काठमाडौं– नेकपा सांसद पम्फा भुषालले स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई औषधि दर्तामा आर्थिक लेनदेन हुने गरेको विषयमा प्रश्न गरेकी छिन्।
संसदको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सांसद भुषालले औषधि व्यवस्था विभागले घुस लिएर मात्र औषधि दर्ता गर्ने गरेको गुनासो आइरहेको विषयमा मन्त्री यादवलाई प्रश्न गरेकी हुन्।
‘पाँच/सात लाख घुस नलिई औषधि दर्ता हुँदैन रे किन?’ सांसद भुषालले प्रश्न गर्दै भनिन्, ‘औषधि व्यवस्था विभाग त रोजाइको ठाँउ हो रे त!’
सांसद भुषालले औषधि दर्ता गर्ने विषयमा पनि एकाधिकर रहेको गुनासो आइरहेको विषयमा पनि मन्त्री यादवलाई जानकारी गराएकी छिन्।
सांसद भुषालको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले औषधि व्यवस्था विभागमा केही समस्या रहेको स्विकार गरे। उनले अनियमितताका विषयमा आवश्यक अनुसन्धान गर्ने पनि जानकारी दिए।
‘औषधि व्यवस्था विभागमा समस्या छ। जनशक्ति निकै कम छ भनिन्छ। हामी त्यहाँको समस्या हल गर्न लागेका छौं,’ मन्त्री यादवले सांसद भुषालको प्रश्नको जवाफ दिँदै भने।