बारा- प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित क्षेत्रको निरीक्षणमा बारा पुगेका छन्।
झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री सोमबार दिउँसो बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका हुन्।
भद्रपुरबाट सिमरा विमानस्थल हुँदै कलैया प्रधानमन्त्रीले राहत र उद्दारमा कुनै समस्या हुन नदिन निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले कलैयास्थित अस्पतालमा पुगेर घाइतेको अवस्थाबारे जानकारीसमेत लिएका छन्।
प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले घटनाको जानकारी दिएका थिए।
गएराति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका थिए।
हावाहुरीले कलैजा उपमहानगरपालिकासहित महागढीमाई नगरपालिका, पचरौता नगरपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, सुवर्ण गाउँपालिका, परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एक दिनको तलब प्रभावित क्षेत्रको राहतका लागि उपलब्ध गराउने भएको छ। नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले राहत र उद्दारमा खटिन पार्टीका नेता कार्यकर्तालाईसमेत अपिल गरेका छन्।
उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहित प्रधानमन्त्री ओलीले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हुरीबाट घाइते भएकाहरुको स्वास्थ्य अवस्था समेत जानकारी लिएका छन्।