जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ डाक्टरको टोली अछाममा पुगेका छन्। अछामका नागरिकलाई विशेषज्ञ उपचार सेवा दिन उनीहरु त्यहाँ पुगेका हुन्।
अछामको पञ्चदेवल बिनायक नगरपालिकाको साझेदारीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्न जुम्लाको टोली पहिलोपटक त्यहाँ पुगेको हो। विगतमा दरवन्दीमा रहेका डाक्टरसमेत त्यहाँ पुग्न मान्दैनथिए। तर, अहिले प्रतिष्ठानमा रहेका विज्ञ डाक्टर नै सेवा दिन पुगेका छन्।
प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाई प्रतिष्ठान विशेषज्ञ स्वास्थ्य सेवा दिन तयार रहेको सन्देश दिन सफल भएको बताउँछन्। उनले भने, ‘कर्णाली अहिले पनि रोग, भोग, स्वास्थ्य र शिक्षा क्षेत्रमा निकै पछि परेको भनिँदै आएको छ। तर जुम्लामै उत्पादित जनशक्ति अहिले बाहिरका जिल्लामा पुगेर स्वास्थ्य सेवा दिँदै आएका छन्। यो गौरवपुर्ण कार्य हो।’
उनले आवश्यकता र माग अनुसार जुनसुकै समयमा चिकित्सकको टोली खटाउन सकिने बताए। अछाममा हाडजोर्नी नसारोग विशेषज्ञ तथा कर्णाली अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर पुजन रोकायाको नेतृत्वमा १५ जना चिकित्सकको टोली पुगेको छ। उनीहरुले तीन दिनसम्म त्यहाँ विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका नन्द तिमलसेनाले जानकारी दिए।
शिविरमा हाडजोर्नी तथा नसारोग, बाल रोग, सर्जरी, स्त्रीरोग, डेण्टल, मनोचिकित्सा, जनरल ओपिडि, भिडियो एक्सरे लगायतका सेवा प्रदान गरिनेछ।
टोलीमा डा रोकायासहित सर्जन डा हरीहर देवकोटा र माणिक न्यौपाने, बालरोग विशेषज्ञ डा सुदिप श्रेष्ठ, एनएसथेसियोलोजिष्ट डा रबिन खापुङ, स्त्रीरोग विशेषज्ञ डा सुकी बस्न्यात, मनोचिकित्सक डा भुमेस काफ्ले, मेडिकल अधिकृत डा दिल शाही रोका, डा मञ्जील, फिजियोथेरापिष्ट बिष्णुदत्त आचार्य, फार्मेसिष्ट धर्मदत्त हमाल, स्टाफ नर्स पार्वती भण्डारी, एनेस्थेसिया असिस्टेन्ट टेकेन्द्र न्यौपाने र अस्पताल प्रशासनका नन्द तिमलसेना छन्।
प्रतिष्ठानले कर्णालीका १० सहित १३ जिल्लामा कार्यक्षेत्र बनाएर काम गरिरहेको छ। रजिष्ट्रार विश्वराज काफ्ले कर्णालीले गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा दिनको लागि जनशक्ति उत्पादन र परिचालन गर्न सक्ने क्षमता राख्न सकेकोमा खुसी व्यक्त गरे।