काठमाडौं- बारा र पर्सामा आइतबार आएको विनाशकारी हावाहुरी तथा आँधी प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ।
हावाहुरी/आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो।
पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ।
विशेषगरी तराईमा चापाकलको मद्दतले भूमिगत पानीका स्रोतबाट पानी पिउने भएकाले स्थलगत रुपमै पानीको गुणस्तर जाँची पिउन हुने या नहुने भन्ने कुरा वाटर एम्बुलेन्सबाट थाहा हुन्छ। वाटर एम्बुलेन्समा आधुनिक प्रविधिको ल्याब जडान गरिएको हुन्छ।
उक्त ल्याबको माध्यमबाट पानीको गुणस्तर जाँच गरिन्छ।
पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ। पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाईने विशेषज्ञ पाण्डेले बताउनुभयो। हिजो विनाशकारी हावाहुरीले बारा र पर्सामा ठूलै क्षति पुर्याएको छ।
विभागले आफ्नो मातहत रहेका शाखा कार्यालयहरु मार्फत र नेपाल खानेपानी संस्थानले समेत आफ्नो क्षेत्राधिकार भित्र रहेर हावाहुरी प्रभावित क्षेत्रमा कार्य गरिरहेको छ।