँच सय महाधिवेशन प्रतिनिधि रहेको उल्लेख गर्दै उनले नयाँ पुस्ताको आवाजलाई पार्टी नेतृत्वमा स्थापित गर्न आफू अघि सरेको बताए।
नयाँ पुस्ताले कांग्रेसमा नेतृत्व पुस्तान्तरणसँगै नयाँ सोच, कार्यशैली, जबाफदेहिता र समयानुकूल निर्णय क्षमताको अपेक्षा गरेको उनको भनाइ छ। बदलिँदो जनभावना र युवाको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थप गतिशील र जनमुखी बनाउनुपर्ने उनले बताए।
उपाध्यायले पार्टीभित्र क्षमता, अनुभव, राजनीतिक संस्कार र संगठनको गहिरो बुझाइ भएका धेरै युवा रहे पनि उनीहरूले पर्याप्त अवसर र जिम्मेवारी नपाएको बताए। ‘म सक्षम छु, मैले काम गर्न सक्छु, त्यसैले कुनै व्यक्तिको चाकडी नगरी कांग्रेसको टिकट पाउनुपर्छ भन्ने आत्मविश्वास भएको पुस्ताको आवाज बन्न म महामन्त्री बन्न चाहन्छु,’ उनले भने।
क्षमताको सम्मान, योगदानको मूल्यांकन र अवसरमा न्यायका लागि आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ। ‘अबको कांग्रेस नयाँ पुस्ताको ऊर्जासहित अघि बढ्नुपर्छ। आगामी स्थानीय निर्वाचनमा युवा नेतृत्व र युवा उम्मेदवारहरूको उल्लेख्य सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई जनतासँग अझ बलियो रूपमा जोड्ने अभियानमा म काम गर्न चाहन्छु,’ उनले भने।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययन गरेका छन्। चिकित्सा क्षेत्रसँगै उनी सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय छन्। नेपाल भलिबल लिगमा एक टोलीको कार्यकारी निर्देशकका रूपमा समेत उनले काम गरेका छन्।
अन्तर्राष्ट्रियस्तरमा विभिन्न सम्मेलन तथा संस्थाको नेतृत्व र जिम्मेवारी सम्हालेका उपाध्याय सन् २०१९ का मिस्टर नेपाल विजेतासमेत हुन्। सन् २०२१ मा पोल्यान्डमा भएको मिस्टर सुपरनेशनल प्रतियोगितामा उनी तेस्रो रनरअप भएका थिए। उनले कान्तिपुर टेलिभिजनमा ‘गुड मर्निङ नेपाल’ कार्यक्रमको सञ्चालकका रूपमा पनि काम गरेका छन्।