काठमाडौं- सरकारले स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई दुई आधारमा समायोजन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य चौकी र पालिका अन्तर्गतका कार्यालयमा तहगत आधारमा र प्राथमिक स्वास्थ्य केन्द्रसहितका माथिल्ला निकायमा पदगत आधारमा समायोजन गरेको छ।
स्वास्थ्यमा ४, ५, ६ र ७ औं तहका कर्मचारीमा तहगत र पदगतका विषयमा लामो समयदेखि विवाद हुँदै आइरहेको छ। सरकारले यही विवादलाई समाधान गर्न भन्दै सामायोजनमा दुई थरीका नीति लिएको हो। यही विवाद मिलाउनका लागि मन्त्रालयले समायोजन भएका कर्मचारीको सूची सार्वजनिक गर्न ढिलाई गरेको मन्त्रालयका एक उच्च कर्मचारीले जानकारी दिए।
‘अब स्वास्थ्यका विवादका विषयलाई लगभग समाधान गरिएको छ,’ उनले भने, ‘सम्भवतः आइतबार समायोजनको सूची आउने छ।’ उनले सुरुमा सहायक स्तरका कर्मचारीको सूची आउने र त्यसपछि क्रमश अरुको सूची आउने जानकारी दिए।
सुरुमा स्वास्थ्यका ४, ५, ६ र ७ औं तहका कर्मचारीलाई तहगत आधारमा समायोजन गर्ने प्रक्रिया अगाडि बढेको थियो। तर, यो आधारमा मात्र समायोजन गर्दा ठुलो समस्या आउने भन्दै स्वास्थ्यकै आग्रहमा सामान्यले दुई थरी नीति लिएको हो।
सुरुमा समान्य प्रशासनकै पहलमा स्वास्थ्यका कर्मचारीलाई पदका आधारमा कर्मचारी समायोजन गर्ने तयारी भएको थियो। उक्त विषय मन्त्रीपरिषदले पास समेत गरेको थियो।
तर, स्वास्थ्यका केही समूहका कर्मचारीहरुले यो विषयमा विरोध गर्दै आन्दोलन गरेपछि स्वास्थ्यले त्यसलाई संशोधन गर्दै तहगत आधारमा समायोजन गर्ने निर्णय गराएको थियो।
अहिले तहगत आधारमा समायोजन प्रक्रिया अगाडि बढाउँदा स्वास्थ्यका धेरै स्थानमा समस्या उत्पन्न हुन लागेको भन्दै फेरि प्राथमिक स्वास्थ्य केन्द्रसहितका माथिल्लो निकायमा पदगत आधारमा गर्नुपर्ने कुरा आएको हो।
स्वास्थ्यमा पदगत र तहगत आधारमा समायोजन गर्ने विषयमा एचए र सिअहेबबीच लामो समयदेखि विवाद हुँदै आइरहेको छ। शैक्षिक योग्यताका आधारमा पदगत रुपमा समायोजन हुनुपर्नेमा एचएहरुको माग छ भने तहगत आधारमा समायोजन गर्नुपर्ने विषय सिअहेवको माग छ।
यी विवादका कारण स्वास्थ्यका कर्मचारी समायोजनमा समेत समस्या सिर्जना भएको हो।
सामान्य प्रशासनले बिहिबार स्वास्थ्यका २७ हजार ३ सय २ जनाको समायोजन गरेको तथ्यांक सार्वजनिक गरेको छ।
स्वास्थ्य सेवा अन्तर्गत स्थानीय तहमा २२ हजार १ सय ७६, प्रदेशमा २ हजार ३ सय ९४ र संघमा २ हजार ७५ जना कर्मचारी समायोजन भएका छन्। समायोजनका क्रममा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी भने फाजिलमा परेका छन्।