जनकपुर– प्रदेश २ को मन्त्रिपरिषद् बैठकले आइतबार साँझ हावाहुरीबाट घाइते भएकाको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
बिहान आकस्मिक बसेको बैठकले बारा, पर्सा लगायतका जिल्लामा भएको घटनाप्रति दुःख प्रकट गर्दै मृत्यु हुनेको परिवारलाई ३ लाख रुपैयाँ दिने र घाइतेको निड्शुडल्क उपचार गर्ने निर्णय गरेको हो।
हावाहुरीबाट हालसम्म २७ जनाभन्दा बढीको मृत्यु भएको छ। कलैया, वीरगञ्ज लगायतका अस्पतालहरूमा ५ सय भन्दा बढी घाइतेहरु उपचारत छन्। घाइतेको उपचारका लागि अहिले बारा र पर्साका अस्पतालहरु भरिएका छन्।
बाराका प्रहरी उपरिक्षक सानुराम भट्टराईले अधिकांश अस्पताल र क्लिनिकहरु घाइतेहरुले भरिभराउ रहेको जानकारी दिए। पर्साका उमेश ठाकुरले फेसबुकमा स्टाटस लेख्दै, अस्पतालहरुमा घाइतेहरुका लागि रगतको अभाव देखिन थालेकाले सबैसँग सहयोगको अपील गरेका छन्।
'घाइतेहरूको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरूको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने क्याबिनेटको निर्णय छ,' निर्णयबारे जानकारी दिँदै मुख्यमन्त्री लालबाबु राउतले भने, ‘हामीले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने भएका छौं। उपचारमा जति खर्च हुन्छ, त्यो प्रदेश सरकारले व्यहोर्ने छ।’
प्रदेशसरकारले आइताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकेको उनले जानकारी दिए।
यता बैठक पश्चात् सबै मन्त्रीहरु सो क्षेत्रमा जाने जनाइएको छ।