काठमाडौं – कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि स्वास्थ्यका कर्मचारीको सूची सार्वजनिक गर्न सकेको छैन।
समायोजनका क्रममा केही प्राविधिक समस्या र विवाद आउन सक्ने देखेपछि मन्त्रालयले स्वास्थ्यको सूची मिलाउने काम अझै पनि गरिरहेको छ। बिहिबार नै समायोजन सकिएको घोषणा गरेको मन्त्रालयले सोही दिन नै सबैको सूची सार्वजनिक गर्ने बताएको थियो।
तर, आइतबारको कार्यालय समय सकिन लाग्दासम्म पनि कुनै समूहको पनि सूची आउन सकेको छैन। मन्त्रालयले पहिला स्वास्थ्यको ८ र ९ औं तहका कर्मचारीको सूची सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।
‘पहिला ८ र ९ औं तहको सूची निकाल्ने काम अगाडि बढेको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘आज आइतबार नै यी दुई तहको सूची बाहिर ल्याउने गरी तयारी भएको छ।’ उनले अन्य तह तथा समूहको भने क्रमश सार्वजनिक गर्दै जाने जानकारी दिए।
सरकारी चिकित्सा संघ (गोदान), नेपाल नर्सिङ संघ लगायतका संगठनले अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संघमा राख्न दवाव दिँदै आएका छन्। मन्त्रालयले यो सूची सार्वजनिक गरे लगत्तै विभिन्न संघसंगठनले आपत्ती जनाउन सक्ने सम्भावना पनि उत्तिकै छ। मन्त्रालय स्रोतका अनुसार यी संगठनको माग विपरित समायोजनको सूची आउने पक्का भएको छ।
यसअघि मन्त्रालयले स्वास्थ्यका ४, ५, ६ र ७ औं तहका कर्मचारीको सूची सार्वजनिक गर्ने तयारी गरेको थियो। तर, यी तहका कर्मचारीको सामायोजनमा तहगत र पदगत आधारमा गर्नुपर्ने अवस्था आएको भन्दै ढिला हुन गएको मन्त्रालयले जनाएको छ।