जुम्ला- स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई जुम्लाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तह जनस्वास्थ्य कार्यक्रम उद्घाटन गर्न शुक्रबार जुम्ला पुगेका मन्त्री यादवलाई उनीहरुले तलब निकासा नहुदा ऋणपान घरखर्च चलाउनुपरेको दुखेसो पोखे।
स्थानीय सरकार संघीय सरकारले तलब नपठाएको भन्दै पन्छने गरेको र संघीय सरकार स्वास्थ्यकर्मीको तलबप्रति गम्भीर नदेखिएको प्रति उनीहरुले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण पनि गराए।
'६ महिनाको तलबभत्ता पाएका छैनौं। तत्काल निकासा गरिदिन पहल गरिदिनुपर्यो,' हेल्थ असिस्टेन्ट संघ नेपाल जुम्लाका सचिव वीरेन्द्र उपाध्यायले भने, 'स्वास्थ्यकर्मीले काम गरिरहने तर तलब नपाउने हो भने कसरी परिवार पाल्ने? मन्त्रीज्यू, स्वास्थ्यकर्मीको तलब कता रोकिएको छ। पहल गरिदिनुस्।'
नेपाल स्वास्थ्यकर्मी संघ,नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, नेपाल नर्सिङ संघ, हान र लेफाले स्वास्थ्यकर्मीको ध्यानाकर्षण गराएका थिए।
अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि उनीहरुले स्वास्थ्यमन्त्रीसमक्ष माग
कात्तिक महिनादेखि हालसम्मको तलबभत्ता नपाएको र पटकपटक सम्बन्धित निकायमा पहल गर्दा पनि सुनुवाइ नभएकाले कर्मचारीको दैनिक जीवन धान्न कष्ट भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। सरकारबाट तलबभत्ता शीर्षकमा विनियोजित बजेट जुम्लामा कार्यरत स्वास्थ्यकर्मीका लागि वार्षिक रुपमा अपुग हुँदै आएको उनीहरु बताउँछन्। आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा अपुग तलबभत्ता शीर्षकमा रकम थप गरी पठाउनका लागि उनीहरुले स्वास्थ्यमन्त्रीसमक्ष माग गरे।
सरकारले सुरु गरेको समायोजन प्रक्रियाप्रति पनि जुम्लाका स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका छन्। निजामती तर्फका कर्मचारीलाई एक तह बढुवा गरी समायोजन गरेकाले स्वास्थ्य सेवाका कर्मचारीलाई पनि समायोजना ऐन अनुसार बढुवा गरी तहगत प्रणालीमा सम्मानजनक समायोजन गर्न उनीहरुले माग गरे। स्वास्थ्य सेवामा स्थायी रुपमा कार्यरत स्वास्थ्यकर्मीलाई माथिल्लो तहमा योग्यता हासिल गर्नका लागि छात्रवृत्ति सहितको तलबी अध्ययन बिदाका लागि पहल गर्न माग उनीहरुले गरे।
जुम्लाका स्वास्थ्यकर्मीको गुनासो सुनेपछि स्वास्थ्यमन्त्री यादवले यसप्रति आफू सकारात्मक रहेको बताएका छन्। 'जुम्लाका स्वास्थ्यकर्मीले राखेका माग जायज छन्। माग पूरा गर्न म आवश्यक पहल गर्छु,' मन्त्री यादवले भने, 'अहिलेसम्मको तलबभत्ता कहाँ अड्किएको रहेछ, खोजी गरेर तत्काल त्यसलाई सहज बनाउन पहल थाल्नेछु।'
यसअघि जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेमार्फत ज्ञापनपत्र बुझाइसकेका स्वास्थ्यकर्मीले मन्त्रीलाई पनि ध्यानाकर्षण गराएका हुन्।